रुसमा कोरोनाबाट झन्डै ५ सय चिकित्सकको मृत्यु

विराटनगर, ५ असार । रुसमा कोरोना भाइरस संक्रमणबाट झन्डै ५ सय चिकित्सकको मृत्यु भएको जनाइएको छ ।

रुसको स्वास्थ्य क्षेत्रलाई निगरानी गर्ने सरकारी संस्था रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले रुसमा हालसम्म ४ सय ८९ जना चिकित्सकको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको जानकारी दिएका हुन् ।

रुसका स्वास्थ्य अधिकारीहरूले २६ मेसम्म १ सय १ जना चिकित्सकको मृत्यु भएको बताएका थिए ।

यो संख्या ४ सय ८९ पुगेपछि चिकित्सकको मृत्यु दर तीव्र बढेको देखिन्छ ।

राष्ट्रपति भ्लादिमीर पुतिनले सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै चिकित्सकको मृत्युको मुख्य कारण भएको बताएका छन् ।

सामोइलोवाले चिकित्सकहरूको प्रशंसा गर्दै बिरामी पर्न सक्ने वा आफ्नो जीवन गुमाउन सक्ने भन्ने विचार नगरी नायक भएर देखाएको बताए ।

रुस विश्वका कोरोना प्रभावित देशहरूको सूचीमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार रुसमा हाल ५ लाख ६० हजार बढी संक्रमित छन् भने त्यहाँ ७ हजार बढीको मृत्यु भइसकेको छ । 

Loading...