महामारीपछिको अर्थतन्त्रको रिकभरी ‘भी सेप’ मा हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, ५ असार । अर्थमन्त्री डा. युवराज खतविडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा ‘भी सेप’ रिकभरी हुने स्थिति अझैपनि रहेको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताए ।

उनले भूकम्पपछि आर्थिक संरचनाहरूमा क्षति हुँदासमेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको बताए ।

‘भूकम्पपछिको पुनर्निर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अब अर्थतन्त्र थला पर्‍यो, उठ्नै सक्दैन भन्ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचनाहरू पनि भत्किएका थिए । तर हामीले भीसेपको रिकभरी गर्‍यौं । भूकम्प पछिको पुनर्निर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासहरूलाई हेर्ने हो भने हामी फेरि पनि भीसेपको रिकभरीमा जान सक्छौं’, उनले भने ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरू कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृङ्खलालाई सहज बनाउन सजिलो हुने बताए ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरूमा सरकारले सहजीकरण गरिरहेको समेत उनले बताए । बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिनेलगायतका विषयमा सरकारले जोड दिएको स्पस्ट पारे ।

उनले मुलुकमा झण्डै तीन चौथाई लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सन नसक्ने बताए ।

उनले मुलुकको खाद्य सुरक्षा, ऊर्जा सुरक्षा, रोजगारीको सुरक्षा र स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा आत्मनिर्भर हुनेगरी आर्थिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताए ।

Loading...