देश र जनताप्रति बेइमानी गरेको पाइए कडाभन्दा कडा कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा भएको खर्चका विषयमा सन्देह फैलाउने, सबैलाई भ्रष्ट देखाउने र जसरी पनि चरित्र हत्या गर्ने विषय जायज नभएको बताए ।

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा प्रस्तुत विनियोजन विधेयक–२०७७ अन्तर्गतको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सङ्कटका समयमा देश र जनताप्रति बेइमानी गरेको पाइए कडाभन्दा कडा कारबाही गर्ने बताए ।

उनले सरकारका खर्चको विवरण र हिसाब महालेखापरीक्षक लगायत अन्य विभिन्न निकायले राखिरहेको सन्देह फैलाउने र आलोचना मात्र गर्ने कार्य स्वीकार्य नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले क्वारेन्टीनमा देखिएको चापका कारण स्वास्थ्य लगायतका प्रबन्ध गर्न केही कमजोरी भए पनि सरकारको तयारीका कारण सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम रहेको बताए ।

उनले गम्भीर समस्याका रूपमा देखिएको कोरोना सङ्क्रमणको परीक्षणलाई दैनिक भइरहेको चार हजारदेखि चार हजार पाँच सयको क्षमताको कोरोना परीक्षणलाई बढाउँदै लगिएको बताए ।

प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीका कारण कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या न्यून रहेको बताए ।

Loading...