birat ribon

प्रदेश १ मा जघन्य अपराध, आफन्तका लागि आफन्त नै महाकाल

Neuro
प्रदेश १ मा जघन्य अपराध, आफन्तका लागि आफन्त नै महाकाल

विराटनगर ३ असार । ११ चैत २०७६ देखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न देशैभरि लकडाउन घोषणा भयो । लकडाउनपछि समाजिक र आर्थिक गतिविधि अन्यमा झै प्रदेश नं १ मा पनि ठप्प भयो । यही लकडाउनको समयमा भने प्रदेश नं १ मा एकदर्जन जघन्य हत्या अपराधका घटनाहरू पनि भए ।

Padelux insider
cura insider

घटेका सबै जघन्य हत्या अपराधका घटना आफन्तहरूबाटै भए । कतै श्रीमानले श्रीमती त कतै श्रीमतीले श्रीमानको हत्या गरे । कतै छोराले बाबु आमा त कतै छोराले बाबुको हत्या गरे । अनि कतै सालाले भिनाजुको कत कतै छोरीबाट बाबुको हत्या भयो । अनि कतै सामान्य निहुँमा साथीबाट साथीको हत्या भयो । प्रस्तुत छ, लकडाउनमा प्रदेश नं १ मा भएका एकदर्जन जघन्य हत्या अपराधका घटना जसमा आफन्त नै आफन्तको काल बनेका छन् ।

अपराध (१) मोरङमा छोराहरूले गरे आफनै बाबुको हत्या

विराटनगर महानगरपालिका–१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानको उनकै दुई जना छोराहरूले हत्या गरेका थिए । पैसा मागेको भनेर रक्सीले मातेको सुरमा फरुवाले हानेर बाबुको हत्यागरेपछि उनीहरूले घरभित्रै खाल्डो खनेर बाबुलाई गाडेका थिए ।

हत्या आरोपमा मोरङ प्रहरीले जेठा छोरा २९ वर्षीय रोहित चौहान र माईला छोरा २६ वर्षीय नागेन्द्र चौहानलाई पक्राउ गरेर मुद्दा दर्ता गराएको थियो । अभियुक्त छोराहरू सबैलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लािग जेल पठाएको छ ।

अपराध (२) विराटनगरमा श्रीमतीको योजनामा श्रीमानको हत्या

सुनसरीको इटहरी उपमहानगरपालिका स्थायी घर भइ विराटनगर महानगर मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै श्रीमती मीना श्रेष्ठले ४ जेठ २०७७ राति योजना बनाएर घरभित्रै हत्या गराइन् ।

पाथीभरा फार्मेसीका सञ्चालक पति देवीप्रसाद सिराहाको लहान घर भइ विराटनगर बस्दै आएका २१ वर्षीय ब्रहमदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछ्यानमै हत्या गरेका थिए । सबैलाई प्रहरीले पक्राउ गरेर कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको थियो । उनीहरूलाई पनि अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

अपराध (३) सोलुखुम्बुमा छोराले आफ्नै बाबुको हत्या गरे

सोलुखुम्बु महाकुलुङ गाँउपालिका–४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले ३० जेठमा पक्राउ गरेको छ । २९ जेठ बिहीबार बेलुका साढे ८ बजे घरायसी विषयमा भएको विवादलाई लिएर छोरा कुबेरले बाबु ५७ वर्षीय सन्तकुमार राईलाई आगो फुक्ने ढुंग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । छोराको प्रहारबाट बाबु सन्तकुमारको घटनास्थलमानै मृत्यु भएको थियो । घटनाबारे सोलुखुम्बु प्रहरीले शुक्रबार बिहान ७ बजे मात्र स्थानीयबाट जानकारी पाएको थियो । हाल छोरा कुवेरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सोलुखुम्ब प्रहरीले जनाएको छ ।

अपराध (४) तेह्रथुममा छोराले गरे बाबु आमाको हत्या

तेह्रथुममा आफ्नै छोराबाट एक दम्पतिले ज्यान गुमाउनु परेको छ । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबु बस्ने २० वर्षीय कञ्चन लिम्बूले ४२ वर्षीय बाबु रुपहादुर लिम्बू र ३५ वर्षीया आमा रुपेनी लिम्बूलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

बुवा खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई छोरा कञ्चनले बञ्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कँदा आगाडि बुबालाई देखेपछि उनले फेरि त्यहीँ बञ्चरोले बुबालाई पनि काटेर हत्या गरी फरार भएका थिए । फरार रहेका उनलाई केही समयभित्रै प्रहरीले पक्राउ गरेको थियो ।

अपराध (५) मोरङमा आमाले गरिन् आफ्नै शिशुको हत्या

मोरङमा नवजात शिशुको हत्या गर्ने १ महिला पक्राउ परेकी थिइन् । अबैध सम्बन्धबाट गर्भ रहेपछि १७ चैत ३८ वर्र्षीया महिलाले बिकसित नवजात शिशुलाई ट्वाइलेटमा जन्म दिएपनि आफ्नो कर्तुत लुकाउन शिशुको हत्या गरी शवलाई खोलाको किनारमा फालेकी थिइन । अनुसन्धान थालेको मोरङ प्रहरीले हत्या आरोपमा महिलालाई २४ घण्टाभित्रै पक्राउ गरी घटना पृष्टि गराएको थियो ।

अपराध (६) खोटाङ र धनकुटामा श्रीमतीले गरिन् श्रीमानको हत्या

खोटाङ र धनकुटामा आ–आफ्नो श्रीमानको हत्या गरी फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा छथरजोरपाटी पानीट्याङ्की बस्ने ४२ वर्षीया धनमाया लिम्बूले बिहानपख घरायसी विषयमा वादविवाद हुँदा ४७ वर्षीय श्रीमान ईन्द्रबहादुर लिम्बूलाई घरेलु हतियार तथा लाठीले टाउकोमा प्रहार गरी हत्या गरेकी थिइन् ।

त्यस्तै खोटाङ बाह्रपोखरीकी ५० वर्षीया मेनुका राईले आफ्नै श्रीमानको हत्या गरेकी थिइन् । बिहानको खाना खाएर बाहिर घाम तापेर बसिरहेको अवस्थामा घरायसी विषयमा वादविवाद हुँदा मेनुकाले एक्कासी श्रीमानकुमार राईलाई खुकुरी प्रहार गरेर हत्या गरेकी थिइन् ।

अपराध (७) उदयपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

उदयपुरको रौतामाई गाउँपालिका बस्ने ५२ वर्षीय विष्णु तामाङले आफ्नै श्रीमती ४३ वर्षीया दिलमाया तामाङको हत्या गरेका थिए । मजदुरी काम गर्दै आएका दुवैजनाबीच घरायसी समस्याका कारण झगडा भएपछि श्रीमान् विष्णुले श्रीमती दिलमायालाई खुर्पाले टाउको र संवेदनशील अंगमा प्रहार गरेर हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर फरार भएका विष्णुलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको थियो ।

अपराध (८) खोटाङमा सालाले गरे भिनाजुको हत्या

खोटाङको केपिलासगढीमा आफ्नै भिनाजुको हत्या गरी फरार दुई जना सालालाई प्रहरीले पक्राउ गरेको थियो । खोटाङको केपिलासगढीमा बस्दै आएका २७ वर्षीय मिलन राई र उनका भाई २० वर्षीय जीवन राईले भिनाजु ४७ वर्षीय प्रीतिलाल राईको हत्या गरेका थिए । कर्तब्य ज्यान कसुरमा १० वर्ष जेल सजाय भोगेर घर आएका मिलनले घरायसी विवादकै कारण भिनाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । भिनाजुको हत्या गर्ने दुवै सालालाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

अपराध (९) इलाममा छोरीले गरिन् बाबुको हत्या

इलामको देउमाई नगरपालिका शान्तीडाँडामा २५ वर्षीया शुष्मा राईले आफ्नै बुबा ५१ वर्षीय फूलबहादुर राईको हत्या गरेकी थिइन् । बुबाको हत्या गरी फरार रहेकी उनलाई भने प्रहरीले ३ घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको थियो । ६ जेठ साँझ खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी विषयमा वादविवाद हुन थालेपछि राती ११ बजे शुष्माले बुबा फूलबहादुरलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेकी थिइन् । प्रहरीले छोरी शुष्मालाई घर नजिकै रहेको जंगलमा लुकीछिपी बसेको अवस्थामा बञ्चरोसहित पक्राउ गरेको थियो । उनी १ वर्षदेखि माइती घरमानै बस्दै आएकी थिइन् ।

अपराध (१०) सुनसरीमा साथीले गरे साथीको हत्या

सुनसरी इटहरी उपमहानगरपालिकामा रक्सी खाँदा झगडा भएको निहुँमा साथीले आफ्नै साथीको हत्या गरेका छन् । इटहरी १९ का २८ वर्षीय रादन राईको हत्या गर्ने मोरङको कानेपोखरीका २० का वर्षीय प्रज्वल तामाङ, इटहरीका १९ वर्षीय अभिषेक केसी र सोही स्थानका २३ वर्षीय अभिषेक पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बेलायतबाट बिदामा आएका साथी रादनलाई साथीको घरमा पार्टी खान बोलाएर साथीहरूले छुराप्रहार गरी हत्या गरेका थिए ।

अपराध (११) बराहक्षेत्रमा बदला लिन छिमेकीको हत्या

सुनसरीको बराहक्षेत्र बस्दै आएका ३७ वर्षीय कमल राईको छिमेकीहरूले हत्या गरेका थिए । उनीहरूले छिमेकीको हत्या गरेर इक्राही जमुनाकित्तास्थित प्लटिङ जग्गामा फालिदिएका थिए । प्रहरीले कमलको हत्यामा संलग्न सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामीलाई २४ घण्टाभित्रै पक्राउ गरेको थियो । पूर्वरिसिइबीको कारण योजनाबद्ध रूपमा कमललाई मादक पदार्थ सेवन गराई नजिकै रहेका प्लटिङ जग्गामा लगी लाठ्ठीले टाँउको तथा शरीरका संवेदनशील अंगमा कुटपिट गरी हत्या गरेका थिए ।

आमाको हत्यापछि छोराले आफ्नै घाँटी रेटेर गरे आत्महत्या

मोरङको बेलबारी नगरपालिका–४ काकुम बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले १५ जेठ बिहान साढे ११ बजे ईँटा प्रहार गरेर आफ्नै आमा ५५ वर्षीया देवीकुमारी लिम्बूको हत्या गरे । त्यसपछि आफूले पनि चक्कुले घाँटी रेटेर आत्महत्या गरे । खाना खान बोलाउँदा एक्कासी आवेगमा आएका छोरा जीवनले आमा देवकुमारीलाई घरको भान्साभित्रै निधारमा ईंटा प्रहार गरेका थिए ।

ईंटा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि जीवनले छिमेकीको घरमा गएर धारिलो हतियारले आफ्नो घाँटी आफैँले रेटेर आत्महत्या प्रयास गरेका थिए । उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा दिउँसो साढे १२ बजे मृत्यु भएको थियो । स्थानीयका अनुसार जीवन लागूऔषध सेवन गर्ने गर्दथे । लागू औषधको नशाकै सुरमा आमालाई मारेर आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको शंका छ ।

jackson ribon