विराटनगर, ४ असार । कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न निर्माण गरिएको क्वारेन्टाइनबाटै कोरोना संक्रमण फैलिएपछि प्रदेश सरकारका मन्त्रीले मापदण्ड पूरा नगरेका क्वारेन्टाइन बन्द गर्न निर्देशन दिएका छन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाका विभिन्न विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनको अनुगमनपछि मापदण्ड पूरा नगरेका क्वारेन्टाइन तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
‘मापदण्डविपरीतकालाई बन्द गर्न स्थानीय तहका प्रमुखलाई भनिएको छ,’ उनले भने, ‘केही क्वारेन्टाइन अव्यवस्थित पाइए ।’
मन्त्री घिमिरेले कचनकवल गाउँपालिकाका बढी संक्रमित देखिएका क्वारेन्टाइनहरूको अनुगमन गरेका थिए । अनुगमनका क्रममा होल्डिङ एरियामा रहेकाहरूलाई अनुशासन पालना गर्न आग्रह गरे ।
कचनकवल गाउँपालिका वडा नम्बर ६ मा रहेको लक्ष्मी मावि क्वारेन्टाइन, वडा नम्बर ४ को महेन्द्र रत्न मावि क्वारेन्टाइन र वडा नम्बर ३ को पथरीया मावि क्वारेन्टाइन, भद्रपुर नगरपालिका–२ को हिमाली मावि क्वारेन्टाइनको अनुगमन गरेका थिए ।