मृत्यु नजिक थियाे तर तपाईहरूकाे मायाले क्यान्सरलाई जिते

कमल पौडेल

जीवन गज्जव चलेको थियो भन्दिन । दुःख पनि त थिएन । विराटनगरमा रहेको मकालु टेलिभिजनमा समाचार सम्पादक थिए । केही स्थानीय कलेजहरुमा पढाउँथे । ठुलो छोरा कलेजमा थियो । सानो छोरा स्कुलमा । सानी छोरी काखमै थिइ । सामान्य रुपमा हेर्दा मसँग के थिएन र ? सौभाग्यले वृद्ध आमाको काख थियो । पत्नीको साथ थियो । दाइहरुको आशिर्वाद थियो । परिवारको कान्छो छोरा थिए । समग्रमा खुसी थिए । हुर्किदा छोराछोरीहरु हेरेर सपनाले पंख हालेको थियो ।

एकातिर म सपनाहरुको उडान उडिरहेको थिए अर्कातिर क्यान्सरले शरिरमा जरा गाडिरहेको रहेछ । ज्वरोवाट सुरु भयो । जति औषधिले पनि घटेन । विराटनगरका धेरै नामुद चिकित्सकहरुलाई देखाए । टेलिभिजनमा आफैपनि स्वास्थ सम्वन्धी कार्यक्रम चलाउने भएकोले पनि चिकित्सहरु चिनजानमा थिए । कसैले टाइफाइडको औषधि खुवाए, कसैले के के हो के के ।

जव मेरो मुखभित्र घाऊ आएर निको हुन निकै कठिन भयो, तव मात्रै चिकित्सकहरुले मलाई व्लड क्यान्सर भएको हुन सक्ने डायग्नोसिस गरे । क्यान्सरको नाम सुन्नासाथ म हस्पिटलमा नै ढलेछु । पहिला नै शरिर निकै गलिसकेको थियो ।

एकाएक क्यान्सर सुन्न सक्ने शक्ति पनि मेरो शरिरमा थिएन । बेहोसीवाट म उठ्नुपथ्र्यो । उठे । म क्यान्सरवाट ग्रसित भएको हुनसक्ने कुरा सुनेर जति त्रसित थिए, त्यो भन्दा वढी त्रसित त्यो समाचार वृद्ध भएकी आमा, मेरो भरमा वांचिरहेकी पत्नी र मेरो छत्रछाँयामा हुर्किरहेका छोराहरुलाई कसरी सुनाउने भन्ने कुराले डराइ रहेको थिए । छोरी त वावालाई चिन्नेमात्रै भएकी थिइ, बाबालाई लागेको रोगको बारेमा वुझ्ने भएकी थिइन । म निको नभएको भए शायद छोरीले हुर्किदै गर्दा साथीहरुलाई सुनाउंथी होला, मलाई बाबाको अनुहार राम्ररी सम्झना छैन, म सानै हुँदा क्यान्सरले वित्नु भएको रे ।

मैले जन्मिएपछि मर्नु पर्छ भन्ने सानैमा वुझेको हुँ । तर पनि आफ्ना जिम्मेवारी पुरा नगरी मर्न साह्रै कठिन हुँदो रहेछ भन्ने यो पटक मात्रै बुझे । आफुसँग जोडिने अरुका सपनालाई बीचमानै अलपत्र छाडिदिन साह्रै गाह्रो हुँदाे रहेछ । मलाई क्यान्सर भएको सुन्दा मैले पटक्कै म मर्दैछु भन्ने सोचिन, म मरेपछि मेरो परिवारको अवस्था कस्तो हुन्छ होला भन्ने मात्रै सोचे ।

विराटनगरमा आशंका भयो । काठमाडौंको अल्का हस्पिटलमा आएपछि पुष्टि भयो, मलाई प्राणघातक प्रकृतिको क्यान्सर एक्युट माइलोइड ल्यूकिमिया (एएमएल) भएको रहेछ । मैले र मेरो परिवारले वुझेको कुरा एउटै थियो, क्यान्सर निको हुँदैन् । न त म आफुलाई सम्हाल्न सकिरहेको थिए न त छोराछोरी, पत्नी र आमाको सामुन्नेमा रुन सकिरहेको थिए ।

म उनीहरुभन्दा छलिएर बारम्वार रोएको थिए । रुवाइले क्यान्सर निको पनि त हुँदैनथ्यो । क्यान्सर विशेषज्ञ डा. विशेष पौडेलले त अल्का हस्पिटलमा भएको पहिलो भेटमा नै एक महिनाभित्र तपाइको जीवनमा जे पनि हुन सक्छ भनेर मृत्युको छाँया अगाडि उभ्याइदिएका थिए । उनले भोलीपल्टै सिभिल हस्पिटलमा आएर भर्ना हुन सल्लाह दिए ।

अल्का हस्पिटलवाट वाहिरिंदा मैले राम्रो गरी आँखा देखिरहेको थिइन । बाहिर निस्कदा संसार अध्यारो थियो । त्यो रात ज्वरो यति आएको थियो कि भोलीपल्टसम्म बांच्छु भन्ने कल्पना गर्न पनि सकिन । ज्वरोले रगत पुरै उम्लिएको थियो, शरिर आगोको रापमा परेझै पोलेको थियो । त्यो रात बाँचे ।

भोलीपल्ट अस्पताल पुग्दा अर्को आपत सामुन्ने थियो । एउटा पनि वेड खाली थिएन । दिनभर डे केयरमा वस्नु पर्ने भयो । वेहोस भएछु । कति समय पछि होस आयो थाहा छैन तर चेत आउँदा वरीपरी आफन्तहरु मात्रै थिए । टाउको फुट्लाझै दुखेको छ । ज्वरो नियन्त्रण गर्न औषधि र सुइले सकेन । वाक्क आउन खोज्छ । पसिनाले शरिर निथरुक्क छ ।

वेड नभएपछि अवस्था देखेपछि अस्पतालले अन्त पठाउन पनि सकेन । अन्तत कसैगरी मिलाएर अस्पतालले एउटा डवल क्याविनवाला वेड मिलायो । अब मसँग हिड्ने तागत सकिएको थियो ।

त्यहीँबाट ह्वील चेयरको यात्रा सुरु भयो । मनमा दुइवटा कुरा गडेका थिए, पहिलो डा. विशेष पौडेलले भनेको, एक महिनाभित्र तपाइको जीवनमा जे पनि हुनसक्छ, दोश्रो अस्पताल प्रशासनले भनेको, निजीमा उपचार गरे ६० लाखमाथि र सरकारीमा उपचार गरे ३० लाख माथि खर्च हुन सक्छ । त्यही भएर मैले सरकारी अस्पताल भएकोले सिभिल रोजेको थिए ।

३० लाखभन्दा वढी उपचारमा खर्च हुन्छ भनिएको छ । बाँच्ने कुनै सुनिश्चितता पनि छैन । मेरो जस्तो रोग लागेकाहरुमध्ये ६० प्रतिशत विरामीको मृत्यु हुने तथ्यांकले देखाउँछ । उपचारमा नै घरवार सकिने भयो । बुढी आमा, ज्येष्ठ दाइ, छोराछोरीहरु सडकमा आउने भएनि भन्ने पीर मनमा छ । जे परिस्थिति आएपनि उपचार नगराइ परिवारका सदस्यहरु छाड्ने अवस्थामा छैनन् । ज्वरोले शरिर पोल्छ, उपचार खर्चले मन पोल्छ । निद्रा कसरी पथ्र्यो र ?

यस्तो वेला मनमा पटक पटक भगवानलाई प्रार्थना गरे, प्रभू म चाडोभन्दा चाडो मरौ जसले मेरो उपचारमा धेरै खर्च नहोस् । मेरो परिवार बेघरवार हुन नपरोस् । मृत्युलाई त्यो वेला पटक पटक नजिक देखे । तर मृत्युले मलाई उठाएन । मैले शीघ्र मृत्यु चाहिरहेको वेला मेरा शुभचिन्तकहरु मेरो आयु लम्व्याउन जुट्नु भयो ।

विरामी भएर अस्पताल भर्ना भएको तेश्रो दिननै नेपाली पत्रकारहरुको अन्तराष्टिय सञ्जाल (इञ्जा), डिसीनेपाल डटकम र इनेप्लिजको अगुवाइमा अमेरिकावाट मेरो स्वास्थ उपचारका लागि अभियान सुरु भयो । अमेरिकाबाट सुरु भएको यो अभियान दुइदिनभित्रमा नै विश्वव्यापी भयो । अमेरिकाबाट अभियान सुरु भएपछि मात्रै नेपालका धेरै सञ्चारकर्मी र आफन्तजनले यो समाचार थाहा पाए ।

पत्रकारिता आवाजविहीनहरुको आवाज हो भनेर कक्षामा हजारौ पटक आफैंले पढाएको कुरा पहिलो पटक व्यवहारमा आफ्नै जीवनमा भोग्दै थिए । अस्पतालमा आवाजविहीन भएर सुतिरहेको वेला मेरो मनको आवाज संसारभर फैलिएको थियो ।

मेरा केही साथीहरु करिव १५ दिन त भात पानी पनि नभनी आर्थिक सहयोग जुटाउन २४ घण्टासम्म खट्नुभयो । मेरो लागि मेरा ती प्रिय मित्रहरु यसरी जुटेको देखेपछि मैले सोचे, अब म बाच्नुपर्छ । मेरा साथीहरुले मलाई यसरी गुमनाम मर्न दिंदैनन् । उनीहरुको विश्वास धर्मराउन मैले दिनुहुँन । साथीहरुमा म मर्दिन भन्ने विश्वास छ भने मैले मृत्युलाई नजिक आउन दिनु हुँदैन् ।

उपचारका लागि सहयोग राशी यसरी उठ्दै गयो कि मलाई लाग्यो म त संसारले माया गरेको मान्छे पो हुँ त । संसारले माया गरेको मान्छे यसरी कायर मृत्यु मर्न सक्दैन ।

यो आत्मविश्वासले मलाई बाच्न प्रेरित त गर्यो तर किमो दिन थालेपछि अर्को कहाली लाग्दो कष्टकर अवस्था सिर्जना भयो । एउटा हातमा पिकलाइन छिराइयो र त्यसलाई नसाको बाटोबाट मुटुको नजिकसम्म पुर्याइयो । त्यो लाइनबाट शरिरमा किमो पठाउन थालियो एक पटकमा ४ हजार ८ सय एमजी । एक साइकलमा २९ हजार एमजी । किमो धान्नु चानचुने आत्मविश्वासले पुग्दैनथ्यो ।

प्रतिकुलता थपिंदै गए । पिकलाइन राखिएको हातमा इन्फेक्सन भयो । सुन्नियो । किमोको वीचमा नै निकालेर पिकलाइन अर्को हातमा सारियो । एकातिर सारिएको हातमा पनि इन्फेक्सन होला भन्ने पीर, अर्कोतिर इन्फेक्सनसँगै ज्वरो चढ्यो । किमो दिन थालेपछि तीनपटक त वेहोस भए, श्वास लिन समेत गाह्रो भएपछि अक्सिजनको सहारा लिनुपर्यो । ज्वरो १०६ डिग्रीसम्म पुग्यो जसलाई नियन्त्रण गर्न दैनिक ५० हजारभन्दा वढी खर्च भयो ।

जेनेतेने दुइ साइकल किमो धाने । तेश्रो किमो दिने वेलामा अर्को प्रतिकुलता आयो । यो वेलासम्ममा मेरो अस्पतालको वसाइ १ महिना १० दिन भएको थियो । नेपालमा लकडाउन सुरु भयो । किमोको लागि दिइने औषधि बजारमा छैन । साथीहरु सर्वत्र दौडिए । सोर्सफोर्स लगाए । धन्य ५० हजार पर्ने औषधि १ लाख ४ हजार तिरेर पाइयो । लकडाउन सँगै खानपानमा समस्या भयो । यसैपनि वान्ता भएर खाना नसक्ने मलाई आफन्तको घरवाट खान आउने क्रम पनि रोकियो । क्यान्टिनको खानामा भर पर्नुपर्ने भयो । यो अवस्थामा कति दिन त केही नखाइ वस्न बाध्य भए । कति दिन दालमात्रै पिएर ज्यान पाले ।

अस्पतालको बसाइ जति बढ्दै जान्थ्यो, त्यहाँ उपचारार्थ भर्ना भएका विरामीहरु आफन्तझैँ लाग्न थाले । मेरा त धेरै साथी र शुभचिन्तकहरु थिए तर अधिकांश विरामीहरु खर्चको अभावमा शीघ्र उपचार पाइरहेका थिएनन् । कति आफन्तझैं भएका विरामीहरु मृत्युवरण गरिरहेका थिए जसले मनलाई झन् विचलित बनाउथ्यो । हिजो पीडाहरु साझेदारी गरिरहेको साथी आज यो संसारमा हुँदैनथ्यो ।

कति विचित्र लाग्थ्यो । कति मन अतालिन्थ्यो । कतिपय विरामीहरुको मृत्युको वारेमा त संगै रहेकी पत्नीले पनि मलाइ जानकारी गराइनन्, किनकी उनी मेरो मन नआत्तिओस् भन्ने चाहन्थिन् । कतिपय मृत्युहरु रुवावासीको कारण मात्रै थाहा पाउँथे । कतिपय विरामीहरुलाई आइसीयुतर्फ दौडाउँदा दौडाउँदै लिफ्टमा नै बितेको सुन्थे ।

मनमनै प्रार्थना गर्थे, भगवान म यो अस्पतालमा मर्न चाहन्न । म वांच्न चाहन्छु र निको भएर संसारलाई सुनाउन चाहन्छु, क्यान्सलाई जित्न सकिन्छ ।

करिव ४ महिनाको उपचार र अस्पताल बसाइपछि क्यान्सरलाई पराजित गरेको छु र आराम गरिरहेको छु । शरिरमा क्यान्सरको सेलको उपस्थिति छैन । वोनम्यारोको रिपोर्टले यही भन्छ । नियमित फलोअपमा रहनुपर्छ ।

औषधिमा मात्रै मासिक ४० हजार जति खर्च हुने अस्पताले जनाएको छ । अब बाँचेर काम गर्नुछ, त्यो उपचार खर्च जुटाउनु छ । तपाइहरुको विश्वासलाई पुरा गर्न क्यान्सर जितेको कथा सुनाउनु छ ।

सहृदयीहलाई धन्यवाद ज्ञापन गर्नु छ । सम्पूर्ण सहयोगी र शुभेच्छुकहरुप्रति सदैव ऋणी रहनेछु । मलाइ यो जीन्दगी तपाइहरुले दिनु भएको हो । तपाइहरु जसरी मेरो आवाज बन्नुभयो, म जीवनभर अरुको आवाज बन्ने प्रण गर्छु ।

Loading...