प्रश्न उठाउने सबै विरोधी होइनन्

डा. चन्द्र उपाध्याय, उप-प्राध्यापक

वि.स. २०१५ सालमा स्थापित एउटा छुटै परिचय र ऐतिहासिक गरिमा बोकेको एलिट क्लब विराटनगरलाई, देशको वौद्धिक वहसको थलो मानिन्छ।

डा. चन्द्र उपाध्याय

यस्तै वौद्धिक वहसको कारणले (What Biratnagar thinks today, the rest of Nepal thinks the next day) अर्थात विराटनगरले जुनकुरा आज सोच्दछ । बाँकी नेपालले अर्को दिन मात्र सोच्दछ भन्न सकिन्छ । त्यही गरिमामय संस्थालाई प्रतिनिधित्व गर्न अवसर पाउँदा, त्यहाँ भएको छलफलको आधारमा यो अवधारणा तयार गर्ने प्रेरणा मिल्यो ।

विषय प्रवेश

सहभागितामुलक लोकतन्त्रको आफ्नै महत्व छ, अर्थ छ। सहमति र सहभागिता निर्माणको सामर्थ्य लोकतन्त्रको सफलताको शुत्र हो । अनि अल्पमतको कदर त्यसको सुन्दरता । कोरोनाको असर र यसपछिको नेपालमा नागरिक र सरकार बीचको सहकार्य सन्दर्भमा नयाँ अनुभवहरु भएका छन् ।

सहकार्यका आयाम

विपद र विकास दुवै अवस्थामा नागरिक र सरकारको सहकार्य आवश्यक छ । नागरिक स्वामित्व दिगो विकासको आधार हो । सैद्धान्तिक र नीतिगत बुझाई र व्यवहारिक भोगाईका बीचमा अन्तर रहन सक्छ । नागरिकको सहभागिताले सिद्धान्त नीतिगत बुझाईलाई भोगाईसँग जोड्दछ।

आलोचनात्मक टिप्पणी

‘पारदर्शिताको अभाव नै, अविश्वासको उपज’ हो भन्ने कुरा विर्सनु हुन्न । काम गर्ने माथी प्रश्न गर्नुहुन्न भन्ने मान्यता प्रत्युत्पादक हुन्छ । प्रश्न उठाउने सबै विरोधी होइनन, प्रतिपक्ष होइनन । सहीलाई सही र गलतलाई गलत भन्न पाउने अधिकार नै लोकतन्त्रमा वाक स्वतन्त्रता हो ।

‘जहाँ प्रश्न मर्छ त्यहाँ लोकतन्त्र रहँदैन’ राजनीति शास्त्रका ज्ञाता भन्छन । त्यसैगरी ‘नकारात्मकताको विनिमय’ पनि समस्याको समाधान होइन, धेरैको ठम्याई छ।

अवलोकन

केही सामाजिक चुनौति थपिएका छन् । सामाजिक विचलन बढेको छ । सामाजिक विचलनले सामाजिक अपराध बन्ने सजिलो सम्भावना पैदा गर्छ ।

नैराश्य र एक्लोपना, मानसिक समस्या बढ्दो क्रममा छन् । मानसिक तनावले प्रभाव जमाई सकेपछि बाहिर आउन गाह्रो हुन्छ । अनि उत्पादकत्व र सृजनशीलता घट्छ। सामाजिक वर्ग विभाजनको बढ्दो खाडल देखिएको छ ।

सामाजिक रुपमा (समय सान्दर्भिक) केही सकारात्मक संकेत पनि छन् । स्वयम् सेवी भावनामा वृद्धि देखिएको छ । सरकार–नागरिक सम्बन्ध आपसी लेन–देनको सम्बन्ध पनि हो । त्यसैलाई अधिकार र कर्तव्यको सम्बन्ध पनि भन्न सकिन्छ ।

नागरिक सहभागिताको सन्दर्भमा सरकारी प्रतिवेदनहरु राम्रा छन् । सामाजिक लेखापरीक्षण पनि गराएका हुन्छन । तर अवलोकनकर्ताको बुझाईमा, नागरिक अगुवाहरु प्रतिवेदन र वास्तविकतामा अन्तर देख्छन (There is a gap between the report and reality) ।

अबको बाटो

लचकतापूर्ण, सुरक्षित, समावेशी,दिगो सामाजिक सम्बन्ध निर्माण गरिनु आवश्यक देखिएको छ । विश्वासको वातावरण पुनर्वहाल गर्नु आवश्यक छ ।

नयाँ जीवन शैली (संकृति), नयाँ सामाजिक संरचना, सामाजिक अनुसन्धानमा नयाँ आयाम हाम्रा परंपरा तथा संस्कृतिमा खोजिनु पर्छ ।

यसका लागि सरकार र नागरिकबीच सहकार्य चाहिन्छ। । सरकार जनतासम्म पुग्नुपर्छ । तर सबै अनुसन्धान र विज्ञान अनि आवश्यक सूचनाहरु सही समयमा अनि समान रुपमा सबैतहको जनतासम्म नपुग्न सक्छन् ।

सरकार र संयन्त्रको प्रभावकारी उपस्थिति हुन् नसक्ने यस्तो अवस्थामा सरोकारवाला सचेत नागरिकको उपस्थिति महत्वपूर्ण हुन्छ ।

सरकारका सम्पूर्ण प्रयास जनमुखी हुनुपर्छ । अझ स्थानीय सरकार त जनताको प्रत्यक्ष पहुँचमा रहन्छ र रहनुपर्छ । पालिका–वडा–टोल –परिवार प्रत्यक्ष सम्बन्धमा रहने वातावरण निर्माण गरिनु पर्छ ।

नागरिक समाजले सरकार र समुदाय बीचको सम्बन्धसूत्रको काम गर्नुपर्छ। सरकारले नागरिक क्षमताको प्रयोग गर्न सक्नुपर्छ । उत्तरदायी सरकार, जिम्मेवार समुदाय र सुरक्षित परिवार हाम्रो आवश्यकता हो, आज, भोलि र संधै ।

(एलिट क्लब विराटनगरले आयोजना गरेको ‘नागरिकर र सरकार : सहकार्यका केही आयाम ‘ कार्यक्रममा महेन्द्र मोरङ क्याम्पस, विराटनगरका उप–प्राध्यापक तथा समाजशास्त्र विभाग अध्यक्ष डाक्टर उपाध्यायले प्रस्तुत गरेको कार्यपत्रमा आधारित )

Loading...