विराटनगर कोरोना महामारीको उच्च जोखिममा छ, यो अवस्था अझै केही समय रहन्छ

भारतसँग खुला सीमा जोडिएका कारण विराटनगर कोरोना महामारीको उच्च जोखिममा छ । विराटनगर महानगरपालिकाले सम्भावित जोखिम नियन्त्रणका लागि काम पनि गरिरहेको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की परीक्षणको दायरा नबढेका कारण जोखिम उच्च रहेको बताउँछन् । जनस्वास्थ्य विज्ञसमेत रहेका कार्कीसँग सम्भावित महामारी नियन्त्रणका लागि भएका कामका विषयमा रहेर गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

कोरोना संक्रमणकालमा दैनिकी कसरी बितिरहेको छ ?

नोबेल कोरोना भाइरस आएको सुरुआती दिनदेखि नै यसको विषयमा गम्भीरताका साथ काम गरिरहेका छौं ।

महानगरपालिका प्रत्येक दिन यस विषयमा अपटेड छ । र, यसलाई चाहिँ नौलो तरिकाले कसरी काम गर्न सकिन्छ, यसलाई रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी सुरुआती दिनदेखि नै नियमित काम गरिरहेका छौं ।

विराटनगर महानगरमा कोरोना संक्रमणको जोखिमको अवस्था कस्तो छ ?

पछिल्लो समय र अहिले समयको तुलना गर्दा संक्रमणको अवस्था जोखिम उच्च नै छ । विश्वब्यापी रूपमा यसको अनुभव धेरै देशहरूले गरेका थिएनन् ।

सार्स २००२, जीका भाइरस, स्वाइन फ्लू अरु मुकुलहरूले अनुभव गरेर सहजीकरण गरिसकेका छन् ।

हाम्रो देश हरेक कुरामा पछाडि परेको मुलुक हो । संक्रमितहरूको कुरामा पनि हामीले सकेसम्म, हाम्रो पहुँचले भ्याएसम्म गरिरहेका छौं ।

तर, पनि विराटनगर महानगरपालिकाको जनस्वास्थ्य शाखाले सरलीकरण कसरी गर्ने, राम्रो कसरी बनाउने भन्ने कुरामा प्रतिवद्ध भएर लागिपरेका छौं ।

डब्लुएचओले हालै सार्वजनिक गरेको रिपोर्टले एकदम थोरै प्रतिशतले मात्र भाइरस सार्न सक्ने देखिन्छ । विराटनगरमा पक्कै पनि जोखिम छ तर, विराटनगर महानगरपालिकासँग राम्रो प्लान छ ।

हाम्रो प्लानमा कतिपय कुरामा हामी सफल पनि भएका छौं । र, यसको भयावह स्थितिलाई रोक्नका लागि के कस्तो गर्नु पर्छ भनेर आगामी दिनहरूमा हामीसँग प्लान छ ।

लकडाउनको दुई महिनापछि विराटनगरका बजारहरू खुला भए, यसले झन जोखिम बढाउँदैन र ?

लकडाउन भनेको भाइरसको उपचार होइन भनेर बुझ्नु आवश्यक छ । लकडाउन भनेको एउटा प्लान गर्न दिएको समय हो । विराटनगर महानगरपालिकाले संघीय सरकारभन्दा ८ घण्टा अगाडि लकडाउन गरेको थियो । लकडाउन के का लागि, त्यो कुरालाई बुझ्नु पर्छ ।

लकडाउनको समयमा क्वारेन्टाइन, आइसोलेसनलगायतका कुराको विकास, कसरी कन्ट्याक्ट ट्रेसिङ बढाउने, पीसीआर कसरी बढाउने, आरडीटी कसरी बढाउनेजस्ता कुरामा छलफल गरेका थियौं । पहिलो चरणमा हामीले गरेको लकडाउनको समयमा, संसारका सबैतिर त्यहीँ चलन चलिरहेको थियो । सबैतिर त्यहीँ चलिरहेको हुँदा अभ्यस्त हुन सकेनौं । एउटा कामपछि अर्को काम सिक्दै जाने हो । यदि अरु रोगमा जस्तो यो रोगमा सिकाई पहिलाबाट भएको भए पक्कै पनि हामी केही गर्न सक्थ्यौं ।

राज्यले लकडाउनलाई जसरी केन्द्रित गर्नु पर्थ्यो, बजार व्यवस्थापनमा ध्यान दिनुपर्थ्यो, दैनिक कमाएर खाने मानिसहरू, व्यापार व्यवसाय गर्नेहरूमा ध्यान दिन नसकेको कारणले अर्थव्यवस्ता कमजोर भयो ।

यस विषयमा गम्भीर छलफल गरेर, सामाजिक दूरी अपनाएर, पर्सनल हाइजिन मेन्टेन गरेर, मास्क तथा स्यानीटाईजर प्रयोग गरेर विस्तारै लकडाउन खोल्दै जानु पर्ने कुरा हामीले बारम्बार भन्दै आएका छौं । लकडाउन अन्तिम निर्णय होइन । सधैं लकडाउन गरेर अगाडि बढ्न सकिँदैन ।

हिजो संक्रमण नदेखिदा महानगरले लकडाउन गर्न हतार गर्‍याे । तर अहिले संक्रमण फैलदाचाहिँ लकडाउन पालनामा बेवास्ता भिरहेको छ किन ?

कोरोना भाइरसको हालसम्म कुनै खोप बनिसकेको छैन । र, संसारका विभिन्न देशहरू लागिपरिरहेको हुँदाहुँदै पनि प्रभावकारी खोप बन्नको लागि कम्तिमा १८ महिनादेखि २ वर्षसम्म लाग्न सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

हामी आफैंले खोप बनाउन पनि सक्दैनौं । त्यसैले विराटनगरमा प्रतीरक्षा प्रणालीलाई नै विकशित गर्नु नै महानगरको सोच भए पनि लापरवाही गर्नु हुँदैन ।

विराटनगरमा बस्ने अधिकांश मानिसहरू बुझ्ने र संवेदनशील नै छन् । त्यसैले, आफ्नो पर्सनल स्वभावलाई राम्रो बनाएर, सामाजिक दूरी कायम गर्नु पर्ने कुरालाई ध्यानमा राख्न जरुरी हुन्छ । हामीले भागेरभन्दा पनि लडेर रोगलाई जित्नु पर्ने हुँदा म सबैलाई नआत्तिन अनुरोध गर्छु । आशा गरौँ हाम्रो हर्ड इम्युनिटीले पनि काम गर्छ । हाम्रो हर्ड इम्युनिटीले नै हामीलाई जोगाउँछ भन्नेमा विश्वस्त छु ।

महानगरमा परीक्षणको दायरा किन बढाउन सकिएन ?

महानगरमा दैनिक १५० देखि २०० वटासम्म पीसीआर टेस्ट गर्ने क्यापासिटी छ । जनस्वास्थ्य विज्ञदेखि लिएर हामीसँग जनशक्ति पनि प्रशस्त छ । तर, कोशी ल्याव र धरानमा हुने परिक्षण दुवैको क्यपिसिटी दैनिक २२० ओटा मात्र हो ।

परीक्षणको मात्रा बढाउने कुरा गर्दा ल्याबले नसक्ने, परीक्षण गरेपनि होल्डिङ गर्नुपर्ने, नतिजा आउन समय लाग्ने जस्ता कुराहरू अगाडि आयो । पीसीआर गर्नका लागि लागिएको स्वाबलाई ७२ घण्टाभन्दा माथि राम्ररी मेन्टेन गर्न सकिएन भने नतिजा तल-माथि हुने सम्भावना अधिक रहन्छ । अहिले विराटनगरमा प्रत्येक दिन ५० ओटा पीसीआर भइरहेको छ । पीसीआरको माग बढी छ । हामी गर्न सक्ने अवस्थामा पनि छौं । तर, ल्याबको क्यापासिटीको कारणले गर्दा नै हामी चुकेका छौँ । यदि लकडाउनको समयमा दैनिक २०० देखि ३०० परीक्षण भएको थियो भने महाशाखाले विराटनगरका मानिसहरूलाई आश्वस्त गर्न सक्ने थियो । हामी यसमा अवश्य पनि चुकेका नै छौं ।

श्रम एरियाहरूलाई सुरक्षा सर्तकता कस्तो छ ?

श्रम एरियामा समन्वय गरेर रहेका ब्यापारिक वर्गहरू तथा संगठनका व्यक्तिहरूलाई पहिले जै सुचित गरेका छौँ । हाललाई हामीले बाहिरबाट आएका केसहरूलाई धेरै प्राथमिकता दिएका कारण बाहिरबाट आएका मानिसहरू छन् भने तुरुन्तै वडाको मार्फतबाट जानकारी गराउन लगाएका छौं । हामी तुरुन्तै तिनीहरूको पीसीआर गराउछौं ।

कोरोना संक्रमण रोकथाम र उपचारका लागि विराटनगर महानगरपालिकाले स्वास्थ्य महाशाखा मार्फत के के गर्‍याे र के गरिरहेको छ ?

विराटनगर महानगरपालिकाले स्वास्थ्य महाशाखाले धेरै कामहरू गरिसकेको छ । नेपालमा दुईवटा केसहरू देखा पर्दै जाँदा विराटनगर विमानस्थल, मालबाहक गाडीहरू आउने आइसिपी मा तथा रानीमा फिभर क्लिनिकहरू सञ्चालनमा ल्यायौं र त्यहाँ पारामेडिक्स स्टाफहरू राख्यौं । र, त्यही आधारमा कन्ट्याक्ट ट्रेसिङहरू गर्‍याैं । विराटनगरका एक्स्पर्टको सहयोगमा पहिलो पटक डिसइन्फेक्ट्यातहरू बनाएर महानगरमा छर्‍याैं । त्यसपछि, क्वारेन्टाइनको व्यवस्थापन गर्नुका साथै सम्बन्धित विभिन्न विज्ञ र निकायहरूसँग बसेर यस विषयमा गम्भीर छलफलहरू गरेर अगाडि बढिरहेका छौं ।

कोरोना संक्रमण रोकथामकालागि महानगरमा जनशक्त्ति र स्वास्थ्य सामग्रीको अवस्था कस्तो छ ?

महानगरमा जनशक्त्ति र स्वास्थ्य सामग्री चाहिने जति पर्याप्त छैनन् । कतिपय कुराहरू किन्न नसक्दा सुरुआती दिनहरूमा एकदम गाह्रो भयो । एउटा मास्कको लागि पनि गुहार्नुपर्ने स्थिति आएको थियो । तर, कालाबजारीअन्तर्गत छापा मार्‍याैं, कोशी अस्पताललाई विभिन्न कुराहरूमा सहयोग गर्‍याैं । सामाग्रीहरू नेपालमा नबन्ने, बाहिरबाट आयातित गर्नुपर्ने हुँदा पीपीई, मास्क तथा सेनिटाइजरलगायतका कुरामा जति एक्सपेक्ट गरेका छौं, त्यो पर्याप्त नभए पनि अहिलेको लागि जोहो गरेर राखिएको छ । महामारीको समयमा ३ महिनासम्म पुग्ने सामान स्टोर गरेर राख्नु पर्ने हुन्छ, त्यो हामीसँग पक्कै पनि छैन । तर, हाललाई केही दिनहरूमा पुग्ने र केही दिनहरूको लागि क्राइसिस हुन नदिनका लागी महाशाखा लागिपरेको छ ।

कोरोना रोकथामका लागि जनप्रतिनिधिबाट कतिको सहयोग पाइरहेका छ, समन्वय कस्तो छ ?

केही कुरामा मिसअन्डरस्ट्यान्डिङ भएपनि महाशाखाले कोरोना रोकथामका लागि जनप्रतिनिधिहरूबाट सक्दो समन्वय पाएको अवस्था छ । स्वास्थ्यका कुराहरू उहाँहरूले राम्ररी नबुझ्ने हुँदा बुझाउने प्रयास जारी नै छ । संमवेदनशील रहेर सहयोग गर्ने जनप्रतिनिधिहरूको जिम्मेवारी पनि हो, उहाँहरूले सहयोग नगरे महाशाखाले जनताको सेवा गर्न सक्दैन ।

कोरोना विराटनगरमा सुस्तरी फैलँदै छ । अब विराटनगरमा पनि भयावह अवस्था नआउला भन्न सकिँदैन । यदि अवस्था भयावह भयो भने, महानगरपालिकासँग के कस्तो रोकथामको तयारी छ ?

यो भयावह कतिखेर आउँछ, आउँदैन भन्दा पनि सजकता अपनाउनु पर्ने हुन्छ । भाइरसको उपचार नभएको हुँदा यसको रोकथाम गर्नतिर लाग्नु पर्छ । हामीलाई केही पनि हुँदैन, हाम्रो इम्युनिटी पावर धेरै छ जस्ता कुराहरू गर्नुभन्दा पनि हाम्रो क्षमता कम छ भनेर बुझ्नु आवश्यक छ । स्वास्थ्यका सबै पूर्वाधार नभएपनि हामी यसबाट भाग्ने स्थिति छैन । यो रोगले भोकको पनि अवस्था ल्याएको छ । त्यसैले यसबाट लड्नु नै एक मात्र उपाय हो ।

संक्रमण जोखिमको रोकथामका लागि भनिएको सबै सल्लाह सुझावहरू अपनाएको खण्डमा विराटनगरमा यसले भयावह रूप लिन सक्दैन । तर, गम्भीरता नअपनाए दुर्घटना हुने सम्भावना धेरै रहन्छ ।

पर्याप्त क्वारेन्टाइन, आइसोलेसन र अस्पताल छन् कि छैनन् ?

महानगरमा भएका ५ ओटा क्वारेन्टाइन व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । डब्लुएचओले भनेको सबै मापडण्ड पूरा गरिएको विराटनगरको क्वारेन्टाइन नेपाल अधिराज्यभरि नै सबैभन्दा राम्रो हो ।

यसलाई अझै थप्ने कोशिस जारी नै छ । अहिलेसम्म विराटनगरमा लगभग ३०० हाराहारी मानिसलाई क्वारेन्टाइनमा राखेर ९० जना जतिलाई रिलिज गरिसकेको छ ।

महानगरपालिकाबासीहरूले कोरोना रोकथामलाई कत्तिको सहयोग गरिरहेका छन् ?

महानगरपालिकाबासीहरूले यस विषसमा अवश्य पनि बुझिसकेका छन् । महानगरबासीहरू आफैं बुझ्ने तथा संवेदनशील नै छन् । विराटनगर एक राजधानी भएको कारणले त्यहाँका बासिन्दाहरूले बुझ्नु नै पर्ने हुन्छ । केही थोरै ब्यक्तिहरूका कारणले महानगरमा नराम्ररी इम्प्याक्ट पर्न जान्छ । तर, यसको गम्भीरतालाई सबैले बुझ्नु पर्छ भन्ने मेरो आग्रह छ ।

क्वारेन्टाइन बनाएकै विषयमा आन्दोलन पनि भए, स्थानीयबाट किन यसरी असहयोग भएको थियो ?

यो क्वारेन्टाइन किन बनाइएको भन्ने कुरालाई नबुझेर यसतो भएको जसतो लाग्छ । क्वारेन्टाइनमा राखिएको ब्यक्ति आइसोलेसनमा राखेको जस्तै हुन्छ । तर, मानिसहरूले चाही क्वारेन्टाइनमा बस्नेहरूले रोग फैलाउँछ भनेर सोच्न थाले । क्वारेन्टाइनमा मानिसहरू राख्दा उनीहरू झन् धेरै सुरक्षित हुन्छन् भनेर बुझ्न जुरुरी छ ।

क्वारेन्टाइनबाट संक्रमण सर्ने सम्भावना एकदम न्यून हुन्छ । क्वारेन्टाइनमा राखेर टेस्ट गर्दा कोही ब्यक्ति संक्रमित भएको पत्ता लाग्नेबित्तिकै, सोही ठाउँबाट एम्बुलेन्स बोलाएर अस्पताल लगिन्छ । क्वारेन्टाइन बनाउन महानगरवासिहरूले अहिले सहयोग नगरे पछि अफ्ठ्यारो पार्न सक्ने अवस्था निम्ति सक्छ ।

प्रदेश र संघीय सरकारले तपाईंहरूसँग कत्तिको समन्वय गर्छन्, भूमिका दिन्छन् कि दिँदैनन् ?

यसमा अलिकति चुकेका छन् जस्तो लाग्छ । स्थानीयबासीहरूले जसरी स्वास्थ्य महाशाखासँग जस्तो आशा राख्नु भएको छ, त्यस्तै आशा हामीले प्रदेश र संघसँग राखेका हुन्छौं ।

हामीसँग सबै कुराको लागि पुग्ने बजेट पनि छैन । हामीले सहयोग माग्दा, जति आशा राखेका थियौं, त्यति पाएनौं । आरोप लगाउन चाहन्नँ तर, समन्वयकारी भूमीका अलि कमजोर नै रहेको छ ।

यो संकटको बेला प्रदेश र संघीय सरकारसँग के अपेक्षा गर्नुभएको छ ?

महाशाखाले संकटको बेला प्रदेश र संघीय सरकारसँग ठूलो अपेक्षा राखेको छ । महामारीको बेलामा धेरै क्राइसिसहरू हुन्छन् । लकडाउनमा धेरैले रोजगारी गुमाए, निम्न वर्गका मानिसहरूले पाउनुपर्ने राहत पाएनन् ।

यो बेलामा प्रदेश र संघीय सरकारले अपेक्षाअनुसार जति मद्दत गर्नुपर्थ्यो, अपेक्षा पूरा भएका छैनन् । तर, महाशाखाले विराटनगरबासीलाई आगामी दिनहरूमा केही कमीकमजोरी हुन नदिने सोचेका छौं ।

यो संकटको बेला प्रदेश र संघीय सरकारले राम्रो समन्वयकारी भूमिका निर्वाह गरिदिन महाशाखाको आग्रह छ ।

विश्वमा कोरोना संक्रमणको मिटर घट्दै गइरहेको छ तर, नेपालमा भर्खरै बढ्दै गइरहेको छ, तपाईं जनस्वास्थ्य विज्ञ पनि हुनुहुन्छ, यस्तो किन भयो र नियन्त्रण कसरी गर्ने होला ?

३ देखि ४ महिनाको अन्तरालमा चीनको वुहान, इटालीदेखि लिएर विश्वका घेरै देशहरूमा फरक फरक सिनारियो देखिएको छ । चीनले दिनरात खटेर कोरोनाको महामारीलाई अन्त्य गर्न सम्भव भयो ।

इटाली चिकित्सा उपकरणमा विश्चको दोस्रो राष्ट्र मानिन्छ । तर, त्यहाको स्थितिको बारेमा सबैलाई थाहा नै छ । सँगसँगै दक्षिण कोरियामा राम्रो तरिकाले परीक्षणको दायरा बढाएर, कन्ट्र्याक्ट ट्रेसिङ गरेसँगै त्यहाँ मोर्टालीटी रेट एकदम तल झरेर गयो ।

महामारी विज्ञानको सिद्धान्तअनुसार कुनै पनि संक्रामक रोग एउटा चरम विन्दुसम्म पुग्ने हुन्छ । र, त्यसपछाडि विस्तारै तल झरेर जान्छ । तर, नेपालमा भर्खरै यो अवस्था सुरु भएको छ । सधै यस्तै रहिरहँदैन् ।

नेपालमा परीक्षणको दायरा बढेको कारण संक्रमितको संख्या पनि बढिरहेको देख्न सकिन्छ । हामी अझै परीक्षण बढाउने पक्षमा छौं । खोप नभएको कारणले हर्ड इम्युनिटी बढाउनु नै एक मात्र उपाय रहेको देखिन्छ ।

हालसम्म खोप नबनिसकेको कारणले रोगको नियन्त्रणका लागि रोकथाम गर्न जरुरी छ । जनतालाई परामर्श दिनु नै महत्वपूर्ण कुरा हो । साथै, पर्सनल हाइजिन मेन्टेन गरेर, समाजिक दूरीको अभ्यास, बारम्बार हात धुने, मास्क लगाउने, भिडमा नजाने जस्ता कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ ।

सम्भवतः २ देखि ३ महिनामा यो क्रम केही घट्दै जानेछ । नेपालले पनि औषधिको विकासमा अवसर पाएको छ । औषधि सफल भएको खण्डमा नेपालले पहिलो अनुभव गर्ने मौका पाउनुका साथै औषधिले रोगलाई निराकरण गर्न सक्ने सम्भावना पनि प्रवल रहन्छ ।

प्रस्तुति : अंकिता ताम्राकार

Loading...