प्रदेश सरकारको बजेट : बढ्दै प्रशासनिक खर्च, घट्यो विकास खर्च

विराटनगर, २ असार । १ नम्बर प्रदेश सरकराले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि ४० अर्ब ८९ करोड, ९९ लाख ४७ हजार बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ १८ अर्ब ९३ करोड, ४९ लाख ९३ हजार विनियोजन गरेको छ । यो रकम कूल बजेटको ४६.२० प्रतिशत हो ।

आर्थिक वर्ष २०७५–७६ काे बजेट

चालु आर्थिक वर्ष २०७६–०७७ का विनियोजित बजेट ४२ अर्ब २० करोड, ४ लाख १२ हजारमध्ये ४३.९ अर्थात १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार चालु खर्चका लागि विनियोजन गरेको छ ।

चालु वर्ष पूँजीगततर्फ २३ अर्ब ५७ करोड ६४ लाख ७६ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ ८ करोड बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि पूँजीगततर्फ २१ अर्ब ९२ करोड ४० लाख विनियोजन गरेको छ । यो कुल बजेटको ५३.७१ प्रतिशत हो ।

सरकारले आर्थिक वर्ष २०७५–७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाखको बजेट विनियोजन गरेको थियो ।

जसमा चालुतर्फ १४ अर्ब ९२ करोड १८ लाख अर्थात कुल बजेटको ४१.५ प्रतिशत छ । पूँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१.५ प्रतिशत छ ।

आर्थिक वर्ष २०७६–७७ काे बजेट

पूँजीगत खर्चको सिलिङ घट्दा चालू खर्च बढ्दो

१ नम्बर प्रदेश सरकारले तीनवटा पूर्ण बजेट ल्याएको छ । तीनवटा बजेटमा चालु खर्च वार्षिक रूपमा बढ्दो छ । सीमित स्रोतका कारण पूँजीगत खर्च भने घट्दो छ ।

आर्थिक वर्ष २०७५–७६ का लागि कुल बजेटको ४१.४ प्रतिशत बजेट बिनियोजन गरेको प्रदेश सरकारले चालु वर्षका लागि ४३.९ प्रतिशत र आगामी आर्थिक वर्षका लागि कुल बजेटको ४६.२० प्रतिशत बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७–७८ काे बजेट

चालु आर्थिक वर्ष पूँजीगत खर्च ५५.९ प्रतिशत र आगामी वर्ष ५३.७१ प्रतिशत छ । प्रदेश सरकारको क्षमता नभएका विनियोजन भएको सबै पूँजीगत बजेट खर्च हुँदैन । बजेट खर्च नहुँदा सोचेअनुसारको उपलब्धि पनि भएका छैन ।

चालु खर्च बढ्दै जानु अर्थतन्त्रका लागि राम्रो सूचक होइन । अर्थशास्त्री डाक्टर भेषप्रसाद धमला विनियोजन भएको बजेट लक्ष्यअनुसार खर्च भए बजेटले अपेक्षा गरेका उपलब्धिहरू हासिल हुने बताउँछन् । तर पूँजीगत बजेट खर्च गर्ने क्षमता कम भएका कारण लक्ष्यअनुसारको उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ ।

‘चालु खर्च बढ्दै जानु राम्रो होइन,’ उनी भन्छन्, ‘पूँजीगत खर्च बढाउन सके विकासको गति बढ्छ ।’ प्रशासनिक खर्च बढ्दा बजेटका लक्ष्यहरू ओझेलमा पर्ने उनले बताए ।

Loading...