सोलुखुम्बु, २ असार । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार निधन भएको छ ।

विगत १० महिनादेखि क्यान्सर रोगबाट पीडित शेर्पाको मंगलवार बिहान सोलुखुम्बुस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।
गाउँपालिकाका अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मङ्गलवार बिहान ८ः३० बजे निधन भएको गाउँपालिकाले जनाएको छ । आमाशयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि लामो समयदेखि अध्यक्ष शेर्पा उपचाररत थिए ।
काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराइरहेका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि दुई हप्ताअघि जन्मस्थल लुक्ला लगिएको थियो ।
क्यान्सर लागेपछि शेर्पा थप उपचारका लागि १० महिना पहिले भारतको मेतान्द अस्पतालमा भर्ना भएका थिए ।
त्यहाँ दुई महिनासम्म रेडियो थेरापी गरिएको थियो । त्यसपछि काठमाडौँ फर्किएर शेर्पाले ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए ।
अध्यक्ष शेर्पाको निधनले अपुरणीय क्षति पुगेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टसील्हामु शेर्पाले बताए ।
आफू नियमित काममा सक्रिय हुन नसकेपछि अध्यक्षले उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।