मुस्लिम युवा र किराँती युवतीको प्रगतीशिल मागी विवाह

बबिता लिम्बू
आजपनि समाजमा जातीय र धार्मिक विभेदका नाममा हुने असमानताहरू कायमै छन् । कानूनले दण्डनीय बनाएपनि अझै पनि समाजमा जातकै आधारमा अन्तर्जातीय विवाह बञ्चित छ । त्यत्ति मात्र हैन झन् अन्तर्धार्मिक विवाहलाई त समाजले अघोषित रूपमा निषेध नै गरेको छ । त्यसमाथि झन् हिन्दू र मुस्लिम धर्म समुदायमा त कठोरता अझै धेरै छ ।

तर समाजमा केही त्यस्ता साहसी जोडीहरू पनि पाइन्छन्, जसले जातपात र धर्मको आडम्बरी कटरताभन्दा पनि साँचो प्रेम अमूल्य हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् । हो तीनै साहसी जोडीमध्येका एक हुन विराटनगरका मुस्लिम समुदायका युवा वसिम आलम र किराँत समुदायकी सञ्जु राई खातुन । उनीहरूले ९ वर्ष पहिले आफ्नो अन्तर्जातीय र अन्तर्धार्मिक प्रेमलाई मागी विवाहमा परिणत गराउन सफल भएका थिए ।

….

मोरङको रंगेली निवासी वसिम आलम तत्कालीन एमाले निकट अनेरास्ववियुको केन्द्रीय सदस्य थिए । यसैले उनी विराटनगर महानगरपालिका–१२ पाञ्चालीस्थित पार्टी कार्यालय पुगिरहन्थे । सामाजिक अभियन्ता पनि भएकोले वसिमको सक्रियता लोभलाग्दो थियो । उनी प्रायः खाना र चियाखाजा पार्टी कार्यालय छेउमै रहेको राई थरका लक्ष्मण दाइको पसलमा जानेगर्दथे । जहाँ एमालेका नेता कार्यकर्ताहरूको बाक्लो जमघट हुनेगर्दथ्यो । त्यही पसलवालाकी छोरी थिइन् सञ्जु ।

वसिमलगायतका कार्यकर्ताहरूलाई चियाखाजा बनाउने र दिनेकाम सञ्जुले गर्थिन् । त्यसबेला सञ्जु फाइनान्स विषयमा मास्टर्स डिग्रीको अध्ययन पनि गर्दै थिइन् । होटलमा आउने जाने क्रममा पढाइको अलिकति पनि घमण्ड नभएको, आफ्नो पढ्ने काम सकेर बुबाआमालाई होटलको काममा सघाएको देख्दा आलमलाई सञ्जु मनमनै मन पर्न थाल्यो । उनले ‘यो केटीसँग चाहिँ म जिन्दगी काट्न सक्छु’ भन्ने सोच बनाए । यसैले उनले सञ्जुलाई मौका पारेर विस्तारै विवाहको प्रस्ताव पनि गरे ।

एक अर्काको बारेमा केही नजानेको, होटलमा मात्र देखेको मान्छेले ठाडै विवाहको प्रस्ताव गर्दा सञ्जु छक्क परिन् । एक त बोलचाल नै नभएको अर्कोजात र धर्म नै विल्कुल फरक । प्रस्तावनिकै नै अपत्यारिलो भएपनि आलमको आनीबानीदेखि सञ्जु प्रभावित भएकी थिइन् । राईले पनि जवाफ दिनमा ढिलाइ गरिनन् । र, अन्ततः यी दुवै विवाहका लागि तयार भए । दुवैले प्रगतीशील विचारलाई मानेकोले उनीहरूको विवाहमा जातपात र धर्म तगारो बन्न सकेन ।

….

वसिम आफैं पनि वर्गीय विचारले खारिएका परिवर्तनकारी सोच भएका युवा थिए । समाज परिवर्तन गर्ने हो भने आफैंबाट सुरु गनुपर्छ भन्ने धारणा उनको थियो । यसैले फरक धर्म समुदायको भएपनि उनले सञ्जुको घरपरिवारलाई राजी गराउन सफल भए । अनि आफ्नो परिवारको पनि मञ्जुरी लिए । र, २०६७ सालमा सञ्जुसँग वैवाहिक बन्धनमा बाँधिए ।

उनीहरूको विवाह दुवैको धार्मिक रीतिरिवाजअनुसार भयो । सञ्जुको परिवारले किराँत धर्मअनुसार उनलाई बिदाई गरे । वसिमले आफ्नो समुदायको संस्कारअनुसार निकाह गरेर सञ्जुलाई घर भित्र्याए । विवाहको समयमा आलमको परिवारमा निकाह भयो । यता, सञ्जुको परिवारमा चोरको सोर बुझाउने रीत पनि पूरा गरियो ।

फरक धर्म समुदाय किराती बेहुली लिन मुस्लिम रीतिअनुसार जन्ती लिएर पुगेका थिए वसिम । त्यो बेला उनलाई के होला, कसो होला, समाजले के भन्ला रु भन्ने पटक्कै चिन्ता लागेन । बरु उनलाई वर्गीय समानताअनुसार जात र धर्मको कटरतालाई तोडदै विवाह गर्न पाएकोमा गर्व लाग्यो । दुवै पक्षका परिवार विवाहका लागि राजी भएकोले चिन्ताको कुरा पनि थिएन ।

विवाहमा राई संस्कारअनुसार सुँगुरको मासु र रक्सी अनिवार्य पर्दथ्यो । यता मुस्लिम धर्ममा भने दुवै बर्जित थियो । यसैले दुवै परिवारको सहमतिमा संस्कारमा परिवर्तन गरियो र सुँगुरको सट्टा कुखुरा र रक्सीको सट्टा चिसो पेय पदार्थ डिउ राखियो । जसलाई आलमको परिवारले पनि सहजै स्वीकार गर्‍यो । रीतिरिवाज, धर्मसंस्कार मान्छेले मान्छेका लागि बनाएकोले त्यसलाई समयअनुकल परिर्वन गर्न सकिने र त्यसका लागि मात्र साहस र सक्रियताको आवश्यकता पर्ने वसिम बताउँछन् ।

….

फरक धर्म समुदायकी चेली मुस्लिम युवाको घरपरिवारमा आएपनि सबै सहयोगी र मिलनसार भएकोले सञ्जुलाई घुलमिल हुन त्यति गाह्रो भएन । सञ्जु भन्छिन्, ‘वातावरण नै नयाँ भएकोले गाह्रो त केही भइहाल्छ तर वसिमले जहिल्यै मेरो लागि ‘ब्याकबोन’ बनेर साथ दिइरहनु भयो । यसैले पनि मलाई परिवारमा घुलमिल हुन धेरै सहज भयो ।’ वसिमको यही प्रेम, स्नेह र सद्भावले सञ्जुलाई आफ्नो नाम र थर पछाडि खातुन जोड्न पनि पे्ररित गर्‍यो । सञ्जु अहिले सञ्जु राईसँगै आफनो नामको पछाडि खातुन पनि जोड्छिन् ।

….

वसिम हाल नेकपा निकट अनेरास्ववियुको केन्द्रीय सदस्य छन् । उनी लकडाउनमा निरन्तर भोकाहरूलाई निःशूल्क खाना खुवाउने अभियानमा खटिरहेका छन् । उनले नेतृत्त्व गरेको युवाहरूको टोलीले दैनिक चार सय भोका मानिसलाई दुई महिनादेखि खाना खुवाइरहेको छ । आलमका श्रीमती सञ्जु राई खातुन सौर्य ऋण तथा बचत सहकारी संस्थामा प्रबन्धकको रूपमा कार्यरत छिन् ।

….

वसिम आलमको वंश मुसलमान भएकोले उनी इस्लाम धर्म मान्छन् । सञ्जु जातले राई भएकोले किराँती धर्म मान्छिन् । तर आजकल दुवैले दुवै समुदायको धर्मसंस्कारलाई स्वीकार गरेर बराबर सम्मान दिनेगरेका छन् । वसिम दसैंमा ससुराली गएर मज्जाले निधारमा टीका लगाएर सासूससूरा र आफन्तको आर्शिवाद थाप्छन् । सञ्जुपनि तीजमा माइत जान्छिन् र रातो साडी लगाएर गीत गाउँछिन् । यता, आफनो घरमा नवाज पढ्ने, ईद मनाउने आदि मुस्लिम समुदायका सबै पर्वहरू पनि सञ्जुले हार्दिकताले मनाउने गरेकी छन् । दुवै परिवारलाई राजी गराएर प्रगतीशील मागी विवाह गर्न सफल भएका उनीहरू हाल एक छोरा र एक छोरीसहित सानो र सुखी परिवारसहित सक्रिय श्रमजिबी बनेर खुशीयाली जीवन बिताइरहेका छन् ।

बाबु मुस्लिम अनि आमा किराँत दुवैबाट जन्मेका सन्तानमा कस्को संस्कार हाबी भएको होला भन्ने धेरैमा कौतुहता हुनेगर्छ । तर वसिम र सञ्जुका छोराछोरीमा किराँती आमा र मुस्लिम बाबु दुवैको प्रभाव मिश्रित छ । उनीहरूको दोस्रो सन्तान दुई वर्षकी छोरी छन् भने जेठो सन्तान सात वर्षका छोरा छन् ।

छोरा हरेक वर्ष आमा हजुबा-हजुरआमा र सानीमाहरूसँगै साकेला नाच्न थालेका छन् । समाज बदल्नेहरूले समाजसँग डराएर भाग्नुहुँदैन बरु सामना गरेर जित्नुपर्छ । यही विश्वासले आफ्नो अन्तर्जातीय र अन्तर्धार्मिक विवाहलाई सफल बनाउन सकेका हुन्, वसिम र सञ्जुले । उनीहरू भन्छन्, ‘समाजले नबोल्नेलाई सधैं तल पार्ने काम गर्छ । यसैले समाजले मेरोबारेमा के सोच्छ भन्ने हैन आफूचाहिँ के सोच्छु भन्ने चासो राखेर अगाडि बढनुपर्छ ।’

यही सोचले सामाजिक कूरीतिविरुद्ध क्रान्तिकारी कदम चालेकोले पनि होला आलम र सञ्जुको अन्तर्जातीय/अन्तर्धार्मिक विवाहप्रति आजसम्म कसैले औंला उठाउने हिम्मत गरेको छैन ।

Loading...