दलित आन्दोलनको अनुभूति

सुनिता मरिक

दलित आन्दोलनले धेरै कुराको अनुभुति गराईदियो । आन्दोलनको रङरुप, आकार, प्रकार हुँदैन भनेको सुनेको थिए तर धेरै रङ र प्रकार हुँदोरहेछ । आन्दोलन गर्न पनि चाकडी गर्न जान्ने र Yes Man हुनुपर्दो रहेछ । धेरै आन्दोलन भोगेँ तर फरक केही पाइनँ । मलाई लाग्थ्यो आन्दोलनको मुद्दा हुन्छ त्यो साझा हुन्छ । एक्यवद्धता हुन्छ, साथ हुन्छ अन्यायको विरुद्ध आक्रोश हुन्छ, आन्दोलनकारीको आवाज एउटै हुन्छ, बिद्रोह हुन्छ, जोश हुन्छ, माग हुन्छ माग पूरा नहुन्जेल आन्दोलन रोकिँदैन जस्तो लाग्थ्यो, आन्दोलनकारीको माग पूरा भएपछि आन्दोलन सफल हुन्छ ।

जस्तो अरु आन्दोलनहरू सफल भए २००७ सालको आन्दोलन, २०३६ साल, २०४६, २०५२ को माओवादी आन्दोलन, २०६२-६३ को जन आन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन आदि । यीनै आन्दोलनका कारण दलितका केही मुद्दा समेटिए । २०७२ सालको दलित आन्दोलन उत्कर्समा पुगेको थियो तर त्यो आन्दोलन तुहियो केही उपलब्धि भयो तर समानुपातिक र समावेशीका मुद्दा समेटिएन ।

तर लगत्तै संविधानको विरुद्ध, संविधान संशाेधनका निम्ति मधेशीहरूले ‘ब्ल्याक आउट’ गरी मधेश आन्दोलन गरे । त्यसपश्चात् संविधानमा समानुपातिक र समावेशीका मुद्दा समेटिए । मधेश आन्दोलनलाई हिदृयबाट सलाम गरेको छु । पहाडीमूलकाले मधेसीहरूलाई हेप्ने मधिशे, भैया भन्दथे । काठमाडौमा “मनु मखु मडिस्या ख स्” भन्दथे । कति विभेद थियो कति पीडा थियो तराईमूलका नागरिकलाई । दोस्रो दर्जाको सम्झन्थे दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्दथे । मधेशी एक भए जुन शब्दबाट अपमानित भइरहेका थिए त्यही शब्दमा सम्मान खोजे आन्दोलन गरे सफल भए आखिर राज्य झुक्न बाध्य भए । आज मधेशी साथीहरू भन्नूहुन्छ, “विशाल छाती बनाएर गर्वसे कहुँ हम मधेशी छिए” किन ? एकता थियो, रोश, जुनुन, पीडा विश्वास र संकल्प थियो । आज नतिजा हाम्रोसामु छ ।

तर मुलुकमा विभिन्न आन्दोलनपश्चात् दलित उत्पीडितका जातीय भेदभावका मुद्दा ज्युँका त्युँछ । छुवाछूतमुक्त रास्ट्र घोषणा भएको पनि गत जेठ २१ गते १३ वर्ष पूरा भएको छ । तर एक दशक बढी भइसक्दा पनि दलितले छुवाछूतमुक्त भएको अनुभूति गर्न सकेका छैनन् । देशमा छुवाछूतका घटनाहरू अझै विध्यमान छ । म पनि आश्चर्यमा परेको छु आखिर यो छुवाछूतका मुद्दा देशको कलंक किन भइरहेको छ ? यो मान्छेले मान्छेलाई छुन न हुने देश नेपालभन्दा नमज्जा लाग्छ । पशु पूजा गर्ने, पशुका मूत खाने तर मान्छेले मान्छेलाई छुन नहुने यो २१औं शताब्दीमा पनि आखिर किन ? दलित कहिले सार्वजनिक धारा, पधेरा, इनार, कुवा छुएको निहुँमा कुटिने, पिटिने त कहिले चुल्हो छोएको निहुँमा त कहिले मन्दिर प्रवेश गरेको निहुँमा । कहिले अन्तर्जातीय विवाह गरेको निहुँमा कुटिनुपर्ने, गाउँ निकाला हुनुपर्ने वा मारिनुपर्ने ।

आखिर कहिलेसम्म ? दलितको रगत चल्ने, छोरी चेलीको शरीर चल्ने तर पानी न चल्ने अन्तर्जातीय विवाह हुँदा जात नचल्ने आखिर कहिलेसम्म ? मेशिन नहुँदा दलितले हातले जुत्ता सिलाएर जनता र रास्ट्रको सेवा गरे, लुगा हातले सिलाएर सबै नेपालीका लाज ढाकेर सेवा गरे , विभिन्न लडाई र राज्यलाई संकट परेको बेला दलितले हातहतियार, बन्दुक बनाए आज त्यहीँ हातहतियारले युद्ध जिति गोर्खालीको पदवी पाए विभिन्न राज्य पाए । नेपाल भनी गौरव बचाए । मधेशका दलित डोम, चमार, मुसहरहरूले दिनरात देश र समाजको विभिन्न सीप र पेशाले सेवा गरे । सीप र कलाका धनी, पौरखी श्रमजीवी वर्गमा पर्ने दलितको आफ्नो कुनै उद्योग कलकारखाना न हुनु मुलुकको ठूलो बिडम्बना होइन र ? यी सीप कलाहरू गैरदलितले उपयोग गरी उद्योगपति हुनु तर दलितले कुनै पेटेन्ट राइट न पाउनु ? आज मुलुकका प्रधानमन्त्रीले समृद्ध नेपाल सुखी नेपाली भनीरहँदा के यो मुलुकमा दलित सुखी र समृद्ध हुन पर्दैन ? त्यतिका धेरै आन्दोलनहरूमा दलितले साथ दिएका छन् बन्दुक बोकेका छन् , शहीद भएका छन, घाइते बेपत्ता भएका छन् । अब केको बलिदानी पुगेन त ? धेरै समीक्षा पनि भए बहस पनि भए आखिर कहाँ चुक्यो दलित आन्दोलन ?

एकतामा शक्ति हुन्छ त्यसैले भारतका संविधानविद् डा. भीमराव अम्बेड्करले भन्नू हुन्थ्यो : शिक्षित बनो, संगठित बनो, और संघर्स करो । किन भन्नू भएको रहेछ ? शासकले जहिले पनि फुटा अनि राज गर भन्ने नीति लादेर शासन गर्ने अनि दलित शाशीत हुने । यस्तो हुँदै गर्दा दलितहरूले मधेश आन्दोलनबाट पाठ सिक्नु पर्ने होइन र ? आज दलितहरू शोषण र अन्यायमा परेको पनि तीन हजार पैतिस सय वर्ष पुगेको छ । एक चौथाइको हिस्सा ओगटेको मुलुकको मुलवासी दलितहरूलाई दमित गर्दै दोस्रो दर्जाको नागरिकसरह व्यबहार गरिएको छ ।

दलितले के मागेका छन् र ? सीप श्रम आफैंसँग पर्याप्त छ एउटा आत्मसम्मान अनि देशका अन्य नागरिकसरहको अधिकार होइन र ? मेरो बुबा स्व. बेचन मरिक डोमले भन्ने गर्नुहुन्थ्यो, “छोरी रास्ट्रमा दलितहरूले जबसम्म आफ्नो आचरण सुधार्दैन, एकले अर्कोको अस्तित्व स्वीकार गर्दैन र जबसम्म सम्पूर्ण दलितहरू एकताको सुत्रमा बाँधिदैन तबसम्म दलित आन्दोलन सफल हुन सक्दैन ।

वास्तवमा हो कि ? आज मलाई पनि महशुस भएको छ दुःखका साथ भन्न परेको छ राजनीतिक दाउपेच गरेका छन्, अवसरवादीहरूले अवसर खोजेका छन् काम कुरा एकातिर भने जस्तै । तँछाड मछाड । जो साँचो अर्थमा लड्दैछन् उनीहरू पछाडिको पंक्तिमा बस्न बाध्य छन् । क्षमता हुँदा हुँदै पनि बन्धक र निरीह बनेका छन् । हरेक मान मर्यादाको पालना गर्न परेको छ । यस्तो जेठकाे घाम, कोरोनाको महामारीको कहर, ब्यक्तिगत दूरी र भयावह रोगको पनि प्रवाह नगरी निःस्वार्थ आन्दोलनमा आज विभेदित दलित जातीय विभेद नगर अब पुग्यो भन्न न्यायको भिख मागिरहेको छ ।

तर न्याय नपाएको अवस्था अझै छ । एकले अर्काको अस्तित्व नस्वीकार्ने, एकता हुनुपर्ने ठाउँमा एकता ? हुने कसरी सम्भव: छ न्याय ? अनि दलित आन्दोलन ? अब दलितको पीडामा न्यायको लागि गैरदलित बोल्नुपर्छ, महिलाको पीडामा पुरुष बोल्न पर्छ, मधेशीको पीडामा पहाडी वा जनजाति बोल्नुपर्छ भन्दै गर्दा म भन्छु अचानोको चोट खुकुरीलाई के थाहा ?

Loading...