Rumpum Advertisement

धर्मले जुराएको अन्तर्जातीय र अन्तर्देशीय जोडी

Neuro Revised Adv
Koshi Dashain ad
धर्मले जुराएको अन्तर्जातीय र अन्तर्देशीय जोडी

प्रेम न त जात हेर्छ, न त देश । न त रूप हेर्छ न त रंग र धन । हेर्छ त बस् साँचो प्रेमको सौन्द्धर्य । किनकी साँचो प्रेमले मनको सौन्द्धर्यलाई स्वीकार गर्छ ।

यही कुरालाई वास्तविकतामा परिणत गराएका छन्, नेपाली युवा सुरेन्द्र मल्ल ठकुरी र भारत नागाल्याण्डकी यान्सोला इम्चुङ्गर जोडीले ।

सुरेन्द्र मल्ल ठकुरी प्रदेश नं १ का विराटनगर महानगर–६ झरनाटोल निवासी नेपाली नागरिक हुन् । तर उनकी पत्नी यान्सो भारत नागाल्याण्डकी नागरिक हुन् । दुवैबीच जातीयता, भाषा, देश मात्र नभएर र समाज र संस्कृति पनि फरक थियो । तर पनि उनीहरू दुवैको प्रेमलाई केहीले छेक्न सकेन । न त कसैले रोक्न नै सक्यो । साँचो मायाकै कारण धेरै असमानता भएपनि अन्ततः उनीहरू एक भएरै छाडे । हाल सुरेन्द्र र यान्सोलाको २ वर्षीय सार्थक नामको छोरा छ । उनीहरू विराटनगरमा रमाइलो पारिवारिक जीवन बिताइरहेका छन् ।

धर्मले जोडेको चिनजान विवाहमा बदलियो

सुरेन्द्र मल्ल ठकुरी धर्मले क्रिस्चियन हुन् । उनी चर्चको शैक्षिक प्रोजेक्टमा पढाउने काम गर्छन् । यसै सिलसिलामा सुरेन्द्रलाई एकपटक विदेशी विद्यार्थीहरूलाई अनुवादकको रूपमा सहयोग गर्न चर्चबाट पठाइयो । यान्सो त्यही विद्यार्थीहरूमध्येकी एक थिइन्, जो ‘क्रस रिलिजन’ विषय अध्ययन गर्न नागाल्यान्डबाट नेपाल आएकी थिइन् । यान्सो त्यसबेला स्नातक तहकी धर्मशास्त्रकी विद्यार्थी थिइन् ।

अनुवादकको रूपमा अरु कसैलाई नै भनिएको थियो । तर व्यस्तताले तोकिएका अनुवादकले नभ्याएपछि सुरेन्द्र अनुवादकको रूपमा त्यहाँ पुगेका थिए । यसरी उनीहरूबीच पहिलो भेट भएको थियो ।

यान्सो दुई महिनाका लागि मात्र नेपाल आएकी थिइन् । केही दिन विराटनगरमा बसिसकेपछि उनी इलाम गइन् । इलाम गएकी यान्सोले फेसबुकमा सुरेन्द्रलाई फ्रेण्ड रिक्वेस्ट पठाइन् । त्यसपछि उनीहरूको बातचीत फेसबुकमार्फत बाक्लै हुन थाल्यो । समाजिक सञ्जाल हुँदै फोन र भौतिक रूपमा बोलचाल हुँदै गएपछि उनीहरू एकआपसमा झन् नजिकिए । केही महिनामा नै सुरेन्द्रले यान्सोलाई प्रेम प्रस्ताव राखे । यान्सोले पनि सुरेन्द्रको प्रस्ताव सहजै स्वीकार गरिन् ।

भेटघाट र बोलचाल भएको ६ महिनाभित्र नै सुरेन्द्रले विवाहको लागि घरमा कुरा गरे । सुरुमा घरपरिवारले अन्तर्देशीय त्यो पनि नागाल्याण्डको भन्दै विवाहमा आपत्ति जनाए । तर दुवैको धर्म एउटै भएकोले सुरेन्द्रलाई परिवारको सहमति मिल्यो । त्यसपछि यान्सोको परिवारमा पनि प्रस्ताव राखियो । आफ्नो देशभन्दा बाहिर, फरक जात, भाषा र संस्कृतिको मान्छेलाई छोरी विवाह गरेर पठाउने यान्सोका परिवारका लागि पनि सहज थिएन । सबै कुरा फरक भएपनि यान्सो र सुरेन्द्रबीच एउटै कुरा साझा थियो धर्म । दुवैको धर्म क्रिस्चियन भएकाले अन्ततः यान्सोको परिवार पनि राजी भयो ।

यान्सोको घर नेपालबाट तीन दनको यात्रापछि मात्र पुगिन्छ । हरेक कुराले नागाल्यान्ड गएर विवाह गर्न असम्भव भएपछि दुई परिवारको मञ्जुरीमा सुरेन्द्र र यान्सोको विवाह नेपालमै भयो । धेरै टाढा भएकोले विवाहमा यान्सोको परिवारको तर्फबाट जेठी दिदीमात्र उपस्थित भइन् ।

विवाहपछि भाषा र भान्छाको समस्या

सुरेन्द्र र यान्सोको धर्म एउटै भएपनि देश, समाज, परिवार, लवाइखवाइ बोलाईचलाई सबै फरक थियो । यसैले भर्खरै विवाह गरेर आएकी यान्सोलाई सबै कुरा नयाँ हुने नै भयो । विवाहपछि एउटी छोरी आफ्नो माइतदेखि टाढा अर्काको घर गएपछि नयाँ ठाउँ नयाँ परिवेशको रहनसहनमा ढल्न त निकै समय लाग्छ भने झन् यान्सोको लागि त घर मात्र नयाँ हैन देश, समाज, भाषा, संस्कृति र खानपिन नै नयाँ थियो ।

माइती नागाल्याण्डमा खाना सादा खाने चलन छ । तर यता घर नेपालमा खाना मसालेदार खाइन्छ । यसैले यान्सोलाई सुरुआती दिनमा खाना आफूअनुकूल बनाउन नै धेरै गाह्रो भयो । एक त भाषा नबुझ्ने समस्या त्यसमाथि सुरेन्द्रको घरमा मसालेदार खाना । यान्सोलाई खाना मात्र हैन पकाउनु पनि धेरै गाह्रो हुने गर्थ्यो ।

यान्सोका लागि मुख्य समस्या भाषा बन्यो । नागा र अंग्रेजी भाषा मात्र बोल्ने यान्सो कनिकुथी हिन्दी पनि बोल्ने गर्थिन् । यता सुरेन्द्रको परिवारले भने नागा र अंग्रेजी भाषा जान्दैनथ्यो । तर सुरेन्द्रको परिवार ठूलो भएको कारण परिवारमा बालबालिकाहरू पनि धेरै थिए । यसैले यान्सोलाई भाषा सुन्न, बोल्न र सिक्न धेरै सजिलो भयो । अहिले उनी नेपाली भाषा मज्जाले बोल्न र बुझ्न सक्छिन् अनि मसालेदार खानापछि जिब्रो पड्काएर स्वादले खाने गर्छिन् । सुरुसुरुमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरे पनि अहिले यान्सोलाई सुरेन्द्रको परिवार र नेपाली रहनसहनमा कुनै समस्या छैन ।

अन्तर्देशीय विवाहमा समाजको दृष्टिकोण

नागादेशको भन्नेबित्तिकै कुुकरसमेत खाने जात भन्ने सोच नेपाली समाजमा थियो । समाजका लागि यान्सो विदेशी थिइन् । यसैले यान्सोलाई नेपाली समाजले उत्सुकताको नजरले हेर्दथ्यो । तर समय बित्दैजाँदा समाजले यान्सोलाई सकारात्मक रूपले नै स्वीकार गर्‍यो ।

अन्तर्देशीय विवाह भन्नेबित्तिकै समस्या नै समस्या आउने हुँदैन भन्छन् यान्सोको पति सुरेन्द्र । अन्तर्देशीय विवाह गरेर सुखद जीवन गुजारिरहेका सुरेन्द्र भन्छन्, ‘समस्या खासै नभएपनि कहिलेकाहिँ आफूले मनबाट भन्न खोजेका कुराहरू बुझिदिएन कि भन्नेचाहिँ दुवैलाई हुँदो रहेछ । तर अहिले हामीले यो कुरालाई बुझिसकेका छौं र त्यहीअनुसार अघि पनि बढ्दैछौं ।’

यान्सोको माइत टाढा भएकोले उनलाई जानआउनचाहिँ धेरै समस्या पर्छ । यसैले मन लागेपनि उनी सहजै माइत जान पाउँदिनन् । यान्सो भन्छिन्, ‘यहाँबाट तीन दिनमा मात्र पुगिन्छ, खर्च र समयको हिसाबले पनि धेरै खर्चिलो हुने गर्छ । तर पनि वर्षको एकचोटीचाहिँ जान्छौं ।’

गत चैत महिनामा यान्सोलाको माइत जाने योजना थियो । तर लकडाउनले उनको योनजा विफल भयो ।

मनमुटाव हुँदा कहिलेकाहिँ जात र राष्ट्रियताको कुरा आउने दुवै स्वीकार्छन् । दुवै भन्छन्, ‘बुढाबुढीमा त्यस्तो त भइहाल्छ नि तर एकअर्काको चित्तदुख्ने गरी, राष्ट्रियतामा नै आँच आउँनेगरी चाहिँ भन्दैनौं । ख्याल, ठट्टा गर्दै थोरै भनाभनचाहिँ हुने गर्छ ।’

सम्बन्ध सुमधुर बनाएर टिकाइराख्न विश्वास, साथ र समझदारी हुनुपर्ने यी सफल अन्तर्देशीय र अन्तर्जातीय जोडी बताउँछन् ।

अन्तर्देशीय होस् या अन्तर्जातीय विवाह । रहनसहन फरक भइसकेपछि घरमा आउँने नयाँ सदस्यलाई स्वभाविकले नै गाह्रो वातावरण आफूअनुकूल बनाउन असहज हुन्छ । यस्तो अवस्थामा आफूले पनि मध्यस्थकर्ताको काम गरेर आफ्नो साथीलाई सहज वातावरण सिर्जना गरीदिनुपर्ने सुरेन्द्र बताउँछन् । उनी भन्छन्, ‘यान्सोका लागि मैले पनि त्यहीँ गरिदिएको थिएँ, गरिरहेको छु र भोलि पनि गिरिरहनेछु ।’

प्रस्तुति : बबिता लिम्बू