पसल खोल्न नदिएको भन्दै प्रर्दशनमा उत्रिए साना व्यवसायी

काठमाण्डौ , २८ जेठ । लकडाउको समयमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै न्युरोडका साना व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् ।

लामो लकडाउनले गर्दा मारमा परेको भन्दै काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु पसल खोल्न पाउनुपर्ने माग गर्दै सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन ।

व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आफुहरु समस्यामा परेको भन्दै २२ जेठदेखी पसल खोल्दै आएका थिए ।

तर आदेश नभएको भन्दै प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको आरोप लगाएका छन ।

आफुहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्न सक्ने अवस्थामा नरहेकोले व्यवसाय सूचारु गर्न दिनुपर्ने माग साना व्यावसायीहरुको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरेको र राहत प्याकेजको सुविधा पनि नदिएकाले आफुहरु सबैभन्दा बढी समस्यामा परेको बताए ।

सरकारले आफुहरुका मागको सुनवाई नगरमा बाध्यताले संघर्षलाई अझै चर्काएर लैजाने चेतावनी दिए ।

महासंघले दैनिक बिहान ४ घण्टा पसल खोल्ने निर्णय गरेपछि व्यसायीहरुले २२ देखि पसल सञ्चालन गर्न थालेका थिए ।

व्यवसायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गरी सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाएर पसल खोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।

Loading...