नेपालमा डेरी क्षेत्रको समस्या र समाधान

प्रल्हाद दाहाल

लकडाउनभन्दा अगाडि देशभर ६२ लाख लिटर दुध उत्पादन हुन्थ्यो । ५० प्रतिशत अर्थात ३१ लाख लिटर दुध किसान आफैंले उपभोग गर्थे । ३१ लाख लिटर बजारमा आउँथ्यो । ३१ लाख लिटरमध्ये पनि १७ प्रतिशत औपचारिक क्षेत्रमा लेभलिङ भएर आउँथ्यो । बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुला रुपमा होटल तथा चिया पसल लगायतमा बिक्री हुने गर्दथ्यो । 

अहिले मान्छेहरु सहरबाट गाउँमा गए । होटल, रेस्टुरेन्ट पार्टी प्यालेस, स्कूल सबै बन्द भए । पसलहरु खोल्ने समय पनि बिहान र बेलुका मात्र भयो । यसैले अहिले जम्मा २० प्रतिशत मात्र बिक्री भइरहेको छ ।

चैतको सिजन सुरु हुनेवाला थियो । ६ महिनासम्म सिजन सुरु हुने र त्योभन्दा अगाडि जुन अफ सिजन थियो, त्यतिबेला हामीले पाउडर बनाएर राख्थ्यौं । यो बेलामा १० देखि १५ प्रतिशत दुध अपुग हुन्थ्यो । हामीले पाउडर दुधबाट पूरा गर्ने गरेका थियौं । तर सिजन सुरु हुने बेलामा   लकडाउन सुरु भयो ।  बजार पनि ८० प्रतिशतले घट्यो। स्टक राखेको पाउडर पनि डम्प भयो । देशभरको अवस्था हेर्दा निजी डेरीहरुसँग मात्र ५ अर्ब रुपैयाँको डम्प भएको सामाग्री छ । डेरी क्षेत्रमा निजी क्षेत्रको जम्मा ३० अर्ब छ ।लकडाउनको ६२ औं दिनसम्म आउँदा करिब साढे ३ अर्बको दुध आउन नसकेर नोक्सान भएको छ । हामी करिब ९ अर्ब जतिको नोक्सानमा गैसकेका छौं  । हामीसँग किसानलाई दिने चालु पुँजी पनि स्टप भयो । यसैले किसानलाई भुक्तानी गर्न सकेका छैनौं । बन्द सकिएपछि पनि जहाँसम्म लाग्छ झन् भयाभह अवस्था आउने छ ।   बन्दमाहामीसँग कसैले पनि पैसा मागेका छैनन् । खुलेपछि सबैले माग्नेछन् ।  

व्यावसायिक किसानहरु धेरै मारमा

व्यवसायिक फार्म चलाउने कृषकहरु डबल मारमा छन् ।  नियमित दुध बिक्री गर्न पाएका छैनन् । दैनिक आम्दानी घटिरहेको छ । खर्च बढिरहेको छ । त्यस्ता किसानहरुको लागि पनि राज्यले राहतको प्याकेज ल्याउनुपर्छ । डेरीहरुलाई सहुलियत दरको ब्याजमा अथवा सकिन्छ भने निःशुल्क ब्याजदरमा स्टकमा रहेको सामान बराबरको रकम ऋण दिने व्यवस्था गरिदियो भने किसानको भुक्तानी गर्न सकिन्छ । लकडाउन धेरै समय भयो भने किसानहरुले पशुपालन व्यवसाय छोड्नसक्छन् । आम्दानी भएन भने खर्च गरेर पशुपालिरहने कुरा आउँदैन । कृषकहरु पेशाबाट पलायन भएभने हामीले दुध पाउँदैनौं । त्यो नपाउनु भनेको ५ करोड रुपैयाँ दैनिक सहरबाट गाउँमा जान्थ्यो त्यो ठप्प हुनुहो ।  

किसानहरुको एकमात्र आम्दानीको स्रोत भनेको दुध मात्र हो । अरु भनेको छ महिना अथवा वर्ष दिनको मात्र हुन्छ । दैनिक रुपमा आम्दानी हुने कुरा रोकिँदा समस्या हुन्छ । यसैले हामीले राज्यलाई डेरी क्षेत्रलाई प्राथमिता दिनुपर्छ भनेर भनेका हौं ।  डेरी क्षेत्रमा पाँच लाख कृषक परिवार प्रत्यक्ष संलग्न छन् ।  लकडाउन खुलेर सही व्यवस्थापन गर्न सकियो भने विदेशबाट आउने र यहाँबाट थप हुने बेरोजगारलाई पनि यस क्षेत्रमा लगाउन सक्छौं । 

स्टक समानको व्यवस्थापनमा चुनौती

जस–जसको बिक्री भएको छैन, जहाँ–जहाँ स्टक भएको सामानहरु छन् त्यसलाई उपभोग गर्ने वातावरण मिलाउनु पर्छ । अहिले बंगलादेश लैजाने भन्ने कुरा पनि आइरहेको छ । त्यसलाई चाँडै नीतिगत रुपमा सुल्झाएर पठाउनुपर्छ ।  हामीसँग भएको स्टक सामानको मिति एक वर्षको हुन्छ । अहिलेसम्म छ महिना त गइसक्यो अब हामीसँग छ महिना मात्र बाँकी छ । बिक्री भएन भने सबै सामान फाल्नुपर्ने हुन्छ । यो विषयमा छिटो सहजीकरण गरियोस् भन्ने हाम्रो माग छ । विद्युतमा पचास प्रतिशत छुटको कुरा धेरै वर्षदेखि हामीले भनिरहेका छौं त्यो पाएका छैनौं । हामी तत्काल सम्बोधन होस् भन्न चाहन्छौं । पचास प्रतिशत भ्याट पहिला छुट पाउँथ्यौं अहिले त्यो पनि पाएका छैनौं । हामीले फेरि भ्याट छुट पायौं भने तत्कालको लागि केही राहत हुन सक्छ ।

घरेलु डेरीको समस्या झन् विकराल

  घरेलु डेरीहरु देशभर ६ हजारभन्दा बढी छन्  । जसले ३३ प्रतिशत बजार ओगटेका छन् । बजेटमार्फत डेरीहरु मर्जर गरेर आए भने,गुणस्तर,  लेभलिङ र प्याकेजिङमा फाइदा हुन्छ  । डेरीको स्तरोन्नति हुँदै जान्छ  । नेपालमा साना, घरेलु, मझौला र ठूला गरी चार किसिमका डेरीहरु छन् । ठूला डेरी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने बनाउनुपर्छ  । मझौलालाई ठूलामा परिणत गराउनुपर्छ र साना तथा घरेलुलाईस्तरोन्नति गरेर नयाँ टेक्नोलोजीसँग भिज्ने गरी लेभलिङ प्याकेजमा ल्याउनुपर्छ ।  

व्यावसायिक पशुपालनमा जोड

निर्वाहमुखी पशुपालनलाई व्यावसायिक पशुपालन बनाउनुपर्छ । व्यावसायिक पशुपालन नभएसम्म लागत कस्ट बढ्छ । जसले गर्दा हामी विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । ८० प्रतिशत त दुधमा आत्मनिर्भर भइसकेका छौं । डब्लुएचओको अनुसार पनि ९२ लिटर प्रतिव्यक्ति प्रति वर्ष दुध सेवन गर्नुपर्नेमा अहिले हामी ७२ लिटरमा छौं । अब बाँकी २० लिटर छ ।त्यसलाई पूरा गर्नको लागि जतिपनि विदेशबाट आयातित सामानहरु छ त्यसलाई पूर्णरुपमा बन्द गरिनुपर्छ । डेरी व्यवसाय पनि अहिलेसम्म अत्याधुनिक रुपमा गइसकेको छैन । निर्वाहमुखी तरिकाले सञ्चालन भइराखेका छन् । बजारमा आउन नसकेको दुधलाई कसरी बजारमा ल्याउने भन्ने विषयमा कार्यक्रम आउनुपर्छ । अल्पकालीन रुपमा २ सय किलोमिटरसम्मको दुध उठाउन सक्ने रणनीति बनाउने र दिर्घकालीन रुपमा देशैभरको दुध उठाएर जान सक्ने स्थिति निर्माण गर्नुपर्छ । 

विदेशबाट फर्कनेहरुलाई डेरी उद्यममा लगाउनुपर्छ 

विदेशबाट फर्कने पाँच प्रतिशत मान्छेहरु डेरी सेक्टरमै काम गरेका हुन सक्छन् । हामी अझै २० प्रतिशत आत्मनिर्भर हुन बाँकी छौं । हाम्रा उद्योगहरु अझैपनि ५० प्रतिशतको क्षमतामा चलिरहेका छन् । सत प्रतिशत बनाउन हामीलाई जनशक्ति चाहिएको छ । यसैले विदेशबाट आउने जनशक्त्ति हामीले लिनसक्छौं । सीप नभएका र आधा मात्र भएकाहरुलाई पनि हामी संकलन क्षेत्रमा प्रयोग गर्नसक्छौं । पशुपालन व्यवसायमा लगाउन सक्छौं।

अब बाँझो जमिनहरुमा, कान्लाहरुमा अथवा सार्वजनिक जग्गाहरुमा रुख बिरुवा रोप्ने र दिर्घकालीन उत्पादन दिने कुराहरुलाई प्रोत्साहन गर्नुपर्छ । अन्न, फलफूल, घाँस,  स्याउला उत्पादन बढ्छ र दानामुखी पशुपालनलाई विस्थापित गराउँछ । 

बजारको समस्या छैन

बजारको लागि पनि आर्मी, पुलिस, स्कूलतिर गर्यौं भने दुई लाख लिटर तत्काल हामीले खपत गर्न सक्छौं ।बाईप्रडक्टमा हामी त्यति धेरै गएका छैनौं । डेरीको लागि अहिलेपनि हामी इण्डियाको  धुलोदुध प्रयोग गरिरहेका छौं । त्यता ५ प्रतिशत मार्केट बढाउन सक्छौं । आफैं चकलेटउत्पादन गरेर आयात घटाउन सक्छौं । 

दुधको लाइफ हाम्रो देशमा अधिकतम दुई दिनसम्म छ । त्यसलाई हामी एकमहिना, तीन महिना, छ महिनाको बनाउन प्राविधिक रुपले काम गर्न सक्छौं ।चिस्यान केन्द्रहरु ठाउँ–ठाउँमा स्थापना भएपछि आर्मीको क्याम्प तथा पुलिसका टाढा टाढाका क्याम्पहरुमा पनि सजिलै पुर्याउन सक्छौं ।   

समस्या समाधानमा एसोसिएनको हातेमालो

सबैठाउँमा हाम्रो बाटो राम्रो छैन । विद्युत पनि पुगेको छैन ।  विद्युत नपुगेको ठाउँमा सोलारबाट चिस्यान केन्द्र सञ्चालन गर्न सक्छौं । २५ लाख रुपैयाँ लागतमा चिस्यानकेन्द्र निर्माण गरेर चार पाँच हजार लिटर दुध संकलन गरेर ल्याउन सक्छौं । दश/बीस लाख रुपैयाँ लगानी गर्ने होभने डाँडाँबाट पाइप लगाएर दुधलाई सडकसम्म ढुवानी गर्न सक्छौं । तर अहिलेसम्म त्यस्तो भएको छैन । नेपालमा ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा सार्थक बनाउनको लागि साँच्चै लाग्ने हो भने ५० प्रतिशत योगदान डेरी क्षेत्रले गर्न सक्छ ।

 (नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालसँगको कुराकानीमा आधारित )

Loading...