रुकुम घटना छानविनगर्न संसदीय समिति गठन हुने

काठमाडौं , २३ जेठ ।रुकुम पश्चिको चौरजहारी नगरपालिकाको सोतीमा अन्तरजातिय विबाहको बिषयमा भएको अमानविय अपराधिक घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन हुने भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गर्ने जानकारी गराएका छन ।

सभामुख सापकोटाले रुकुम पश्चिम जिल्लाका चौरजहारी नगरपालिका ८ स्थित सोतीमा १० जेठ २०७७ मा घटेको घटनाबारे पटक पटक संसदका बैठकमा कुरा उठिरहेकोले उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न संसदिय समिति गठन गर्ने जानकारी गराए ।

उनका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने छ ।

प्रतिनिधिसको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका सांसद मात्रै नभई सत्तारुढ दलका दलित सांससदहरुले पनि घटनाको सत्य तथ्य अध्ययनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे आएका थिए ।

संसदीय समिति गठनको प्रक्रिया अघि नबढेपछि शुक्रबारको बैठक सुरुहुने वित्तिकै प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।

लगत्तै सभामुखबाट बोल्ने समय पाएकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले घटनालाई राजनीतिकरण गर्न खोजेकाले प्रतिपक्षी दल संशकित भएको भन्दै संसदीय समिति गठनको माग गरेको बताए ।

घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्ति तथा अपराध अनुसन्धान गर्ने सरकारी निकायका भनाईले पछिल्लो घटना पनि निर्मला पन्तको जस्तै हुने हो कि भन्ने शंका उब्जाएको टिप्पणी सांसदहरुको टिप्पणी थियो ।

अन्तरजातिय प्रेम सम्बन्धको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

उक्त्त अपराधिक घटनाको नेपाल प्रहरी र गृहमन्त्रालयको छानविन टोलीले अनुसन्धान गरिरहेको छ । यसैगरि राष्ट्रिय मानव अधिकार आयोगले पनि बिशेष टोली मार्फत घटना अनुगमन र अनुसन्धान गराइरहेको छ ।

Loading...