लगानी बोर्ड सीईओविहीन

काठमाडौं, २२ जेठ । लगानी बोर्ड प्रमुखविहीन हुँदा पनि नयाँ नियुक्तिका लागि प्रक्रिया शुरू भएको छैन ।

तत्कालीन कार्यकारी प्रमुख महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि नेतृत्वविहीन भएको हो ।

सीईओ नहुँदा बोर्डमा प्रस्ताव भई आर्थिक तथा प्राविधिक जाँचबुझ भइसकेका झन्डै ८० अर्ब रुपैयाँका नयाँ परियोजनाबारे निर्णय हुन सकेको छैन ।

६ अर्ब रुपैयाँभन्दा माथिका स्वदेशी तथा विदेशी लगानी स्वीकृत गर्ने क्षेत्राधिकार पाएको बोर्डमा बन्दाबन्दीपूर्व नै लगानीका सातओटा परियोजनाका प्रस्ताव पेश भएका थिए ।

त्यसमा दुईओटा उद्योग विभागबाट बोर्डमा सिफारिश भएका परियोजना छन् भने अन्य पाँचओटा बोर्डमै सीधै प्रस्ताव गरिएका हुन् ।

चैत तेस्रो हप्तादेखि बोर्डमा प्रमुख कार्यकारी अधिकृत नहुँदा यी परियोजनाबारे निर्णय हुन नसकेको हो ।

सरकारले ठूला लगानीलाई प्राथमिकता दिने बताए पनि हालसम्म नयाँ सीईओ नियुक्त नगर्दा ती प्रस्तावमाथि छलफल हुन सकेको छैन भने बोर्ड बैठक पनि बस्न सकेको छैन ।

Loading...