यसकारण मनाइन्छ विश्व साइकल दिवस

आज ३ जुन अर्थात विश्व साइकल दिवस ।

यस वर्षको विश्व साइकल दिवस तेस्रो संस्करणको हो । अमेरिकी प्राध्यापक लेसेक सिबिलस्कीले आफ्ना समाजशास्त्रका विद्यार्थीसँग मिलेर सुरु गरेको अभियानलाई तुर्कमेनिस्तानसँगै अन्य ५६ राष्ट्रहरुले समर्थन गरेपछि संयुक्त राष्ट्र संघले यसलाई २०१८ मा आधिकारीक मान्यता दिएको थियो । संयुक्त राष्ट्र संघले मान्यता दिएसँगै ३ जुनलाई विश्वभरि साइकल दिवसको रुपमा मनाइन थालिएको हो ।

किन मनाइन्छ विश्व साइकल दिवस ?

नियमित शारीरिक गतिविधि जस्तै हिँड्ने, साइकल चलाउने र खेल्ने कार्यले मानिसको स्वास्थ्यमा धेरै फाइदाहरु पुग्ने गर्छ । सबै उमेर समूहका लागि, शारीरिक रुपमा सक्रिय हुनु भनेको स्वास्थ्यमा फाइदासँगै सम्भावित हानिबाट जोगिनु पनि हो । केही नगरी बस्नुभन्दा सजिलो तरिकाको शारीरिक गतिविधि गर्नुले मानिसलाई स्वास्थ रहन धेरै मद्दत गर्छ । दिनभरि सक्रिय हुन सके मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावना ज्यादै कम हुन्छ । र, यस्तो व्यस्त जीवनमा शारीरिक रुपमा सक्रिय रहँदै स्वस्थ रहन साइक्लिङले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

साइकल कुदाउनुको फाइदा मानिसको शारीरिक तन्दुरुस्ती मात्र नभई वातावरणीय हिसाबले पनि उत्तम रहेको विभिन्न अध्ययनले समेत पुष्टि गरिसकेको छ । कुनै पनि राष्ट्रले साइकल कुदाउन मिल्ने गरी सडक निर्माण र साइकल कुदाउने मानिसमा लगानी गर्ने हो भने यसले राष्ट्रको बजेटसँगै नागरिकको जिवन पनि जोगिने अध्ययन, अनुसन्धानले देखाएको छ । यसले वातावरणको संरक्षण, गरिबी निवारणमा समेत सहयोग गर्ने सक्ने देखिन्छ ।

सहरमा जनसंख्याको वृद्धिसँगै उत्पन्न हुन सक्ने यातायातको समस्यामा पनि साइकल समाधानको उपाय हुन सक्छ । यसले वायु प्रदूषण उल्लेखनीय मात्रामा कम त गर्छ नै साथै सडक दुर्घटनामा पनि व्यापक सुधार गर्ने निश्चित छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार पैदल यात्रु हिँड्ने र साइकल चलाउने पूर्वाधार स्वास्थ्य राष्ट्रको एक पहिचान र अनिवार्य आवश्यकता हो ।

सडक सञ्जालको राम्रो पहुँच नभएको र आर्थिक रुपमा विपन्न परिवार बसोबास गर्ने क्षेत्रका मानिसहरुलाई साइकल एक यातायातको साधनसमेत हो । यसका अलवा हिँड्ने र साइक्लिङ गर्नुले मानिसहरुमा हुन सक्ने हृदयघात, स्ट्रोक, क्यान्सर (विशेष किसिमका), मधुमेह र मृत्युको जोखिम कम गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

सुधारिएको व्यवस्थित यातायातको साधनहरु सुविधाजनक भएपनि स्वास्थ्यको दृष्टिले खासै लाभदायक हुँदैनन् । यता, साइकलको विषयमा हेर्ने हो यसको खरिदमा कम लगानी हुनेसँगै यो सबैको लागि सहज, सजिलो र उपयोगीसमेत छ ।

साइकल टिकाउ, विशिष्ट हुनुको साथै यसको बहुउपयोगी गुणलाई देखेर नै मानिले यसलाई दुई शताब्दीदेखि प्रयोग गरिरहेका छन् । यो सरल, किफायती, भरपर्दाे र वातावरण सुहाउँदो पनि छ ।

साइकल दीगो यातायातको साधन, वातावरणीय हिसाबले पनि उपयोगी र यसको प्रयोगले मानिसको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको हुँदा ३ जुनलाई विश्व साइकल दिवसको रुपमा घोषणा गरिएको र मनाउन थालिएको हो ।

दिवसले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुको विकासमा बढावा दिन, शिक्षालाई सुदृढीकरण, बालबालिका र युवाहरुका लागि स्वास्थ्य शिक्षा, रोगलाई रोकथाम, सहिष्णुता र पारस्परिक समझदारी र सम्मान र सामाजिक समावेशीकरणको सुविधाको लागि साइकलको प्रयोगलाई जोड दिन प्रोत्साहन गर्छ । यतिमात्र नभई संघले विश्व साइकल दिवसलाई शान्तिको संस्कृतिसमेत भन्ने गरेको छ ।

साइकल नै किन ?

– साइकल सजिलो, सस्तो, भरपर्दाे र वातावरण सुहाउँदो यातायातको साधन हो ।
– साइकल विकासको साधनसमेत हो । यसले यातायातको अलावा शिक्षा, स्वास्थ्य सेवा र खेलकुद क्षेत्रको विकास र पहुँचमा समेत सहयोग पु¥याउँछ ।

– साइकल र प्रयोगकर्ताबीचको तालमेलले रचनात्मकता र सामाजिक संलग्नतालाई बढावा दिन्छ । साथै प्रयोगकर्तालाई स्थानीय वातावरण, समाजसँग तत्काल सम्पर्क गराउँछ ।

– साइकल दीगो यातायातको साधनसमेत हो । यसले दीगो खपत र उत्पादनलाई बढावा दिन सकारात्मक सन्देश दिन्छ । साथै यसको प्रयोगले जलवायुमा सकारात्मक प्रभाव पर्न जान्छ ।

विश्व साइकल दिवसको लोगो र यसको सन्देश

विश्व साइकल दिवसको लागि बनाइएको लोगो आइज्याक फेल्डद्वारा डिजाइन गरिएको हो र यसमा थप एनिमेसन प्राध्यापक जोन ई स्वानसनले गरेका हुन् । लोगोले संसारभरका विभिन्न साइकल चालकहरुको प्रतिनिधित्व गर्छ । लोगोको तल ह्यास्ट्यागसहित ‘जुन ३ विश्व साइकल दिवस’ लेखिएको छ ।

लोगोले व्यक्त गर्न खोजेको मुख्य सन्देश ‘साइकल सबैको लागि हो र यसले मानवताका लागि सेवा गर्छ’ हो ।

Loading...