पहिले जस्तो व्यापार छैन : गुद्री व्यापारी

बबिता लिम्बू
विराटनगर, २१ जेठ । सारिएको नयाँ गुद्री बजारमा व्यापार घट्न थालेको व्यापारीहरूले गुनासो गर्न थालेका छन् । लकडाउन सुरु हुनुभन्दा केही दिनअघि मात्र विराटनगर–११ स्थित बर्सपार्क छेउमा व्यापारीहरूले गुद्री बजार सञ्चालनमा ल्याएका थिए ।

पहिले विराटनगर–७ मा रहेको गुद्री बजार, ठाउँ अव्यवस्थित भएको कारण देखाउँदै महानगरले कटहरीमा सार्न प्रस्ताव गरेको थियो । तर ठाउँ टाढा भएको कारण देखाउँदै व्यापारी मिलेर नयाँ बजारको आफैंले व्यवस्थापन गरेका थिए ।

पुरानो गुद्री बजारमा हुने जस्तो व्यापार अहिले सारिएको बजारमा नहुने व्यापारी गोपाल शाह बताउँछन् । बेच्न राखेको कागतीले भरिएको डालो देखाउँदै शाह भन्छन्, ‘कोरोना महामारी त्यसमाथि यस्तो लकडाउन छ । मान्छे नै आउँदैनन् कसरी बिक्री गर्ने ।’ कागतीको मात्र व्यापार गर्ने शाह लम्बिँदो लकडाउन र व्यापार नहुनाले गाह्रो परेको बताउँछन् ।

‘व्यापारको हालत यस्तो छ,’ शाह भन्छन्, ‘सुरुआती दिनमा त निकै नै बिक्री हुन्थ्यो । देशमा लकडाउन भइहाल्यो । पुलिसले भीड देख्यो कि गाली गर्न थालिहाल्छन् ।’

चहलपहल कम भएको गुद्री बजारका तरकारी पसल पनि औंलामै गन्न सकिन्छ । लकडाउन अघि मानिसको भीड हुने गुद्री बजारमा आजभोलि तरकारी व्यापारी र पसल मात्र देखिन्छन् । ग्राहक फाट्टफुट्ट मात्र आउने व्यापारीहरू बताउँछन् ।

बबिता मण्डल गुद्री बजारकी पुरानै व्यापारी हुन् । पहिले उनी टमाटरको मात्र व्यापार गर्थिन् । तर टमाटरबाट मात्रै फाइदा नहुने भएपछि अहिले उनले पसलमा टमाटर, आलु, अदूवा, लसुन, खोर्सानी पनि बेच्न राखेकी छिन् । तरकारी थप्दा पनि व्यापार राम्रोसँग नचलेको उनको अनुभव छ ।

‘पहिले रात अबेरसम्म पनि बजार चल्थ्यो अहिले लकडाउन छ धेरैबेर बस्न पाइँदैन त्यहीमाथि थोरै ग्राहक आउँछन्,’ मण्डल भन्छिन्, ‘व्यापारमा घाटा त भएको छैन तर फाइदा खासै छैन ।’

खरिदमूल्य र बिक्रीमूल्य बराबर भएकाले आम्दानी खासै नहुने मण्डल बताउँछिन् । ‘दिनभर ग्राहक आफ्नो दोकानमा आउलान् कि भन्दै पर्खेर बस्नुपर्ने अवस्था छ,’ मण्डल भन्छिन्, ‘लकडाउनभरि त व्यापार यस्तै होला !’

Loading...