चुजीले गर्‍यो स्वास्थ्य मन्त्रालयलाई भेन्टिलेटर सहयोग

काठमाण्डौ, २१ जेठ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीहरुको उपचारको लागि चुजी फाउण्डेशनले सहयोग गरेको हो ।

हेल्थ इन्भायोरोमेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको छ ।

यसबाहेक पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले जानकारी दिए । १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा बिरामीको उपचारलाई ध्यान दिँदै भेन्टीलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशि व्यक्त गरे ।

संक्रमण दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गरी अति संवेदनशील बिरामीलाई मात्र अस्पतालमा उपचार गरिने मन्त्री ढकालले बताए । सामान्य लक्षणसमेत देखा नपरेका संक्रमितहरूलाई क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरमा उपचार गरिने मन्त्री ढकालको भनाइ थियो ।

पछिल्लो समय देशभर २ हजार २ सयभन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ । कोभिड–१९ संक्रमणका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टीलेटर सेवासहितको उपचार कक्ष आवस्यक पर्छ ।

तर त्यसका लागि अहिलेसम्म आवश्यक तयारी भने गरेको देखिँदैन् । मन्त्री ढकालले मन्त्रालयले उपचारको तयारीलाई तीब्रता दिएको अवस्थामा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग प्राप्त हुँदा आफूहरूको मनोबल बढेको बताए ।

Loading...