कोरोनाविरुद्धको खोप यस वर्षको अन्तिमसम्ममा उपलब्ध हुन्छ : आर्मी अनुसन्धानकर्ता

एजेन्सी, २१ जेठ । कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा अमेरिकाका केही ठाउँहरूमा उपलब्ध हुने सम्भावना देखिएको बताइएको छ ।

सैन्य संक्रामक रोग अनुसन्धान कार्यक्रमका निर्देशक कर्णेल वेन्डी सामोन्स–ज्याक्सनले यो वर्षको अन्त्यसम्म केही अमेरिकीका लागि खोप उपलब्ध हुन सक्ने बताएका हुन् ।

ज्याक्सनले मंगलबार पेन्टागनमा भएको ब्रिफिङ्गको क्रममा खोपको केही स्वरुप यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुनसक्ने अपेक्षा गर्नु सान्दर्भिक रहेको बताए ।

आर्मीका अर्का अनुसन्धानकर्ता डा. केभिओन मोजारडका अनुसार कोरोना भाइरसबारे वैज्ञानिकहरूले बारेमा विगतमा अन्य संक्रामक रोगहरूभन्दा द्रुत गतिमा सिकिरहेका छन् ।

खोपको तेस्रो चरणको परीक्षणको तयारी भइरहेको हुँदा खोप बन्न अब केही महिना मात्रै लाग्ने कुरामा आफू अति आशावादी रहेको उनी बताउँछन् ।

रोयटर्समा उल्लेख गरिएअनुसार अमेरिकी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर खोप बनाउन काम गरिरहेको छ ।

अमेरिकी आर्मीका अनुसन्धानकर्ताले यही गर्मी महिनाको अन्त्यसम्ममा खोप परीक्षण गर्न लागेको बताइएको छ ।

Loading...