४ सय बढी विपन्नहरूलाई अनुपविक्रमको सहयोग

विराटनगर, २१ जेठ । कोरोना सङ्क्रमणको जोखिमका कारण भएको लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको बेला चर्चित अभिनेता अनुपविक्रम शाहीले सहयोगको हात बढाएका छन् ।

सामाजिक अभियन्ता रमेश केसीको अभियानमा जोडिँदै मंगलबार राजधानीका विभिन्न क्षेत्रमा पुगेर अनुपले खाना वितरण गरेका हुन् ।

अनुपले चक्रपथ, बसुन्धारा, कमलादी, टुंडिखेल खुल्लामञ्चलगायतका ठाउँमा पुगेर ४ सय बढीलाई खाना खुवाएका हुन् ।

बिहान बेलुका हातमुख जोड्नसमेत अफ्ठ्यारोमा परेका श्रमिक, सडक वालवालिका, रिक्सा चालक, ठेला चालक, अशक्तहरूसँगै परिवारविहीन बनेर बेसहारापूर्ण जीवन बिताइरहेका धापासीस्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल संस्थामा रहेका बालबालिकाहरूलाई आफैं भेटेर अनुपले खाना खुवाएका छन् ।

यसअघि पनि अनुपले समुदायमा विभिन्न खाद्धन्न वितरण गर्ने, प्रहरी प्रशासनसँग जोडिएका व्याक्तिहरूलाई पनि सहयोग गर्दै आएका छन् ।

सरकारलाई भन्सार र करको पछि लाग्दै फुर्सद नभएको र सरकारी स्तरबाट ठोस सहयोग नपुगे पनि युवाहरू जुटेरै भएपनि समाजमा रहेका भोका नाङ्गाहरूलाई उद्धार गर्नु पर्ने बताउँदै हामीले नगरे कसले गर्ने भनी प्रश्न गरेका छन् ।

साथै, यो हप्ताभित्र बसुन्धारा क्षेत्रमा बसोबास गर्ने ४० देखि ५० जनासम्म विपन्न बालबालिकाहरूलाई ३ महिनासम्म पुग्ने खाद्यान्न सामाग्री वितरण गर्न लागेको बताएका छन् ।

उनले यस प्रकारको सहयोगलाई निरन्तरता दिने र आफ्ना आफन्त र साथीभाइबाट पनि सहयोग जुटिरहेको बताएका छन् ।

Loading...