प्रदेशमा किटको अभाव हुन नदिन सांसदहरुको ध्यानाकर्षण

काठमाण्डौ, २० जेठ । प्रदेशहरुमा कोरोना परीक्षण किटको अभाव हुन नदिन राष्ट्रियसभा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभामा मंगलवारको बैठकमा शून्य समयमा बोल्दै सदस्य सांसदहरुले प्रदेशहरुमा किट अभाव हुँदा भारतबाट आउनेहरुलाई विना परीक्षण नेपाल प्रवेश गराउन बाध्य भैरहेको भन्दै सरकारको ध्यान आकर्षण गराएका हुन ।

राष्ट्रियसभा सांसद इन्दु कडरियाले भारतबाट फर्किनेहरुको कुनै परीक्षण नगरी गाउँ फर्किने क्रम बढेको बताइन ।

उनले लक डाउनको समयमा बढाएर देशमा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले आगामी दिनमा लक डाउनको मोडालिटी परीवर्तन गर्न आग्रह गरिन ।

सांसद कोमल वलीले प्रदेश नम्बर ५ मा संक्रमणको दर उच्च रहेपनि परीक्षण किटहरुको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन ।

उनले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जान नसकेको भन्दै ध्यान आकर्षण गराइन ।

सांसद तारादेवी भट्टले सुदूरपश्चिममा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नुहँदा संक्रमणको दर बढिरहेको जानकारी गराइन ।

Loading...