नेपालमा यसरी फेरिंदै छ लकडाउनको ढाँचा, आज उच्चस्तरीय समितिको बैठक

काठमाडौं २० जेठ । सरकारले लकडाउनको ढाँचा परिवर्तनको तयारी गरेको छ ।

लकडाउन कोभिड–१९ संक्रमण रोकथामको एक मात्र उपाय होइन भन्ने निष्कर्ष निकाल्दै यसको ढाँचाका विषयमा छलफल भइरहेको बताइएको छ ।

मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

त्यही निर्देशन अनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् ।

उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइका अनुसार विशेषज्ञहरूको राय लिएर नयाँ मोडालिटी बन्दैछ ।

‘लकडाउन अब क्रमश सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको छ,’ उनले भने ‘यसको माडालिटीमा छलफल भइरहेको छ ।’

अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् ।

नेपालसँगै लकडाउन सुरु गरेको भारतले सार्वजनिक यातायातलगायत सबै खुला गरिसकेको छ ।

नेपालमा भने लकडाउनको विकल्प नसोची अघि बढेपछि नागरिक तहबाट सरकारको विरोध भइरहेको छ ।

अब पनि यथास्थितिमा लकडाउन बढाउँदै लैजाँदा थप समस्या बढ्ने र त्यो धान्न नसकिने आकलन सरकारी अधिकारीहरूले गरेका छन् ।

सीसीएमसीले अहिलेको अवस्था विश्लेषण गरिरहेको छ ।

त्यसअनुसार उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा बन्दै छ । सम्भवत मंगलबार उच्चस्तरीय समितिको बैठक बस्छ ।

Loading...