जातीय आधारमा गरिने भेदभाव उन्मुलन गरिनुपर्छ

सुजना बर्देवा

मानवमा जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग, अनि क्षेत्रका आधारमा गरिने भेदभाव नै जातीय विभेद हो । जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पाटीपौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिने, प्रतिबन्ध लगाउने, बहिष्कारमा पारी दुर्व्यवहार गर्नु नै छुवाछुत हो ।

यो सामाजिक अपराध हो । जातीय भेदभाव तथा छुवाछूतविरुद्धको कसुर मानव मर्यादाविरुद्धको कसुर हो । सामान्ती राज्य सत्ताका कारण एउटै मानव जातीमाथि शोषण, दमन गरी आफ्नो राज्यसत्ता टिकाइराख्ने उद्देश्यले विभिन्न जातजातिको नामाकरण गरिएको छ ।

पेशाकै आधारमा उँचो–निचो जाति बनाए । सुन फलामको काम गर्नेलाई कामी, सुनार, लुवार, लुगा सिलाउने, बाजा बजाउनेलाई दमाई र जुत्ता सिलाउनेर्ला सार्की भन्ने जस्तै काम र पेशाको अनुसार जाति बनाई अछुत जातीको घोषण गरी जातीय छुवाछुत तथा विभेदलाई बढवा दिएका छन ।

मानव प्रजातीलाई जातमा वर्गीकरण गरेर भेदभाव गर्ने कुसंस्कारको कारणले गर्दा अहिलेसम्म पनि हामीले छुवाछुत प्रथा भोग्दै आएका छौं । नेपालको संविधान र कानूनमा छुवाछुत गर्नु सामाजिक अपराध हो भनी घोषण गरिएपनि छुवाछुत र दलितमाथिको उत्पीडन तथा भेदभाव हटेको छैन । सैद्धान्तिक हिसाबले छुवाछुत र जातिय भेदभावविरुद्ध विभिन्न कालखण्डमा सरकारहरूले धेरै थोरै बोले पनि कार्यन्वयन निकाय कमजोर हुँदा ब्यवहारिक रूप दिन सकेनन् । फेरि पनि उत्पीडन रोकिएको छैन । अझै भन्नुपर्दा संविधानको खोष्टामा जे जस्तो लेखेको भएपनि, गणतन्त्र नेपालले अझै पनि छुवाछुत भेदभाव काँधमा बोकेर हिँडिरहेको छ । गलत सामाजिक भेदभावविरुद्ध कानूनी प्रावधान बलियो बनाइसकेको भएपनि लागू हुुन सकेको छैन । फेरि पनि दलितमाथिको अन्याय अत्याचार, छुवाछुत, भेदभाव र गलत संस्कृतिका विरुद्ध जनचेतना फैलाउन अनिवार्य छ । हामी सबै जागरुक भएर एकजुट हुन आवश्यक भएको छ ।

२१औं शताब्दी र गणतन्त्र मुलुकका दलित समुदाय उस्तै उत्पीडनबाट मुक्ति पाउन सकेका छैनन् । देशमा दलितमाथिको छुवाछुत, भेदभाव जारी छ । राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक उत्पीडन बढदो छ । दलित समुदायलाई सत्तामा पुग्ने भ¥याङ्ग बनाइएको छ । दलितमाथि कुटपिट, भेदभाव, हत्या हिंसाका घटनाहरू धेरै भएका छन् । दोषीमाथि कडाभन्दा कडा कारवाही गरी पीडितलाई न्याय दिइने कुरामा समेत राज्य चुकेको छ ।

कुसंस्कार हटाउन राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिहरूको पूर्ण कार्यान्वयनमा जोड दिनुका साथै सकारात्मक तरिकाबाट जनचेतना जगाउने काम गर्नुपर्छ । समाजमा सबैलाई समान व्यवहार गरेर एकाकार हुनका लागि जनप्रतिनिधि र सरोकारवाला निकायले अन्तरघुलन जस्ता कार्यक्रममा जोड दिनुपर्ने देखिन्छ । जातीय भेदभाव तथा छुवाछुतजन्य व्यवहार गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउनु नितान्त आवश्यक छ ।

विदेशीसँग हाम्रा छोरा, छोरी बिहे गर्दिनको लागि जात धर्म वर्ग आवश्यक पर्दैन तर नेपाली–नेपालीबीच विवाह गर्न हाम्रो लागि जात तगारो बन्छ । हामी अर्को धर्मका विदेशीलाई खुशी–खुशी घर भित्र्याउन, हाम्रा मन्दिर, कुल देवता, चुलो चौकामा लान सक्छौं तर तथाकथित दलितलाई भेदभाव गर्छौं । हामी नेपाली कुन संस्कारमा छौं, सोच्नु पर्ने समय आएको छ ।

हामी कामीले बनाएको भाँडामा खाना बनाउछौं, कामीले बनाएको गहना लगाएर सजिन्छौं, कामीले बनाएको मूर्तिलाई पूजा गरेर धर्म कमाउछौं, दमाइले सिलाएको कपडा लगाएर आफ्नो शरीर ढाक्छौं, दमाइले बजाएको बाँजामा नाच्छौँ भने सार्कीले सिलाएको जुत्ता लगाएर हिँड्ने गर्छौ । उनीहरूको सीप चल्ने, पौरख चल्ने तर पानि नचल्ने आखिर किन ? जातीय विभेदविरुद्ध आवाज उठाउनुपर्छ, जनचेतना जगाउनुपर्छ । समयसँगै धेरै कुरा परिवर्तन भयो तर नेपाली सोचमा कहिले परिबर्तन आएन अझ कति तथाकथित दलितले जातको आधारमा ज्यानको बलिदान दिनुपर्ने हो थाहा छैन, कति दमाइ कामी सार्की मारिने हुन् ।

सरकार, हाम्रो देशमा लोकतन्त्र आयो गणतन्त्र आयो, आमूल परिवर्तन भयो भनेर नारा जुलुस पनि ग¥यौं खुशी मनायौ तर जातीय भेदभाव अन्त्य भएको खोइ ? आज जातीय विभेदकै कारण कतिले अकालमै मारिनु परेको छ भने कतिले आत्महत्या गर्न बाध्य हुनु परेको छ । सरकार अति भयो जातको आधारमा भेदभाव, जातको आधारमा छुवाछुत, यसको लागि कि त कानुनलाई कार्यान्वयन गरेर हरेक प्रकारको भेदभाव रोक्नुपर्छ नत्र फेरि उत्पीडित जनसमुदायले अर्को जनआन्दोलन सुरु गर्नुपर्ने अवस्था आउन सक्छ तसर्थ सरोकार निकायको ध्यान यथासक्य पुग्न जरुरी छ ।

हामीमा कुनै पनि फरक छैन भनी बुझाउनका लागि प्रचार–प्रसार गर्न लगाई जनचेतना जगाउनु आजको आवश्यकता र समयको माग हो । मानव मानव भएर बाँच्न पाउनु नै छुवाछुतको अन्त्य गर्नु हो । त्यसैले हामीले यस कुप्रथाविरुद्ध बुलन्द आवाज उठाउन जरुरी छ भने सरकार र समाजलाई चेतावनी दिँदै परिवर्तनको धारमा एकढिक्का भएर उभिनु पर्छ । आजको एकतानै भोलिको सामाज परिवर्तनको मुख्य सम्बाहक हुनेछ । हामीलाई कुनै पनि जातीय भेदभाव र छुवाछुत स्वीकार्य छैन र यसको विरुद्ध हामि आवाज उठाउने छौं अनि कुरीति कुसंस्कारविरुद्ध लड्ने छौं । धन्यबाद

(लेखिका सुजना बर्देवा मोडल तथा सौन्द्धर्यकर्मी हुन्)

Loading...