भारतबाट छोरासँगै आएकी थिइन् विराटनगरकी संक्रमित महिला

विराटनगर, १८ जेठ । विराटनगरकी कोरोना संक्रमित महिला छोरासँगै भारतबाट आएको खुलेको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएकी ४५ वर्षिय महिला भारतबाट छोरासँगै विराटनगर आएकी थिइन् । उनी विराटनगर १२ की बासिन्दा हुन ।

विराटनगर आउने क्रममा उनलाई रानी नाकाबाट ल्याएर क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण पुष्टि भएपछि काेशी अस्पताल काेभिड १९ उपचार केन्द्रमा भर्ना गरिएकाे छ ।

‘अस्ती (१५ जेठमा) आउँदै गर्दा बाटोबाटै क्वारेन्टाइनमा लगेका थियौं ।’ विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने ‘आमाको रिपोर्ट पोजेटिभ आयो, छोराको नेगेटिभ आयाे ।’

संक्रमित महिलालाई नेपाल प्रवेश गर्ने वितिकै क्वारेन्टाइनमा राखेका कारण बाहिर जाेखिम नभएकाे उनले बताए ।

छोरोको कोरोना रिपाेर्ट नेगेटिभ आए पनि सोमबार पून परीक्षण गरिने उनले बताए ।

आइतबार एजनामा संक्रमण देखिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

क्वारेन्टाइनमा ६६, ३७० जनाको पीसीआर परीक्षण

स्वास्थ्य महाशाखा प्रमुख कार्कीका अनुसार विराटनगर महानगरपालिकाले सञ्चालन गरेका क्वारेन्टाइनमा ६६ जना बसिरहेका छन् ।

बैजनाथपुर क्वारेन्टाइनमा १४ जना, अतिथी सदनमा ३० जना र काली मन्दीर धर्मशालामा १२ जना बसिरहेका हुन । क्वारेन्टाइनमा बस्नेहरूकाे परीक्षण जारी छ ।

कार्कीका अनुसार विराटनगर महानगरपालिकाले आइतबारसम्म ३ सय ७० जनाको पीसीआर जाँच गरेको छ । जसमध्ये तीनजनाको मात्र पोजेटिभ देखिएको छ । महानगरले ४०१ जनाकाे आरडीटी परिक्षण गरेकाे छ ।

Loading...