बजेट वक्तब्य : सामुदायिक विद्यालय निजीलाई जिम्मा दिने कार्यक्रममा शिक्षा मन्त्रीकाे असन्तुष्ठी

विराटनगर, १८ जेठ । सरकारले माध्यमिक स्तरको निजी विद्यालयले एउटा सामुदायिक विद्यालयको जिम्मेवारी लिनुपर्ने कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रीले घुमाउरो शैलीमा असहमति व्यक्त गरेका छन ।

सामुदायिक विद्यालय निजीको जिम्मा लगाउने सरकारी कार्यक्रममा आलोचना भइरहेको छ । आइतबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको पूर्वधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने कार्यक्रम मन्त्रालयकाे नभएकाे बताउँदै साे कार्यक्रमप्रति घुमाउराे रूपमा असन्तुष्ठी व्यक्त गरेका हुन ।

आर्थिक वर्ष २०७७– ७८ को बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामाग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

मन्त्री पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढीकरणका निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पूरक कार्यक्रमका रुपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचालन गरिने उनले बताएका छन् ।

विज्ञप्तिमा पोखरेलले भनेका छन् ‘निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेका विषयमा सहयोग गर्नेसम्मको दायित्व र भूमिका निर्वाह गर्नु उचित हुन्छ ।’

Loading...