बिद्युतिय सवारीमा भन्सार बढाएको भन्दै नाडाको आपत्ति

काठमाण्डौ १८ जेठ । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारले विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै आपत्ती जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा भन्सार दर बढाएकोले व्यावसायीको लगानी डुब्ने अवस्था आएको भन्दै आपत्ती जनाएको हो ।

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने बताए ।

उनका अनुसार सरकारले विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीहरुले लगानी बढाएको अवस्थामा फेरी पेट्रोलियम सवारी साधनहरुमा जस्तै कर लगाउँदा सवारी साधनको मूल्य महँगो पर्न जाने भएकाले व्यवसायीहरुको लगानी डुब्ने खतरा बढेको प्रस्टपारे ।

‘कर बढाउँदा सवारी साधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने हुने भएकाले व्यवसायीहरुको लगानी डुब्ने पक्का छ ’, अध्यक्ष दुलालले भने ।

विद्युतीय सवारीको कर बढाउँदा मूल्य बढन्े र विद्युतीय सवारी साधन कसैले पनि प्रयोग नगर्ने भएकाले विद्युत खपत पनि नबढ्ने अध्यक्ष दुलालको भनाई छ ।

उनले देश भित्र उत्पादित बिद्युतको खपत बढाउनका लागि पनि विद्युतिय सवारी साधनमा कर वृद्धि गर्न हुदैन भने ।

यस्तै कोरोना भाइरस रोकथामका लागि लामो समय लकडाउन गरिदा उद्योग व्यवसाय उठनै नसक्ने अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई जोगाउन लकडाउन खोल्नुपर्ने उनको सुझाव छ ।

अध्यक्ष दुलालले भने , ‘लकडाउन हैन अब स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्दै व्यवसायीक कारोबारलाई सञ्चालनमा ल्याउन आवश्यक छ ।’,

Loading...