क्वारेन्टाइनमै कुटिए प्रहरी

सप्तरी, १७ जेठ । क्वारेन्टाइनमा खटिएका प्रहरी कुटिएका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका एक प्रहरी जवान कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा कुटिएका हुन ।

क्वारेन्टाइनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी जवान कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ ।

कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा प्राथमिक उपचारपछि घाइते साहलाई उपचारका लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिनबाट रोक्न एकान्तबासका लागि बनाइएको क्वारेन्टिनमा भारतलगायत बाहिरबाट आएकालाई सुरक्षित राखिए पनि परिवारका सदस्य र गाउँले आएर अनावश्यक भिडभाड गर्ने गरेका प्रहरीको गुनासो छ ।

क्वारेन्टाइनमा बसेकालाई भेटघाट गर्न आएका मानिस टाँसिएर कुराकानी गरिरहेका देखि दूरी कायम राखी अलग्गै बस्न भनेकामा क्वारेन्टाइनमा बसेका र उनलाई भेटन आएका मिलेर बाँसको लाठीले समेत कुटपिट गरेका थिए । रासस

Loading...