कोरोना महामारीकाबीच अमेरिकामा रंगभेद आन्दोलनको आगो

विराटनगर, १७ जेठ । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिमा पछिल्लो समय रंगभेदी आन्दोलनको आगो सल्लिएको छ ।

प्रहरीको दुर्व्यवहारका कारण काला जातीका मानिसको मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । महामारीसँगै रंगेभेद विरुद्धको देशभर प्रदर्शन भइरहेकाे छ ।

अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर कालाजातीका अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि हिंसा भड्किएको हो । आक्रोशित मानिसले आगजनी र प्रदर्शन गरिरहेका छन् ।

हतकडी लगाइएका ती युवकको घाँटीमा प्रहरीले घुँडा धेरैबेर थिचेका थिए । थिचेका कारण उनले शास फेर्न गाह्रो भयो भन्दै पटक पटक याचना गरेका थिए । तर २० डलर नक्कली भएको आशंकामा प्रहरीले युवकलाई थिचिरहे । तर शुक्रबार उनकाे मृत्यु भयाे ।

सिंगो अमेरिकालाई आन्दोलित बनाउने गरी सार्बजनिक भएको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा थिचेका छन् । धेरै समय थिचेका कारण उनको उपचारकै क्रममा मृत्यु भएको थियाे ।

घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविनलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको बताइएको छ ।

घटना पछि आक्रोशित भएका प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका थिए ।

हिंसाले उग्र रुप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी शहरभर निषेधाज्ञा जारी गरेका थिए । तर हजारौं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएर आगजनी र प्रदर्शन गरिरहेका छन् ।

वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलस लगायतका ठूला अमेरिकी शहरहरूमा आन्दोलन भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको स्थितिमा द्रुत सेना परिचालनको विकल्पमाथि विचार गर्न आग्रह गरेका छन् ।

राष्ट्रपतिको आदेशमा विद्रोह नियन्त्रण ऐन १८०७ अन्तर्गत सेना परिचालन हुने व्यवस्था छ । यसअघि यो कानुन सन् १९९२ मा लस एन्जलसमा हिंसा भड्किएपछि लगाइएको थियो ।

एजेन्सीकाे सहयाेगमा

Loading...