कचनकवलमा मात्र संक्रमितको संख्या एकसय

विराटनगर, १७ झापा । झापाको कचनकवल गाउँपालिकामा मात्र कोरोना संक्रमितको संख्या एकसय पुगेको छ ।

भारतबाट आएका तीनसय जनाको स्वास्थ्य परीक्षण गर्दा शुक्रबारसम्म एकसय जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

भारतबाट आएकाहरुलाई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ । तर क्वारेन्टाइन व्यवस्थीत नहुँदा क्वारेन्टाइनबाटै कोरोना संक्रमण फैलने जोखिम छ ।

कोरोना महामारी सुरु भएपछि गाउँपालिकाले २५ जना क्षमताको एउटा मात्र क्वारेन्टाइन बनाएको थियो ।

बैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो । भारतबाट आएकाहरुलाई विद्यालयको एउटै कोठामा दशजनासम्म राखिएको थियो ।

‘हाम्रो सुरुको आकलन २०–२५ जना आउलान भन्ने थियो ।’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादव भन्छन् ‘ संक्रमितको संख्या नै एकसय पुग्यो ।’

गाउँपालिकाले सबै ठूला ६ वटा विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ । ती विद्यालयमा बस्नेका लागि व्यवस्थीत शौचालय छैनन् । एउटै कोठामा खादिएर बस्नुपर्ने अवस्था छ । अब आउनेलाई कहाँ राख्ने भन्ने चिन्ता थपिएको यादव बताउँछन् ।

कचनकवलको महेन्द्ररत्न मावि केचनाको क्वारेन्टाइनमा बसेका ९९ जनामध्ये ५२ जनालाई कोरोना संक्रमण देखिएको । शुक्रबार संक्रमण पुष्टि भएका २७ जना सोही क्वारेन्टाइनका हुन । बिहीबार २५ जनामा कोरोना देखिएको थियो ।

पाठामारीस्थित जानकी आधारभुत विद्यालयको क्वारेन्टाइनका ५७ जनामध्ये २३ जनामा संक्रमण देखिएको थियो ।

भारतबाट आएकालाई सिधै क्वारेन्टाइनमा राखेका कारण बस्तीमा संक्रमण नदेखिएको उनले बताए । भारतमा रेलसेवा सुरु भएसँगै भारतबाट ३३५ जना मानिस आइपुगेका छन ।

झापामा शुक्रबारसम्म १०७ जनालाई संक्रमण देखिएको छ । ती मध्ये २ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ । ती मध्ये ३० जना उपचारपछि घर फर्किएका छन् ।

Loading...