प्रदेश नं २ मा मात्र ४९६संक्रमित

जनकपुर, १६ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक ५० वर्षीया महिला, सर्लाहीको कोडैना गाउँपालिकास्थित क्वारेन्टिनका दुई पुरुष, मलङ्गवाकी एक महिलासहित दुई गरी सर्लाहीबाट चार जना थपिएका छन् ।

त्यस्तै, रौतहटको राजपुर नगरपालिकाको फरहदवास्थित क्वारेन्टाइनको ५० जना, बोधीमाइ नगरपालिकाको सरमझुवा क्वारेन्टाइनका दुई जना, मौलापुरको छ जना र इशनाथ नगरपालिकाको डुमरिया माविस्थित क्वारेन्टाइनको दुई महिलासहित १५ गरी रौतहटबाट ७३ जना, बाराको पचरौटा गाउँपालिकाको चार जना, पर्साको जिराभवानी गाउँपालिकाबाट एक र पोखरिया नगरपालिकाबाट आठ जना गरी नौजना कोरोना सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो समयमा सङ्क्रमित थपिएपछि सप्तरीमा ३४, सर्लाहीमा ४५, धनुषामा ४२, रौतहटमा १८२, बारामा ५३ र पर्सामा ९८ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने सिरहामा १४ र महोत्तरीमा २३ जना गरी सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको हो । सोमध्ये ९८निको भएर घर फर्केका छन् । रासस

Loading...