कोरोनाले खस्काएको अर्थतन्त्र उकास्न ६०अर्ब खर्चगर्ने सरकारको तयारी

काठमाण्डौ , १६ जेठ । कोरोना भाइरसले अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले ६० अर्ब रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रम मार्फत सरकारले ५५ देखि ६० अर्ब रुपैयाँ सम्म खर्च गर्ने तयारी गरेको हो ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रमबाट राहतको व्यवस्था गरेको बताए ।

आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायिको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले जानकारी गराए ।

उनले राहतको प्याकेज होमोजोनस नहुने र नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कछुट र कर छुटमा दिइएको उनको भनाई छ ।

सरकारले आगामी बर्षकालागि प्रस्तुत गरेको बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सुचारु गर्ने, नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताए ।

प्रधानमन्त्री रोजगारी कार्यक्रम मार्फत ३ अर्ब, विद्युत छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुर्नकर्जाका लागि २० अर्ब रकम खर्च हुने मन्त्री खतिवडाको भनाई छ ।

यस्तै कर छुट मार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्न विक्री वितरणमा १० प्रतिशत छुट दिदा ५० करोड भन्दा बढी रकम खर्च हुने उनले बताए ।

बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरु समावेस गरिएको ,प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान कर्जा कार्यक्रम, युवा स्वरोजगार, गरिवका लागि लघु उद्यम कार्यक्रम, वन पैदावार सम्बन्धी कार्यक्रम, गरिवी निवारण कोष, प्राविधिक व्यवसायीक तालिम, सीपमुलक कार्यक्रम लगायतबाट रोजगारी बढाउने गरी बजेट विनियोजन गरिएको दाबी अर्थ मन्त्री खतिवडाको छ ।

आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउने र आयातित बस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको उनको दाबी छ ।

कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको उनले बताए ।

यस्तै एक दर्जन वस्तुहरुको अन्तशुल्क घटाइएको, भन्सार तर्फ आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा फरक पारिएको उनले जानकारी गराए ।

तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार दर एक तह कम गरिएकोे बताउनुभयो । पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्यलाई भने भारतसँगको मूल्यमा एकरुपता ल्याउनको लागि भन्सार दर बढाइएको मन्त्री खतिवडाले बताए ।

भन्सार दर बढाइएपनि पेट्रेलियम पदार्थको मूल्य तत्काल नबढ्ने उनले स्पस्ट पारे ।

पेट्रोलियम खपत कम गर्नका लागि विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगो विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा बाहिरिएकोले कर बढाइएको मन्त्री खतिवडाले बताए ।

Loading...