नमूना छ बैजनाथपुर क्वारेन्टाइन

रामप्रसाद पौडेल
विराटनगर १ ठूलो मिल नजिकै बस्ने कुमार खड्का, भाइको उपचारका लागि भारतको तमिलनाडु भेल्लोरस्थित सीएमसी अस्पताल पुगेका थिए । उनी त्यहीँ हुँदा कोभिड महामारीले उग्र रूप लिन थाल्यो । भारत–नेपाल दुबैतिर लकडाउन भयो, जहाँको त्यहीँ बस्नुपर्ने अवस्था आयो । उनले जसोतसो भाइ र बुहारीलाई एम्बुलेन्स रिजर्भ गरेर नेपाल पठाए तर उनी आफैं भने उतै अड्किएका थिए ।

विराटनगर १९ धनपुराका कृष्ण लिम्बू पनि आफ्नो १६ वर्षीय छोरा सुमनको उपचारका लागि सीएमसी भेल्लोर नै पुगेका थिए । अचानकको लकडाउनले उनीहरू पनि त्यहीँ थुनिए । चैत्र पहिलो साता सीमित खर्च बोकेर स्तरीय उपचारको अपेक्षामा भेल्लोर पुगेका उनीहरू, क्रमशः बेखर्ची हुँदै गएपछि नेपाल कसरी फर्कने भन्ने उपायको खोजिमा लागे ।

लगभग एक लाख भारू खर्च गर्दा एम्बुलेन्स जोगबनी बोर्डरसम्म आउने भयो । नेपालमा भएका साथीभाइ आफन्तहरूको सरसहयोग–सापटीमा रकम पनि जुट्ने भयो र उनीहरूले नेपालतर्फको यात्रा सुरु गरे ।

लगभग ३ दिन लामो यात्रामा उनीहरूको मनमा एउटै कुरा खेलिरहेको थियो–क्वारेन्टाइन १ “नेपालको क्वारेन्टाइन गाईको गोठजस्तो छ, नेपालका क्वारेन्टाइनमा एउटा गुन्द्री ओछ्याइदिएको हुन्छ कसरी सुत्ने, नेपालका क्वारेन्टाइनमा शौचालय नै छैन, नेपालका क्वारेन्टाइनमा बिहान एउटा चाउचाउ र बेलुकी एउटा बिस्कुट मात्रै दिएर राख्छ” लगायतका समाचार सुनेका–पढेका उनीहरूमा जतिजति नेपाल बोर्डर नजिकिँदै थियो त्यति त्यति चिन्ता थपिँदै थियो । बोर्डरमा कोशी अनलाइनसँग कृष्ण लिम्बूले भने– “अरू त त्यस्तै हो, क्वारेन्टाइन घरमै बस्न पाए राम्रो हुन्थ्यो, यस्तो बिरामी छोरा लिएर १४ दिन कसरी बिताउनु रु गाईको गोठजस्तो हुन्छ भन्छन् ।”

अनेक प्रकृया पूरा गरेर नेपाल प्रवेश गर्दै गर्दा सीमामा उनीहरूले होम क्वारेन्टाइनको लागि बिन्ती गरे । हाललाई होम क्वारेन्टाइन सम्भव नभएको भन्दै उनीहरूलाई राति १० बजे विराटनगर १९ स्थित बैजनाथपुर स्वास्थ्य चौकीको क्वारेन्टाइनमा लगियो । जब क्वारेन्टाइन कोठामा प्रवेश गरे उनीहरू छाँगाबाट खसेजस्तै भए । उनीहरूले सुनेको कुनै कुरा त्यहाँ थिएन । एउटै एम्बुलेन्समा तीनदिन लामो यात्रा सँगै तय गरेर आएको कारण उनीहरूलाई एउटै कोठामा राखिएको थियो, तर बेडहरू अलग–अलग थिए । सबै बेडमा झुल टाँगिएका थिए, चिटिक्क तन्ना मिलाइएको थियो, सिरानीहरू सफा बनाएर राखिएका थिए, ट्वाइलेट बाथरूम अट्याच थिए, चाहिएजति बोतलका पानी उपलब्ध थिए, कोठा सफा थियो, गुनासो गर्ने कुनै ठाउँ थिएन ।

“मान्छेले गुनासो किन गर्छन् थाहा छैन, तर यहाँ होटलमाभन्दा कुनै कुराको कमी छैन । यहाँको सेवा सुविधाको म मुक्तकण्ठले प्रशंसा गर्छु ।” क्वारेन्टाइन् बसेका कुमारखड्कालेखुशी हुँदै भने।उनले थपे– “हरेक बिहान ७ बजे नै खाजा आइपुग्छ, त्यसपछि ११ बजेतिर खाना, दिउँसो फेरि खाजा अनि साँझमा खाना । पिउने पानीको कार्टुन नै राखिदिएको छ । कुनै कुराको अभाव छैन ।”

सरकारले गरेको राम्रा कुराको प्रशंसा गर्न र क्वारेन्टाइन भन्ने बित्तिकै नाक खुम्च्याउने मानिसहरूका लागि क्वारेन्टाइन सबै नै कमसल छैनन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि समाचार लेख्नुपर्छ भन्ने सोचेर खड्कासँग थप कुरा गरेँ । उनले भने “समाचारमा यहाँ काम गर्ने कर्मचारीको बारेमा लेख्न नछुटाउनु होला है । उनीहरूले साँच्चै राम्रो काम गरेका छन् । जे चाहिए पनि माग्दा झर्को नमानी ल्याइदिन्छन् । हामीलाई कुनै कुराको अभाव हुन दिएका छैनन् ।”

यी सबै कुरा व्यवस्थित गर्न कसरी सम्भव भयो त ? विराटनगर १९ का वडाध्यक्ष बद्री नारायण सरदार भन्छन्– “सबैले सकारात्मक भावना लिएर काम गरेको कारणले नै यसो भएको हो ।” सुरू सुरूमा व्यवस्थापन गर्न उनीहरूलाई पनि चुनौती नभएको होइन, तर गर्दै जाँदा सेवामा व्यापक सुधार आएको उनको ठहर छ । बैजनाथपुर क्वारेन्टाइनको रेखदेखको जिम्मा विराटनगर महानगरका इन्जिनियर प्रकाश नारायण चौधरीले पाएका छन् । त्यहाँको बन्दोबस्ती र खाँचोहरूको व्यवस्थापनमा कमी हुन नदिन उनले विशेष सतर्कता अपनाएका छन् । उनी भन्छन्– “मैले नसक्ने कुनै कुरा पाइयो भने सम्बन्धित निकायमा सिफारिस गर्छु ।”

क्वारेन्टाइनमा बसेकाहरूको पीसीआर परीक्षण गर्न विराटनगर महानगरपालिकाले जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा एउटा टोली नै बनाएको छ । अन्य स्वास्थ्य समस्याहरूका लागि बैजनाथपुरस्वास्थ्य चौकीका २ जना नर्सहरू उक्त क्वारेन्टाइनमा खटिरहेका हुन्छन् ।यी सबै व्यवस्थापनले गर्दा सेवाग्राहीहरूले स्तरीय सेवा पाइरहेको वडाध्यक्ष सरदारको ठहर छ ।
२० बेड क्षमताको बैजनाथपुर क्वारेन्टाइनमा हाल १९ जनाले सेवा लिइरहेका छन् ।इमर्जेन्सी अवस्थामाबाहेक क्वारेन्टाइनमा लगिएकाहरूलाई कम्तिमा १४ दिन राख्ने गरिएको छ । संयोजक चौधरी भन्छन्– “पीसीआर टेस्ट भएर नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गर्छौं ।”

Loading...