साना व्यावसायी भन्छन्–बजेटले हामीलाई सम्बोधन गरेन

मोहन ढकाल,
विराटनगर, १६ जेठ । विराटनगरका साना तथा मझौला व्यवसायीले आर्थिक वर्ष २०७७–०७८ को बजेटले आफ्ना मुद्दालाई समेट्न नसकेको बताएका छन् । बिहीबार प्रस्तुत भएको बजेटले कोरोनाका कारण थलिएका साना व्यावसायीलाई नसमेटेको उनीहरूको गुनासो छ ।

विराटनगर रंगेली रोडका कोहीनुर चस्मा घरका सञ्चालक आरीफ इराकी साना तथा मझौला व्यवसायीलाई बजेटले समेट्न नसकेको बताए । बजेटमा स्पष्ट नीति नदेखिएको उनको भनाइ छ । नेपालमा ७० देखि ८० प्रतिशतको हाराहारीमा साना तथा मझौला व्यवसाय संञ्चालनमा रहेको र यस्ता व्यवसाय नै देशको मेरुदण्डको रूपमा रहेको उनले बताए । तर बजेटमा साना तथा मझौला व्यवसायलाई प्राथमिकता नदिनु दुःखद भएको उनको भनाइ छ ।

मोबाइल व्यवसाय सञ्चालन गर्दै आएका निरज श्रीवास्तवको गुनासो पनि उस्तै छ । उनी बजेटले साना तथा मझौला व्यवसायीलाई समेट्न नसकेको बताउँछन् । स्वास्थ्य लगायत कृषि क्षेत्रलाई प्राथमिकता दिनु स्वागतयोग्य भएको उनले बताए । साना तथा मझौला उद्योगलाई बजेटमा समेट्न नसक्दा झन् धरासयी बन्ने उनको भनाइ छ ।

लकडाउनका कारण लामो समय थलिएको व्यवसाय अझै लामो समय सञ्चालन हुन नसक्दा झन् धरासायी बन्ने उनले बताए । केटीएम शु सेन्टर सञ्चालन गर्दै आएका तैकिर अनुवरको बजेटले साना तथा मझौला व्यववसायीलाई समेट्न नसक्नु दुःखद भएको बताउँछन् ।

विराटनगरमा कपडा पसल सञ्चालन गर्दै आएका ओमकुमार गुप्ता बजेट आफूहरू जस्ता व्यवसायीको हितमा नभएको बताए ।

न्यु फेसन क्लथ कलेक्सन सञ्चालन गर्दै आएका सञ्जय शाहको पनि उस्तै तर्क छ । उनी भन्छन् ‘साना तथा मझौला व्यवसायलाई आगामी बजेटले खासै समेटेको छैन् ।’ तर समग्रमा बजेट सन्तोषजनक रहेको उनले बताए ।

विराटनगरमा किराना पसल सञ्चालन गर्दै आएका बाबुराम सञ्जेल बजेट पुरानै पारामा आएको बताउँछन् । आफूजस्ता व्यवसायीलाई सरकारले विशेष प्याकेजको घोषणा गर्नुपर्नेमा बजेट निराश बनाएको उनको भनाइ छ ।

किराना पसलनै सञ्चालन गर्दै आएका खगेन्द्र कार्कीको तर्क पनि उस्तै छ । साना तथा मझौला व्यवसायलाई सरकारले राहत दिएर थप हौसला प्रदान गर्नुपर्नेमा बजेटमा समेत प्राथमिकता नदिँदा व्यवसायी समस्यामा पर्ने उनले बताए ।

Loading...