सलह किरा रोकथाममा सरकारको तयारी

काठमाण्डौ, १५ जेठ । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।

किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको अध्ययन गर्न समिति गठन गरिएको बताए ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको उनले जानकारी दिए ।

‘हामीले त्यसको पूर्वतयारी आउने–नआउने जोखिम कति हो भनेर विश्लेषण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ त्यसको लागि प्राविधिक समिति बनाएर अध्ययन भइरहेको छ ।’

प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा नेपालमा उपलब्ध वैज्ञानिकहरू, प्राविधिकहरुको टिम बनेको छ । उक्त समितिको सुझावको आधारमा मन्त्रालयले काम गर्ने डा केसीले बताए ।

सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (Locust) प्लेग दिएको छ । सलहको वैज्ञानिक नाम  Schistocerca Gregaria  हो । यो किरा समूहमा पर्छ र कृषि बालीमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्‍याउँछ ।

सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटरभन्दा बढी टाढासम्म पुग्न सक्छन् । यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ ।

नेपालमा पनि सूदुरपस्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । त्यसको लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरूलाई जानकारी गराइसकेको प्रवक्त केसीले बताए ।

सलह किराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने उनले बताए । त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उनले जानकारी दिए ।

मन्त्रालयले सलह किराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडियामार्फत किसानहरूलाई जानकारी दिने तयारीसमेत थालेको प्रवक्ता केसीले बताए ।

Loading...