दुबईमा कोरोना जितेका युवाको अनुभूति : आफन्तको हौसला नै निको हुने अचूक औषधि

माधव काफ्ले
विराटनगर, १४ जेठ । उदयपुरको बेलका नगरपालिकाका दिलीप आचार्य (२८) तीन वर्षअगाडि वैदेशिक रोजगारीको सिलसिलामा यूएई पुगे । युएईको दुबई सिटी नजिक रहेको इमरिल कम्पनीमा कार्यरत उनी घर फर्किने तयारीमा थिए । तर, कोभिड–१९ ले विश्व हल्लाइरहेका कारण यूएईले पनि रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी गर्‍यो ।

यता, नेपालले पनि अन्तर्राष्ट्रिय उडानमा रोक लगायो । दिलीपमा पनि कोरोनाको त्रास बढ्दैथियो । त्यैपनि उनी काममा गइरहेका थिए । एयरपोर्टमा काम गर्नुपर्ने हुन्थो । त्यहाँ नियमितजसो कोरोना परीक्षण भइरहेको हुन्थ्यो । कामका लागि एयरपोर्ट पुगेका उनको परीक्षण भयो ।

कोरोनाको लक्षण देखा नपरेकोले रिपोर्ट ‘नेगेटिभ’ आउनेमा उनी ढुक्क थिए । त्यसमाथि आफू सुरक्षित तथा कोरोनाबाट बच्न सतर्क भएर बसेका कारण पनि उनलाई संक्रमण हुने डर थिएन ।

स्वाब दिएको भोलिपल्ट उनले आफ्नै फोनमा रिपोर्ट हेरे । तर, रिपोर्टसँगसँगै उनीमाथि बज्रपात पनि आइपर्‍यो । ‘सोच्दै नसोचेको कुरा भयो, रिपोर्ट पोजिटिभ आयो’, उनले भने, ‘त्यतिखेर नै आफू छाँगाबाट खसेजस्तै भएँ । कोरोनाबाट बच्ने अनेकौं रिसर्च पढेर सतर्कताका साथ बसेको थिएँ । संक्रमण देखिएपछि तनाव आइलाग्यो ।’

त्यसपछि कम्पनीको क्वारेन्टिनमा दुई दिन बसेका उनलाई चिन्ताले खाइरह्यो । घरमा फोन गरेर सुनाए । घरमा रुवाबासी चल्यो । उयपुरको बेलका नगरपालिका-४ हो, उनको स्थायी ठेगाना । त्यतिबेला उदयपुर कोरोनाको ‘इपिसेन्टर’ नै कहलिएको थियो । यसैले पनि गाउँ–घरमा साथीभाइ आफन्त सबै चिन्तित थिए ।

त्यसपछि दुबई हेल्थ अथोरिटी (डीएचए)ले उनलाई सरकारी आइसोलेसनमा लिएर गयो । त्यहाँ उनले एक महिना ५ दिन बस्नुपर्‍यो । त्यहाँ पुगेको दुई दिन पनि उनलाई अब के होला भन्ने पीरले सताइरह्यो । तर, साथीभाइ र आफन्तले भने फोनमार्फत् हौसला र आत्मबल बढाउने काम गरिरहे ।

‘पाँच वर्षदेखि बोलचाल बन्द भएका साथीले पनि फोन गरे हौसला बढाए’, उनले भने, ‘खबर चारैतिर फैलिएछ । त्यैभएर प्रायः सबैले फोन गरे । मेरो आत्मबल पनि बढ्न थाल्यो । सुरुका केही दिन त आफन्तलाई सम्झाउँदै बित्यो । पछि सामान्य नै बन्न थाल्यो ।’

दुबईको सरकारी आइसोलेसन बसेको दोस्रो दिन उनी छक्क परे । उनकै कम्पनीमा कार्यरत र उनीसँगै डेरामा बस्ने साथी कृष्ण कट्वाललाई पनि त्यहीं ल्याइयो । अझ उनी बसेकै कोठामा । अनि त उनलाई थप हौसला मिल्यो । ‘मेरो साथी मेरै कोठामा त्यै पनि संक्रमण भएर आएको’, दिलीपले भने, ‘सुरुमा त दुःख लाग्यो साथीलाई कोरोना लागेकोमा । तर, कुरा गर्दै दिन बिताउने र एकसाथ मिलेर कोरोनालाई परास्त गर्ने मनसाय बनाएँ ।’

दिलीपका साथी कृष्ण (३०) सुनसरीको इटहरी–१७ लविपुरका हुन् । उनी पनि युएई गएको तीन वर्ष नै भयो । फर्किने तयारीमा थिए । तर, लकडाउन र कोरोना संक्रमणका कारण विदेशमै मर्ने हो कि भन्ने त्रासमा थिए । कृष्णले पनि साथी दिलीपसँगै कोरोना परीक्षण गराएका थिए । तर, रिपोर्ट भने ढिलो हेरे ।

ड्युटीबाट आएर रिपोर्ट हेरेका थिए उनले । रिपोर्ट हेर्दैगर्दा उनले पनि आफूलाई संक्रमण नहुने सोचेका थिए । ‘साथीहरूसँग सामाजिक दूरी कायमै राखेको थिएँ, अनि सुरक्षित भएर बसेको थिएँ,’ कृष्णले भने, ‘तर, कोरोना पोजिटिभ भनेर देखायो । झण्डै बेहोस् भएँ ।’

त्यसपछि उनले कम्पनीको क्याम्पमा एक दिन बिताए र दोस्रो दिन साथी दिलीप भएकै आइसोलेसनमा पुगे । दिलीपसँग भेट भएपछि दुवैले हेराहेर मात्र गरे, दुवैले आँखामा दुःखको भाव देखाए अनि आ–आफ्नो बेडमा थचक्क बसे ।

दुवै अचम्ममा थिए, किनकी कोरोना पोजिटभ आउनुभन्दा एक साता पहिले मात्र पनि उनीहरूले परीक्षण गराएका थिए । पहिलो नेगेटिभ देखिएर ढुक्क भएका उनीहरूको दोस्रो परीक्षणमा भने संक्रमण देखिएर एउटै आइसोलेसनमा पुगेका थिए ।

अब उनीरू दुवै जना कोरोना जित्ने अभियानमा एकसाथ भए । उनीहरू बस्ने कोठामा अरु २ जना पनि थिए, जो एक भारतीय र एक अफ्रिकी देशका थिए । नियमित रूपमा उनीहरूलाई डाक्टरले परीक्षण गर्थे र प्यानाडाेल (प्यारासिटामोल) र मलेरिया हुँदा खाने औषधि (उनीहरूलाई औषधिको नाम याद आएन) दिन्थे । उनीहरूले सुरुआती चार दिन बिहान एउटा र बेलुका एउटा गरी सो औषधिहरू खाए ।

पिउनलाई तातो पानी दिइन्थ्यो । त्यसबाहेक उनीहरूलाई पानी तताउनका लागि कित्ली, डिटोल, टूथपेस्ट, चप्पल र एक जोर लुगा पनि दिइएको थियो । रोग प्रतिरोधी क्षमता बढ्छ भन्ने ठानेर उनीहरूले अदूवा आफैंले लगेका थिए ।

सफा र व्यवस्थित थियो उनीहरू बसेको आइसोलेसन । भित्र सफाचाहिँ आफैंले गर्नुपर्थ्यो । चिकित्सकहरूले नियमित निरीक्षण गरिरहन्थे । डाक्टरले विदेशी–स्वदेशीमा भेदभाव गरेका थिएनन् । सबैको हेरचार समान रूपले गर्दथे ।

बिहान ७ः३० बजेबाट ब्रेकफास्ट सुरु हुन्थ्यो । यसैले सबै जना ७ बजे उठ्थे र शारीरिक अभ्यास सुरु गर्थे । डाक्टरले उनीहरूलाई पीटी गरेपछि शरीरको प्रतिरोधी क्षमता बढ्ने बताएका थिए । आफ्नै बेडमा केहीबेर अभ्यास गरेपछि उनीहरू फ्रेस हुन बाथरुमतिर लाग्थे ।

बाथरुम भने एउटै थियो । यसैले लाइन लाग्नुपर्थ्यो । ‘त्यहाँचाहिँ अली धेरै नै डर हुन्थ्यो संक्रमित नै भए पनि त्यहाँ अरुबाट थप संक्रमित भइएला कि भन्ने डर थियो’, दिलीपले भने ।

अन्यबेला जस्तो नभएर उनीहरूको मुख धुने तरिका बदलिएको थियो । पहिला एकैपटक मुखमा हात लगेर मुख धुने गरेका उनीहरूले पहिलो डिटोल लगाएर हात हुन्थे अनिमात्र मुख हुन्थे । हात धुइसकेपछि सेनिटाइजर लगाउँथे ।

अनिमात्र उनीहरूले ब्रेकफास्ट सुरु गर्थे । ब्रेकफास्टमा पराैठा, अण्डा, दूध, जुस, गाँजरलगायत हुन्थ्यो । इम्युनिटी पावर बढाउँछ भन्दै त्यहाँ उनीहरूलाई ब्रेकफास्टमा यस्ता कुराहरू दिइन्थ्यो ।

ब्रेकफास्टपछि उनीहरू केही क्षण आराम गर्थे र आफ्ना आफन्त तथा साथीभाइबाट हौसला बटुल्थे । सुरुमा भने नेटको सुबिधा थिएन, साथीभाइले रिचार्ज हालेर सहयोग गरिदिन्थे र आफन्तलगायत श्रीमतीसँग कुरा हुन्थ्यो ।

संगै कोठामा बस्ने साथी सविन लुइँटेलले एउटा मेसेन्जर ग्रुप बनाएका थिए, जसमा दिलीप, कृष्णलगायत साथीहरू जोडिएका थिए । समूहमा कुरा हुन्थ्यो, हास्ने–हसाउने काम हुन्थ्यो । दिलीप र कृष्णलाई साथीहरूले हसाउँदै धैर्यता राख्न र मनोवल बढाउन आग्रह गर्थे । त्यति मात्र नभएर साथीभाइले दिलीप र कृष्णको घरपरिवारमा कुरा गर्थे र सम्झाउथे ।

‘साथीभाइले घरपरिवारमा सम्झाएकै थिए, यसैले घरमा पनि त्यति धेरै चिन्ता लिएनन्’, कृष्णले भने, ‘मेरी श्रीमती पनि यहाँ नजिकै बस्छिन्, तर यहाँ भेटघाट गर्ने कुरा भएन । फोनमै कुरा हुन्थ्यो ।’

फोनमा कुरा गर्दै केहीबेर सामाजिक सञ्जाल चेकजाँच गरेपछि उनीहरू नुहाउन जान्थे । नुहाउँदा पनि तातो पानी । नाकको प्वालमा डिटोल हालेर सफा गर्नुपर्थ्यो । नुहाइसकेर लन्च टाइम सुरु हुन्थ्यो, जहाँ उनीहरूले ताजा शब्जी, चिकन, मटनलगायत पाउँथे र त्यससँगसँगै एउटा फलफूल पनि साथमा हुन्थ्यो । कहिले स्याउ, कहिले केरा ।

त्यसपछि फेरि उनीहरू फोनमा समय कटाउँथे । सधैं काममा ब्यस्त हुने उनीहरूलाई दिन कटाउन गाह्रो नै थियो । त्यहाँ रहेका इन्डियन र अफ्रिकन साथीसँग कुरा गर्थे र उनीहरूका अनुभव सुन्थे । उनीहरूको दैनिकी त्यसरी नै बितिरहेको थियो ।

आइसोलेसन बसेको दसौं दिनमा पहिलो टेस्ट भयो, रिपोर्ट पोजिटिभ नै आयो । यसले उनीहरूलाई झनै त्रसित बनायो, निको नै नहुने हो कि भन्ने डरले सतायो । त्यसको एक सातापछि अर्को परीक्षण भयो, रिपोर्टमा संक्रमण अझै नमेटिएको देखियो । अनिचाहिँ अब परदेशमै मर्ने भइयो भन्ने सुर्ताले उनीहरूलाई भित्रभित्रै खान थाल्यो ।

त्यसका बाबजुत पनि उनीहरूले हारेनन्, आत्मबल बढाइरहे । त्यसबीचमा उनीहरूलाई आफन्तले हौलसा थपिरहे । उनीहरूको साप्ताहिक परीक्षण चलिरहेको थियो । परीक्षण र रिपोर्टको बीचको समयमा मात्र उनीहरूलाई चिन्ताले सताउँथ्यो । अन्यथा, साथीभाइ र आफन्तको हौसला थाप्दै आफूलाई खुशी राख्ने काम गरिरहन्थे उनीहरू । कोरोना जित्ने उनीहरूको अभियान दैनिक रूपमा चलिरहेको थियो ।

दिलीपको तेस्रो रिपोर्ट भने नेगेटिभ आयो । दिलीप खुशी पनि देखिन्थे अनि दुःखी पनि । आफ्नो रिपोर्ट नेगेटिभ आएकोमा खुशी थिए अनि साथीको पोजिटिभ नै देखिएकाले दुःखी पनि उत्तिकै थिए । यसैगरी दिलीपको चौथो रिपोर्ट पनि नेगेटिभ देखियो र उनी अस्पतालबाट डिस्चार्ज भएर कोठातिर लागे ।

यता, साथी कृष्णको पनि चौथो रिपोर्ट नेगेभिट आयो । तर, संगै संक्रमण भएर अस्पताल आएको साथी कोठा फर्किएपछि कृष्ण एक्ला भए । दिलीपको ठाउँमा अर्का संक्रमितलाई ल्याइयो ।

‘साथी कोठा फर्किएपछि चाहिँ क्वारेन्टिन जेलजस्तै भयो’, कृष्णले भने, ‘पाँचौं र छैटौं रिपोर्टसमेत नेगेटिभ आएपछि म पनि कोठा फर्किएँ । हिजो मात्र कोठा फर्किएको हुँ । श्रीमतीसँग भेट्न पाएको छैन । अब फुर्सद मिलाएर भेट्छु ।’

३५ दिनमा आइसोलेसनमा रहेर कोरोनाविरुद्ध विजय हासिल गरेपछि अरु केहीले नभएर आत्मबल र आफन्त–साथीभाइको हौलसाले नै आफू निको भएको दिलीप बताउँछन् । ‘यसको अचूक औषधि आफन्तको हौसला नै रहेछ । आत्मबललाई हतियार बनाएर कोरोनाविरुद्ध लडेमा अवश्य जित हुनेछ । सबैलाई म नडराउन र उच्च मनोवलका साथ कोरोनाविरुद्धको लडाइँमा लाग्न सुझाव दिन्छु’, दिलीपले भने ।

यता, कृष्णले भने कोरोनाले शारीरिकभन्दा पनि मानसिक रूपमा कमजोर बनाउने बताए । ‘कोरोनाले हामीलाई मार्न सक्दैन, जबसम्म हामी मानसिक रूपमा तयार भएका हुन्छौं । कोरोनाको डरले हामीलाई कमजोर बनाउन सक्छ, कोरोनाले होइन,’ कृष्णले बताए ।

उहाँहरूकै अनुमतिमा नाम र तस्बिर प्रयोग भएका हुन् ।

Loading...