विराटनगर, १३ जेठ । जाजकोटका २१ वर्षीय युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु पर्यो ।
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी आफनी प्रेमीकाको गाउँमा पुगेका थिए ।
तर दलितहरू छोरीसँग बिहे गर्न आए भन्दै केटी पक्षले गाउँलेहरू भेला गरि नवराज र उनका साथीमाथि आक्रमण गर्दा नवराजको घटनास्थलमै मृत्यु भएको थियो ।
दलित भएर कथित माथिल्लो जातको केटीसँग प्रेम गरेकै कारण उनले ज्यान गुमाए । यस्तैमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत हाम्रो समाजलाई बदल्नका लागि सोच बदल्नतिर लाग्न जरुरी रहेको बताउँछन् ।
आफ्नो सामाजिक सञ्जाल उनी लेखछन् : हामी चेतनसील प्राणी हौं भने आजैदेखि आफ्नो घरमा कुरा गरौं । कुरा गरौं नामको पछि जोडिने जात को । जातले मानिसमा घृणाको बिउ छर्छ भने यो पहिचान के काम को भयो । हामीले परिवर्तन गर्ने भनेको हाम्रो समयको समाज हो । मानिस भएर मानिसलाई नै तल्लो जात र माथिल्लो जातमा तौलिने समाजले प्रगती गरेर के नै नाप्छ र ।
मान्छेलाई जातले ठूलो सानो बनाउँदैन, उसको सोच, उसले गर्ने कर्मले देखाउँछ उसलाई समाजले कतिको मान सम्मान दिन्छ भनेर भन्ने कुरा तपाई हाम्रै आफन्तसँग कुरा गर्न थालौं । यो जातको नाममा हुने कुरीतिको घैंटो फुटाउन हामीले आफ्नै घरबाट कुराकानी सरुु नगरे आउने दिनहरूमा यस्ता घटना फेरि देख्न -सुन्नु पर्ने हुन सक्छ ।
कानून छ कानून पनि लाग्छ यस्तो रीत अपनाउनेहरूलाई तर, कानूनले कसुरवार ब्यक्तिलाई सजाय दिन सक्छ, यस्ता सोच नै बदल्न चै तपाईं हामी यहि समाजभित्रका मानिसहरूले नै यही समाजभित्रै बस्ने त्यस्ता मानिसको घैंटोमा घाम लाग्ने गरी आवाज ठूलो बनाउन जरुरी छ । समाज बदल्ने हो भने सोच बदल्नतिर लागौं ।