२५ हजार नेपाली तत्काल नेपाल ल्याउने

काठमाडौं, १३ जेठ । खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई सरकारले तत्काल उद्धार गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

‘बैठकले क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले तयार पारेको भारत तथा तेस्रो मुलुकबाट नेपालीको उद्धारसम्बन्धी कार्यविधि पारित गरेको छ,’ मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कार्यविधिअनुसार नै भारतबाट आउने नेपालीलाई उनीहरूकै स्थानीय तहमा पठाउने र तेस्रो मुलुकबाट प्राथमिकताका आधारमा उद्धार गरिनेछ ।’

परराष्ट्र मन्त्रालयले भारतबाट करिब ३ लाख र तेस्रो मुलुकबाट ३ लाख गरी ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । यद्यपि सीसीएमसीको अनुमानमा भने तेस्रो मुलुकबाट झन्डै १० लाख नेपाली स्वदेश फर्किनेछन् ।

बंगलादेश, साइप्रसलगायत मुलुकमा अड्किएका विद्यार्थीहरू, लकडाउन भएपछि अलपत्र परेकाहरूलाई पनि उद्धार गरेर ल्याइने मन्त्री ज्ञवालीले बताए ।

Loading...