Rumpum

Rumpum Advertisement

काल पर्खन विवस फची मुसहरको बेहाल जीवन

काल पर्खन विवस फची मुसहरको बेहाल जीवन

यज्ञ अधिकारी
विराटनगर, १२ जेठ ।
‘मर्न पनि सकिँदैन । बरु मरेको भए नै जाति हुन्थ्यो होला ।’

सबै उपाय सकिएपछि मानिसको मनमा पलाउँछ यस्तो भावना । रोग, भोक र शोकले थलिएर आशुमा डुबेका ४८ वर्षीय फची मुसहर लकडाउनको समयमा यसरी काललाई पुकार्दै बसेका छन् ।

नाम मात्रको घरको चिसो भुइँमा मुडो जस्तो भएर अशक्त बिरामी फची लडेको एक वर्ष भयो । विराटनगर–१९ को सुकुम्बासी बस्तीमा उनको मुस्किलले ९ बाई ६ को कटेरो जस्तो साघुँरो घरको कोठा नै संसार भएको छ । भोकले दनदन आगो बलेको पेटलाई सहन गर्न नसकेपछि गहभरि आँशु पार्दै फची भुइँमा लडिरहन्छन् ।

शरीर स्वस्थ्य हुँदा उनले रिक्सा चलाए । कोदालो पनि बजारे । मेहेनत गरेर ५ जनाको परिवार पाली रहेका थिए । तर उनलाई अचानक क्षय रोग लाग्यो । क्षय औषधि खाएपछि रोग निको भयो । रोग निको भयो भनेर खुशी भएका उनलाई अर्को बज्रपात आइलाग्यो ।

उनका दुवै खुुट्टाले उनको साथ छाडे । टिभीको औषधि खाँदै कठिन काम गर्दा दुवै खुट्टा प्यारालाइस भएछ ।

खुट्टाको समस्या डाक्टरलाई त देखाए तर गरिबीले गर्दा थप उपचार गराउन सकेनन् । गाँस जुटाउन नै मुस्किल परिरहेको धेरै पैसा खर्च गरेर खुट्टाको उपचार गराउने कुरा धेरै टाढाको कुरा थियो ।

फची बिरामी भएपछि सँगै बसेका उनका दुवै छोराले पनि साथ छोडे । दुईटै छोरा एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । एउटी छोरी विवाह भएपछि ससुरालमै छिन् ।

विराटनगर महानगरपालिका–१९ घिनाघाटस्थित सुकुम्बासी मुसहर बस्तिमा प्वालै प्वाल भएको उनको कटेरो छ । तर कटेरोभित्र खानलाई केही छैन । कटेरोभित्र लडिरहेका फची सडकमा कोही हिँडेको देखे भोक मार्न याचना गर्छन् ।

केटेरोका भित्ता सबै प्वाल परेकोले सडकमा मानिस हिँडेको उनी सुतेकै ठाउँबाट देख्छन् र दयाका लागि कराउँछन्, ‘लौन म मर्न लागेकोलाई केही खानेकुरा दया गर्नुहोस् ।

उनको एउटै सहारा श्रीमती छन् । श्रीमती जे जस्तो जुटाउँछिन त्यसैले जेनतेनक सास धानिरहेको छ । अहिलेसम्म श्रीमतीले अर्काको घरमा भाँडा माँझेर छाक टारी रहेकी थिइन् । तर लकडाउनले गर्दा श्रीमतीको रोजगारी पनि खोसिएको छ । उनलाई धरधनीहरूले लकडाउनभरि नआउनु भनेर भनेका छन् । यसैले उनीहरूलाई गुजारा चलाउन धौधौ भएको श्रीमती बुधनीदेबीले बताइन् ।

गरिबीको आँशुको आहालमा डुुबेको फची मुसहर र उनकी श्रीमतीको जीवनमा लकडाउन बज्रपात सावित भएको छ ।

अझैसम्म त आफूहरू अरुको दयामायामा सास धानिरहेको तर अझै लकडाउन लम्बियो र मानिसहरूले दयामाया गर्न छाडेभने भोक, शोक र रोगले धेरै दिन बाँच्न नपाउने फची र उनकी श्रीमतीले बताए ।

काल पर्खन विवस फची मुसहरको बेहाल जीवन – कोशी रिपोर्ट

नाम मात्रको घरको चिसो भुइँमा मुडो जस्तो भएर अशक्त बिरामी फची लडेको एक वर्ष भयो । विराटनगर–१९ को सुकुम्बासी बस्तीमा उनको मुस्किलले ९ बाई ६ को कटेरो जस्तो साघुँरो घरको कोठा नै संसार भएको छ । भोकले दनदन आगो बलेको पेटलाई सहन गर्न नसकेपछि गहभरि आँशु पार्दै फची भुइँमा लडिरहन्छन् ।https://www.koshionline.com/2020/05/25/201287.html

Posted by Koshi Online on Monday, May 25, 2020