लकडाउनले धेरैलाई मस्ती तर गृहणीहरूलाई झन् धेरै सास्ती

अंकिता ताम्राकार
विराटनगर, ११ जेठ । विराटनगर, पानीटंकी बस्ने सुनिता ताम्राकारलाई हिजोआज घरको कामले एकछिन फुर्सद हुँदैन । दुई छोरा र ठूली बुहारी विदेश छन् । घरमा बूढी सासू र श्रीमानको सेवा पनि गर्नुपर्छ ।

लकडाउन अगाडि पनि सबै काम उनले आफैँले नै गर्नु पर्थ्यो र अहिले पनि उनी सबै काम आफैँ गरिहेकी छन् । लकडाउनले त झन् पहिलाभन्दा कामको दोब्बर लोड परिरहेको उनी सुनाउँछिन् । ‘सास फेर्ने फुर्सद पनि छैन,’ उनले भनिन्, ‘घरको कुनाकाप्चा सफा गर्नेदेखि घरमा बसेकाहरूलाई समय समयमा के खुवाउने होला भन्ने पनि चिन्ता लागिरहन्छ ।’

घर बसेपछि सबैका आ–आफ्नै डिमान्ड हुन्छन् । ‘कसैलाई के खानुपर्छ, कसैलाई के । कसैलाई यो मन पर्दैन, कसैलाई त्यो । बिहान ७ बजेदेखि भान्सामा पस्ने उनी १२ नबजी निस्किन पाउँदिनन् । पहिला २ थोक पकाउँदा पुग्ने भएपनि अहिले ४ थोक पकाउँदा पनि यो किन नपकाको, त्यो किन पकाको भन्न थाल्छन् ।

फुर्सद हुँदा उनी केही समय सामाजिक सञ्जालमा साथीभाइसँग कुरा गरेर चित्त बुझाउँछिन् । संक्रमण सर्ने डरले छिमेकीहरूमा आउजाउ पनि बन्द छ । लकडाउनमा सबै घरमै हुनेभएकोले एकछिन बस्न पाको जस्तो हुँदैन खाजा के खुवाउने भन्ने चिन्ता सुरु भैहाल्छ । पकाएर खुवाएपछि भाडा माँझ्नै पर्‍यो, उनले सुनाइन् ।

साँचो भन्नु पर्दा सबैको इच्छाअनुसार, पकाउँदै र भाडा माँझ्दै लकडाउनमा उनका दिनहरू बितिरहेका छन् । उनी भन्छिन्, ‘एक गिलास पानी सारेर खान पनि घरका सदस्यहरू मैरै भर पर्छन् ।’

घरमा श्रीमानलाई काम अह्राउँदा नगर्ने त होइनन् तर, केही अह्राउँदा यो समान खै, त्यो खै, यो कहाँ छ, तरकारी काटिदेउन, यो कसरी गर्ने, त्यो कसरी गर्ने भन्दा भन्दै आफूले नै आधीभन्दा बेसी काम गर्नुपर्ने हुन्छ र त्यसमाथि भान्सा फोहोर हुने त बाँकी नै छ, त्यसैले अरुलाई काम अह्राउनुभन्दा पनि आफैँले गर्ने गरेको उनी सुनााउँछिन् ।

….

विराटनगर, राधा कृष्ण मन्दिरमा बस्ने सुष्मा पौडेल लकडाउनमा पहिलाभन्दा धेरै व्यस्त भएको महशुस गर्छिन् । उनी मन्दिरकी पुजारीकी पत्नी हुन् । उनका दुई छोरी छन् । ठूलो छोरीको विवाह भइसकेको छ भने सानो छोरी अध्ययनका लागि भारतमा छिन् । लकडाउन भएको कारणले उनको सानो छोरी भारतमै अड्किएकी छिन् । घरमा बूढी सासू र श्रीमान छन् । संक्रमण सर्ने डरका कारण मन्दिरमा भक्तहरू आउन कम भएपनि मन्दिरको सबै काम रोक्न मिल्दैन । उनले भनिन्, ‘बिहान ४ बजेदेखि उठेर दिनभरि काम गर्दा पनि सकिन्छ जस्तो लाग्दैन ।’

उनकी सासू आमा हिँड्डुल गर्न सक्दिनन् । सासूको मुख धुनेदेखि लिएर खाना खुवाउने, दिसा–पिसाब गराउने सबै काम उनले नै समय समयमा गर्नुपर्छ । खानामा सबैको टेस्ट फरक छ । सबैको मनपर्ने पकाउँदा, खान खाएर, सबै काम सक्दासम्म १२–१ बजेको पत्तो नै हुँदैन । घरमा गाई पालेकोले श्रीमानको समय मन्दिरको काम र गाईलाई हेर्दै बित्छ । आफू सुगरको बिरामी भएका कारण लकडाउनले सार्है गाह्रो भएको उनी सुनाउँछिन् ।

विराटनगर, परोपकार घाट नजिकै घर भएकी बिमला थापा पनि यो लकडाउनमा पूरै व्यस्त छिन् । घरमा सासू, ससुरा र उनको १२ कक्षामा पढ्ने छोरा छन् । श्रीमान भने काम विशेषले पोखरा बस्छन् । उनी खानेपानीको अफिसमा काम गर्छिन् । ‘लकडाउन भए पनि अफिस जानु पर्ने भएकाले घरको काम यत्तिकै लथालिङ्ग हुन्छ,’ उनले भनिन्, ‘लकडाउन भएपनि आफूलाई समय दिनसमेत पाइएको छैन । बिहान साढे ८ बजेसम्म घरको सबै काम सक्नै पर्छ नत्र अफिस जान ढिला हुन्छ ।’

‘लकडाउनले गर्दा सवारी साधन चल्दैनन्, घरदेखि देभकोटा चोकस्थित अफिससम्म हिँड्दै जानु पर्ने हुँदा एक घण्टाभन्दा धेरै नै समय लाग्छ । अफिसको काम सकाएर घर फर्किँदा पनि हिँड्दै आउनु पर्छ । घर पुग्दासम्म खुट्टा दुखेर बसी सक्नु हुँदैन । लकडाउनले गर्दा साह्रै दुःख पाइयो थाकेर घर पुग्दा पनि सबै काम आफैँले गर्नुपर्छ । लकडाउनमा धेरैलाई सधैँ बिदा भए पनि आफ्नो बिदा आउनलाई शनिबार नै पर्खिनु पर्छ,’ उनले भनिन् ।

विराटनगर, भूपीमार्गकी ५१ वर्षीय लक्ष्मी न्यौपाने घरको काम सबैले बाँडेर गर्नुपर्ने मान्यता राख्छिन् । उनका ठूला छोरा र बुहारी विदेशमा छन् । काठमाडौँमा काम गरिरहेको सानो छोरापनि लकडाउन हुनु एक दिन अगाडि घर आइपुग्यो । हाल उनी आफ्ना श्रीमान् र छोरासँग बस्दै आइरहेकी छिन् । उनी लकडाउमा झन धेरै व्यस्त छिन् ।

….

लकडाउनको समयमा धेरै पुरुष घरमुली, बालबालिका र जेष्ठ नागरिकहरूले भरपुर आराम पाइरहेका होलान् । तर यो बेला घरमा बस्ने गृहणीहरूले भने पहिलेभन्दा दोब्बर काम गरिरहनु परेको छ । अधिकांश पुरुषहरूले लकडाउनको समयमा घर बस्दा समय काट्न गाह्रो भएको गुनासो गरिरहेका हुन्छन् । तर सामान्य अवस्थामा पनि घरको काम, परिवारको रेखदेख गरिरहने गृहणीहरूलाई भने लकडाउनले समेत राहत दिन सकेको छैन । अधिवक्त्ता सञ्जु साह लकडाउनको समयमा अरुलाई मस्ती भएपनि गृहणीहरूलाई भने झन् सास्ती भैरहेको बताउँछिन् । धेरैले त घरपरिवारबाट हिंसाका घटनाहरूसमेत भोग्नुपरिहेको छ ।

Loading...