‘प्रधानमन्त्री ओलीले लिएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक’

हेटाैंडा, १२ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अतिक्रमित भूभाग समेटेर नक्सा सार्वजनिक गर्ने कार्य तथा अतिक्रमित भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पहलकदमी गौरवपूर्ण र ऐतिहासिक भएको उल्लेख गरेका छन् ।

साेमबार वाग्मती प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन (छैटौँ अधिवेशन) लाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस कार्यका लागि नेपाल सरकारप्रति आभार एवं धन्यवाद व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले सत्तारुढ, प्रतिपक्षी तथा अन्य राजनीतिक दलहरुको तर्फबाट राष्ट्रियताको सन्दर्भमा प्रकट भएको अद्वितीय एकता तथा नागरिकस्तरबाट प्राप्त समर्थनले नयाँ आशा एवं विश्वास सिर्जना भएको उल्लेख गरे ।

उनले कसैको उपनिवेश नबनेको गौरवशाली इतिहास भएको हाम्रो देशको भूभागमाथि भएको अतिक्रमण कुनै पनि देशभक्त नागरिक र सरकारलाई सह्य हुनै नसक्ने बताए ।

सम्पूर्ण विश्व नै कोरोना महामारीविरुद्ध जुधिरहेको तथा यसले निम्त्याएको सङ्कटबाट नेपाल पनि अछुतो नरहेको भन्दै मुख्यमन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार महामारीविरुद्धको लडाइँमा केन्द्रित भइरहेको सन्दर्भमा राष्ट्रियता र सार्वभौमसत्तालाई अक्षुण राख्न नेपालीहरु पुनः उच्चस्तरको एकता कायम गर्दै अगाडि बढ्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरे ।

उनले भने, “कोरोना महामारीका कारण सिर्जित चुनौतीबीच सीमा समस्यालाई सुझबुझपूर्णरुपमा सुल्झाउँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको बाटोमा देशलाई अघि बढाउन सम्पूर्ण नागरिकको बलियो साथको आवश्यकता पर्छ ।”

Loading...