झुम्का कारागारभित्र के गर्दैछन् सिद्धबाबा ?

विराटनगर, १२ जेठ । महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा छन् । जबरजस्ती करणी मुद्दा आरोपी गिरी कारगारलमा आफैँ खाना पकाएर खाने गर्छन् ।

८२ दिनअघि ४ कात्तिक २०७६ मा आफूलाई आश्रमभित्रै बलात्कार गरेका भन्दै महिला अनुयायीले किटानी जाहेरी दिएपछि पक्राउ परेका कृष्णदासले विद्युतीय चुल्होमा खाना बनाउँछन् ।

कारागार व्यवस्थापनले गिरीलाई छुट्टै कोठा दिएको छ । आफैँलाई गोली हानेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका बेला श्रीनिवासले केही महिना प्रयोग गरेको कोठा पछिल्लो समय गिरीले प्रयोग गरिरहेका हुन् ।

जेलभित्र विद्युतीय चुल्होमा आफैँ खाना पकाएर खाने गरेको झुम्काका जेलर अनिल खनालले जानकारी दिए । ‘उहाँ आफैँ खाना पकाएर खानुहुन्छ,’ उनले भने, ‘पहिलेदेखि नै खाली रहेको एउटा छुट्टै कोठा उहाँलाई दिएका छौं, त्यही बस्नुहुन्छ ।’

१० दिन योग कक्ष

बलात्कार आरोपमा उच्च उदालत विराटनगरको आदेशपछि थुनामा रहेका गिरीले कारागारभित्र दश दिनको योग शिविर चलाएका थिए ।

शिविरमा केही कैदीबन्दी सहभागी थिए । तर उनले उक्त शिविरलाई निरन्तरता नदिएको खनालले बताए । ‘शिविरमा सहभागिले केही सकारात्मक परिवर्तन भएको बताएका थिए,’ उनले भने, ‘उहाँले दश दिन शिविर चलाएर किन बन्द गर्नुभयो थाहाँ भएन ।’

बलात्कार आरोपमा जाहेरी परेपछि हिरासतको अवधि विराट नर्सिङहोममा बिताएका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने गरी छाड्ने आदेश गरेको थियो ।

तर सो आदेशलाई उल्टाउँदै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले ९ माघमा गिरीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न अदेश दिएको थियो ।

उच्च अदालतमा मुद्दा सुनुवाई भइरहेका बेला गिरी विराटनगर रानी हुँदै भारत भागेका थिए । तर २० फागुन २०७६ मा गिरी सुनसरी अदालतमा हाजिर भएर झुम्का कारागार चलान भएका थिए ।

कारगारमा अन्य कैदीभन्दा सहज सुविधा पाएका गिरीले कैदी बन्दीलाई १० दिन योग सिकाएका थिए । आगो नछुने उनी इन्डक्सन चुल्होमा आफैँ खाना पकाउँछन् ।

गिरीको आश्रम अब अस्पताल

गिरीको सुनसरीको वराहक्षेत्र नगरपालिका–२ चतराधाममा जगतगुरु रामानन्दाचार्य सेवापीठ छ । सो पीठको भवनलाई प्रदेश नं १ सरकारले कोभिड १९ उपचार केन्द्र स्थापना गराउने निर्णय गरेको छ ।

सिद्धबाबा आश्रम परिसरभित्र ८ बिगाहा क्षेत्रफल छ । १ सय ८ कोठाका तीन वटा आवास गृह छन् । २६ माघमा २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले सो भवन उद्घाटन गरेकी थिइन् ।

गिरीले उक्त भवन आफ्रनो शुच्छेकहरूबाट पितृका नाममा चन्दा संकलन गरेर बनाउन लगाएका थिए । तीन तले तीन वटा सुविधासम्पन्न उक्त पक्की भवन एक सय दिनमै निर्माण गराइएको थियो ।

Loading...