वर्षा राउत विवादमा मुछिएपछि वर्षा शिवाकोटीले यसरी दिइन् फेसबुकमा परिचय

एजेन्सी, १२ जेठ । नेपाल र भारतबीच उत्पन्न भएको सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिका कारण अभिनेत्री वर्षा राउत विवादमा मुछिएकी थिइन् ।

इन्डियन साथीहरूसँग कसरी फेस गर्ने भनिएको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएदेखि विवादमा तानिएकी उनले माफीसमेत मागिसकेकी छिन् ।

तर, उनले माफी माग्दासमेत कति सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आक्रोशित भएर उनको फेसबुकमा मेसेज गर्ने तथा कमेन्ट गर्ने काम गरिरहेका छन् ।

यस्तैमा नाम मिल्ने भएको कारणले झुक्किएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अर्की अभिनेत्री वर्षा सिवाकोटीको फेसबुकमा कमेन्ट तथा मेसेज पठाइरहेका छन् ।

एक वर्षाका कारण अर्को वर्षालाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरू सीमाको विषयलाई लिएर आफ्नो सोच परिवर्तन गर्न भनिरहेका छन् ।

हरेकको मेसेज र कमेन्टको रिप्लाई गर्न साध्य नभएको कारणले अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा आफ्नो एक फोटो सार्वजनिक गर्दै, नमस्कार म वर्षा सिवाकोटी, मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनुहोला भन्दै आग्रह गरेकी छन् ।

Loading...