कोशी अस्पतालमा उदाहरणीय ‘टिमवर्क’, संक्रमितको उपचारमा नमूना काम, अस्पतालमा साढे १३ हजार बढीको उपचार

विराटनगर, १२ जेठ । कोशी अस्पताल विराटनगरले लकडाउनको अवधिमा ओपीडीमा १३ हजार ६ सय बढीको उपचार गरेको छ ।

कोरोना संक्रमण देखिएपछि सरकारले आह्वान गरेको लकडाउनको २ महिनामा कोशी अस्पतालले ओपिडीमा मात्र १३ हजार ६ सय १ जनाको उपचार गरेको हो ।

कोरोना महामारी त्रासका कारण अधिकांश अस्पतालहरूले ओपिडी सेवा बन्द गरेका छन् । कोभिड संक्रमितको उपचारका लागि छुट्टै अस्पाताल भएका कारण कोशी अस्पातलाले ओपिडी सेवा निरन्तार सञ्चालन गरिरहेको छ ।

कोशी अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार १० चैतदेखि १० जेठसम्म १३ हजार ६ सय १ जनाले ओपिडीबाट उपचार सेवा लिएका छन् ।

दुई महिनाको अवधीमा ८४७ जनाले प्रसूति सेवा लिएका छन् । जसमा १९५ जनाको सर्जरी गरिएको छ । ५ सय ५१ जनाको नर्मल डेलिभरी भएको छ ।

‘कोभिड अस्पताल छुट्टै स्थानमा सञ्चालन गरेर हामीले ओपीडी सेवा बन्द गरेनौं,’ डाक्टर मिश्रा भन्छिन्, ‘हाम्रो टिमवर्कले गर्दा काम गर्न असहज भएन ।’

दरबन्दीभन्दा आधा कम विषेशज्ञ

कोरोना महामारीका बेला कोशी अस्पतालमा बिरामीको चाप छ । तर अस्पतालमा दरबन्दीअनुसार चिकित्सक छैनन् । अस्पतालमा विषेशज्ञ चिकित्सकको दरबन्दी ५७ छ । तर कार्यरत भने २० जना मात्र छन्र ।

३७ जना विषेशज्ञ नभएपनि सीमित जनशक्तिबाट काम गरिरहेको डाक्टर मिश्राले बताइन् । अस्पतालमा मेडिकल अधिकृत र नर्सिङ अधिकृत दरबन्दीअनुसार नै रहेको डाक्टर मिश्राले बताइन् । अस्पताल विकास समितिकाे दरबन्दी पनि पुरा छ ।

उदारणीय टिमवर्क

कोशी अस्पतालले संक्रमित बिरामीको उपचारका छुट्टै टोली परिचालन गरको छ । अस्पतालमा ओपिडी र दैनिक सेवाका लागि छुट्टै टोली परिचालन गरेको छ ।

संक्रमित थपिँदै गर्दा चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम उच्च मनोबलका साथ काम गरिरहेको छ । ‘ काेशी अस्पतालमा राम्रो ‘टिमवर्क’ छ । डा. मिश्रा भन्छिन्, ‘कोभिड अस्पताल र कोशी अस्पतालको काममा सबैको साथ र सहयाेग पाएका छौँ ।’

कोशी अस्पताले संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको छुट्टा छुट्टै टोली बनाएको छ । एउटा टोलीमा चारजना चिकित्सकसहित २६ जनाको समूह हुन्छ ।

स्वास्थ्यकर्मीकाे टाेलीले १४ दिन काम गरेर १४ दिन क्वारेन्टाइनमा बस्नेछन । केही दिन अघिसम्म डिउटी अवधी सात दिन थियाे । तर संक्रमित बढ्न थालेपछि १४ दिन बनाइएकाे छ ।

क्वारेन्टाइनपछि घर फर्कने टोली आवश्यक परेको अवस्थामा सो टोली पुनः खटिन सक्छ । कोभिड उपचार केन्द्रमा प्रदेश सरकारले जिल्ला अस्पतालका चिकित्सकहरुको पनि टोली खटाएको छ ।

कोभिड उपचार केन्द्रमा छुट्टै टोली खटिएका कारण कोशीको सेवा नियमित गर्न सकिएको डाक्टर मिश्राले बताइन् ।

मन्त्रालयको प्रशंसा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेल कोशी अस्पतालको टिमवर्क राम्रो भएको बताउँछन् । ‘कोशीबाट अरु अस्पतालले धेरै कुरामा सिक्न सक्छन्,’ उनी भन्छन्, ‘यहाँको टिमवर्क राम्रो छ ।’

अन्य जिल्ला र प्रदेशबाट केन्द्रमा बेलाबेला गुनासो आएपछि विराटनगरको टिमवर्क उदारणीय रहेको उनले बताए ।

Loading...