हाम्रो प्रयोगशालाबाट कोरोना भाइरस बाहिरिएको छैन : वुहान ल्याबका प्रमुख

न्यूयोर्क, ११ जेठ । कोरोना महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनले दाबी गरेको थियो ।

तर, सो इन्स्टिच्यूटका निर्देशकले भने ट्रम्प प्रशासनको आरोप “पूर्णतः बनावटी र मनगढन्ते” रहेको दाबी गरेका छन् ।

निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

‘इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?, उनले भनेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मंत्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहेका छन् ।

धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् ।

यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरूको भनाइ छ । पछिल्ला दिनहरूमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ ।

Loading...