बुन्डेसलिगा : डर्टमुण्डको सहज जित

विराटनगर, १० जेठ । जर्मन बुन्डेसलिगामा साविकको उपविजेता बोरुसिया डर्टमुण्डले सहज जित निकालेको छ । शनिबार भएको खेलमा डर्टमुण्डले वोल्सफबर्गमाथि २–० गोलको सहज जित निकालेको हो ।

वोल्फसबर्गको मैदानमा भएको खेलमा डर्टमुण्डलाई जिताउन राफेल गुइएर्रो र अच्राफ हाकिमीले समान एक–एक गोल गरे । खेलको ३२औं मिनेटमा गुइएर्रोले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफभरि अग्रता दिलाएका थिए ।

यस्तै खेलको ७८औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमुण्डको अग्रपता दोब्बर बनाएका थिए । खेलको ८२औं मिनेटमा वोल्फसबर्गका फेलिक्स क्लाउसले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो ।

यससँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको डर्टमुण्डले ५७ अंक बनाएको छ । ऊ शीर्ष स्थानको बायर्न म्युनिखभन्दा एक अंकले पछि परेको छ । डर्टमुण्डभन्दा एक खेल कम खेलको बायर्नसँग ५८ अंक छ । आजै हुने अर्को खेलमा बायर्नले फ्रान्कफर्टसँग खेल्दैछ ।

यता, पराजित वोल्फसबर्ग भने ३९ अंकका साथ छैटौं स्थानमा छ ।

Loading...