Rumpum

Rumpum Advertisement

कोरोना अर्थात् ‘धतुरे’ रोग

कोरोना अर्थात् ‘धतुरे’ रोग
फणिराज नेपाल

विश्वव्यापी महामारीको रूप लिएको कोरोना अर्थात् धतुरे रोगले कतिखेर, कसलाई, कतिलाई गाँज्दै लान्छ, त्यो भगवान नै जानून् ।

अहिले भने मानवीय सन्त्रास बढदै जाँदो छ । तर यसबाट डराएर अत्तालिनु त्यति उपयुक्त होइन । सय वर्ष पहिले र पछि-पछि पनि महामारीका रोग लागेर लाखौं, हजारौं मानिस मरेको उदाहरण छ ।

हैजा, बर्ड फ्लु, स्वाइन फ्लु, सार्स, डेँगु आदिको लहर आएर निकै मानव तथा पशु धन नोक्सान भएको पाइएको छ। 

हालै विश्वव्यापी भएर फैलिएको कोरोना अर्थात् धतुरे रोगको उद्गम चीनमा ३/४ महिनाअघि नै सुरु भएको हो।

त्यो कसरी, कहिले, कुन रूपमा उब्जियो त्यसको नालीबेली नखुले पनि अहिले अमेरिकाले चीनलाई विश्वव्यापी रूपमा महामारी फैलाएर आफू एक्लो नायक हुन सन्त्रास फैलाएकोले महामारीको दोष उसले लिनुपर्ने, त्यसको क्षतिपूर्ति उसले व्यहोर्नु पर्ने आरोप लगाउँदै आएको छ । यसमा चीनले प्रतिवाद गरेको उदाहरण कमै आएको छ।

नेपालमा अंग्रेजी नयाँ वर्षको सुरुआतमा नै पहिलो कोरोनाको घटना देखिएको थियो । यो रोग नयाँ र त्यसबारे खासै खोजविन नभैसकेको अवस्थामा त्यो सेलाएर गयो ।

पछि चीनको वुहानमा महामारीको रूप लिएपछि सबै देशले सतर्क हुनुपर्ने अवस्था आयो । नेपालले भने चैतको पहिलो हप्तादेखि कोरोनाविरुद्ध सतर्क रहन लकडाउन अर्थात् बन्दाबन्दीको अवस्था सुरु भयो।    

सुरुमा यो रोग मानिसबाट मानिसमा सर्छ, सर्दैन भन्ने स्पष्ट थिएन । तर चीनको वुहानमा मानिससँगै स्वास्थ्यकर्मी पनि संक्रमित भएपछि मानिसबाट मानिसबीच संसर्गबाट हुने सरुवा रोग हो भन्ने कुरा जनमानसमा फैलन गयो ।

खुल्ला हाच्छ्युँ गर्दा, हात, खुट्टा बराबर सफा नगर्दा, बराबर सहरबजार वा भीडभाडमा आवतजावत गर्दा मानिसबीच संसर्ग भै यो रोग लाग्ने कुरा आएको छ।

यो महामारी भए पनि मानिस आफूमा सीमित नहुँदा, घर परिवारबाट बाहिर गइरहँदा, सरसफाइमा ध्यान नदिँदा, आफ्नो जीवन ऊर्जा बढाउनेतर्फ ध्यान नदिँदा, मुखमा मुखाडी अर्थात मास्क लगाइकन डुल्दा, खाने कुरा राम्रोसँग पकाएर नखाँदा र मानव इच्छाशक्ति दर्बिलो नहुँदा वा दर्बिलो नपार्दा यो रोग लाग्ने सम्भावना बढी हुन्छ।

एक महिना अगाडिदेखि कोरोना अर्थात धतुरे रोगबारे विराटनगरको एलिट क्लबले दूरसञ्चार प्रविधि प्रयोग गरी घर बसीबसी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिआएको छ।

कमर्यक्रममा कोशी अस्पतालका मे.सु, प्रदेश सामाजिक मन्त्री, गृह मन्त्री र चिकित्सक समूहका संयोजक लगायतसँग अन्तर्क्रिया निरन्तर भइरहेको छ।

छलफलमा आएका कुरामा–यो रोगबाट डराउनु नपर्ने, नआत्तिने, भीडभाडमा नजाने, मुखाडी (मास्क) लगाएर हिँडने, संक्रमित मानिसबाट जोगिने वा दश, पन्ध्र मिनेटभन्दा बढी एक अर्कासँग कुरा नगर्ने र सामाजिक दूरी कायम राख्ने आदितर्फ ध्यान दिँदा आत्तिनु वा डराउनु पर्ने अवस्था नहुने भन्ने कुरा मनन योग्य रह्यो ।

अतः यस्ता खाले महामारी आउँदा मानव सतर्क हुनुका साथै नडराउने, तरकारी, सामल किनेपछि कम्तिमा एक घण्टा तातो पानीमा राखेर प्रयोग गर्ने, कम्तिमा एक मिटरको दूरी कायम गर्ने, मुखाडी अनिवार्य लगाउने, आफ्नो घर तथा चोटा सरसफाइ गर्ने, करेसाबारीमा समय व्यतित गर्ने, घरपरिवारमा रमाएर बस्ने, टी.भी. तथा पुराना किताव तथा पत्रपत्रिका हेरेर ज्ञान लिने, शारीरिक योगाभ्यास गर्ने आदि व्यवहार गरिएमा परिवारलाई सहज हुन्छ र समय कटनी पनि सजिलै हुन्छ।

चीनबाट यो महामारी सुरुआत भए पनि यो रोगबाट युरोप तथा अमेरीकी देशहरू बढी प्रभावित भएका  छन् ।

त्यसको प्रभाव विस्तारै एशियाली देशमा पर्दै गएको छ। दक्षिण एशियामा भारत बढी प्रभावित छ।

जनसंख्या र जनघनत्वको आधारमा हेर्ने हो भने अरु देशको तुलनामा कम छ भन्न सकिए पनि यो महामारी रोग भएकाले ह्वात्तै बढ्न बेर लाग्दैन ।

दक्षिण एशियाका मालद्वीप, भुटान र नेपालमा हालसम्म यो रोगका कारण अति न्यून मात्रै मृत्यु भएको छ। तर अरु देशको व्यवहार र सिकोबाट सजग र सतर्क रहन सरकारले सतर्कता अपनाउने र नागरिक समाजले पनि व्यवहारमा आएका अनुशासन पालना गर्नु पर्नेतर्फ ध्यान दिनु श्रेयष्कर देखिन्छ।

हाम्रा छिमेकी देशबीचको खुल्ला सीमाका कारण कहिले, को, कसरी भित्र-बाहिर गर्छ, सामानको निकासी, पैठारी हुन्छ, ठेगाान छैन र त्यसको अभिलेख नराखिनाले ठूलो समस्या भएको छ।

बिना बारबन्देजको १८०० कि. मि. भन्दा बढी खुल्ला रहेको पूर्व–पश्चिम, तथा दक्षिणतर्फ भारतसँग जोडिएको र उत्तरतर्फ हजार कि.मि.ले छेकिएको, बीचको चेपुवामा  परेको देश हो नेपाल।

रोग सृजना भएको र विस्तार हुने क्रममा रहेको दुई देशबीच हामी भिरचिन्डोको अवस्थामा रहेका छौं । तर उत्तरभन्दा दक्षिणको मानवलगायत सरसमानको आवत-जावतको खुल्ला तथा अनियन्त्रित व्यवहार र मानवीय दबाबले देश अहिले निकै सकसको अवस्थामा छ।

छिमेकी तथा अन्य देशबाट प्राप्त स्वास्थ सामाग्रीको अ‍ैँचोपैँचोले नागरिकको स्वास्थ तथा सुरक्षा थाम्दै आइरहेको छ। तर दक्षिणको खुल्ला तथा अनियन्त्रित आवतजावतले नेपाली जनजीवन संकटमा पर्न सक्ने अवस्थामा छ।

गम्भीर संकटको अवस्थामा दुई देशबीच र नागरिक, नागरिकबीचको साझेदारी नै महत्वको कुरो हो।  रोटी–बेटीको सम्बन्ध भनिए पनि त्योसँगै रोग साटासाट नहुने कुरा भएन ।

मानव, मानवबीच सम्बन्धको सीमा,  दुई छिमेकीबीच पर्खालको सीमा भए जसरी दुई देशबीच बार हुनु जरुरी छ।

दक्षिण एशियाका भारतसँग पाकिस्तान र बंगलादेशबीच काँडे तारको बार लागेको छ। भारत तथा नेपालबीच पनि यो व्यवहार हुनु जरुरी छ। कोरोनाको महामारीबाट सिक्नुपर्ने पाठ वर्तमान मै हो।

हाम्रा घर व्यवहारमा दुई छिमेकीबीचको पर्खालले बालीनालीका साथै सुरक्षाको पनि प्रत्याभूति हुन्छ। ढिलै भए पनि सरकारले खुल्ला सीमाबाट भित्रिन सक्ने रोगको आवत-जावतको अवस्थामा सीमामा सशस्त्र बल राख्न थालेको छ।

सीमामा मानव जाति मात्र नभई सामानको अवैध घुसपैठ, तस्करी, मानव बेचविखन, मुद्रा अपचलन, हत्या, हिंसा आदिबाट पीडित दुई देशका नागरिकका साथै दुबै देशलाई राहत तथा टाउको दुखाई सीमा व्यवस्थापनबाट हटेर जान्छ ।

अन्तमा हामीले बोल्ने तथा व्यवहारमा प्रयोग गर्ने भाषाका बारेमा कुरा राखी लेखको टुँग्याउनी हुन्छ।

हाम्रो देश नेपाल, हामी नेपाली, भाषा हाम्रो नेपाली र देश विदेशमा पनि बढी संख्याले बोल्ने भाषा नेपाली हुँदा पनि हामी अरु भाषा प्रति किन लहसिँदै जाँदैछौं ?

कारण होलान् तर पहिले हामीले आफूलाई नेपाली र हाम्रो लवाई, खुवाई, बोली, व्यवहार, संस्कार नेपाली हुदाँहुँदै पनि किन हामी पश्चिमान्मुख हुँदै जादैछौं ? स्वाभिमान नेपालीले सोच्ने र व्यवहार गर्ने कुरा हो।

भाषा प्रयोग गर्दा प्रथमतः राष्ट्रभाषा नै प्रयोग गर्ने, समस्या भए, राष्ट्रिय भाषा वा स्थानीय भाषाको प्रयोग गर्नु श्रेयकर हुन्छ।

वर्तमान महामारीमा प्रयोग हुने गरेको कोरोनाको ठाउँमा धतुरे रोग प्रयोग गर्दा – धतुरो भाँगमा मिसाएर फगुवामा खाँदा निकै दिनसम्म असर गर्ने हुनाले कोरोनालाई धतुरे रोग भनेर प्रयोग गर्न सकिन्छ।

अहिले देशमा बन्दाबन्दीको अवस्था छ, त्यो लकडाउनलाई बन्दाबन्दी भन्दा राम्रो नै हुन्छ होला । त्यसरी नै आइसोलेसनमा बसेको भन्नुभन्दा एकान्तवासमा रहेको मान्नु उपयुक्त होला।

साथै हामीले पहिलेदेखि वस्तुभाउबाट बाली जोगाउन प्रयोगमा ल्याउँदै गरेको मुखाडी लाउनुको साटो किन मास्क लगाई रहनुपर्‍याे र ?

हामीले सम्भव भए हामीमा उपलब्ध वा सृजित भाषा प्रयोग गर्दा सुरुमा अल्मलिए पनि बोली, व्यवहार गर्दै जाँदा सहज र पाच्य हुँदै जान्छ नि !