कान्टेलाई घरमै प्रशिक्षण गर्न चेल्सीको अनुमति

एजेन्सी, १० जेठ । व्यक्तिगत समस्या रहेको जनाउँदै इंग्लिस क्लब चेल्सीले कान्टेलाई प्रशिक्षणमा सहभागी नहुन अनुमति दिएको छ ।

विश्वकप विजेता खेलाडी कान्टे मंगलबार चेल्सीको अभ्यासमा उपस्थित भएका थिए । कोरोना परीक्षणको नतिजा नेगेटिभ आएसँगै खेलाडीहरुलाई स–सानो समूहमा अभ्यास सुरु गराइएको छ ।

अभ्यासमा सहभागी भएका कान्टे महामारीको समयमा बेलायतमा सुरक्षित रहने विषयमा भने विश्वस्त भएका छैनन् ।

स्थिती अनुकुल नरहेको भन्दै उनले क्लबलाई आफू प्रशिक्षणमा सहभागी हुने नसक्ने बताएका थिए ।

चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड कान्टेको विषयप्रति सकारात्मक रहेका कारण उनलाई प्रशिक्षणमा सहभागी नहुन अनुमति दिइएको छ । उनलाई घरमै प्रशिक्षण गर्न अनुमति दिइएकाे हाे ।

कान्टेका भाइ नियामको मृत्यु दुई वर्षअघि हृदयघातको कारण भएको थियो ।

दुई वर्षअघि अभ्यासका क्रममा सहकर्मीसँग ठोक्किँदा कान्टेमा केही समस्या देखिएको थियो । उनी डराएको, तर्सिएको जस्तो देखिन्थे । यद्यपि, स्वास्थ्य परीक्षणका क्रममा उनमा कुनै किसिमको समस्या भने देखिएको थिएन । उनमा हृदयघात लक्षण पनि नरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए ।

प्रिमियर क्लबहरूका खेलाडीहरूमध्ये प्रशिक्षणमा सहभागी नजनाउने खेलाडी कान्टे मात्र भने होइनन् । महामारीकाबीच अभ्यासमा फर्किन नसक्ने भन्दै यसअघि नै वाटफोर्डका खेलाडी ट्रोय डेनीले यो साता प्रशिक्षणमा सहभागी नहुने जनाइसकेका छन् ।

Loading...