कविता : भेट नै हुन्न होला


स्वर्ण शिखा

कोरोनाको याम शहरमा बास एक्लै छ मेरो
बन्दाबन्दी सकस बीचमा त्रास बेग्लै छ मेरो
बाँच्ने हो या मृत बनिकनै लासकै बन्ने डोला ?
कोरोनाको कहर छ प्रिया भेट नै हुन्न होला ।।

स्वर्गैजस्तो अवनि विषको भैगयो ताल जस्तै
खैलाबैला सबतिर छ यो रोगको काल जस्तै
केले गर्ला असुरसरि यो रोगको शान्त शोला ?
कोरोनाको कहर छ प्रिया भेट नै हुन्न होला ।।

के गर्लान् यी कर पयरले कामको छैन टुंगो
खाँदा खाँदा रसद सकियो मामको छैन टुंगो
के लाने हो लिकन घरमा रित्तियो हेर झोला
कोरोनाको कहर छ प्रिया भेट नै हुन्न होला ।।

साथीसंगी अनुज भगिनी यादमा सम्झनामा
जैले हुन्छन् मनपटलको माझमा बाबुआमा
डाँडाकाँडा हृदयभरि छन् लेकबेंसी र खोला
कोरोनाको कहर छ प्रिया भेट नै हुन्न होला ।।

छोरा छोरी गर जतनले देखभाली पियारी
आफैं गर्नु श्रम कृषकको खेतबाली सिँगारी
मुग्लानी यो जेनतेन गरी श्वास फेर्दैछ चोला
कोरोनाको कहर छ प्रिया भेट नै हुन्न होला ।।

मेरो इच्छा छ बहुत सखे फर्कने जन्म गाऊँ
मै हुर्केको अति प्रिय त्यही भूमिमा मर्न पाऊँ
भन्छन् सारा परिचितहरू देशमै फर्क भोला
कोरोनाको कहर छ प्रिया भेट नै हुन्न होला ।।

Loading...